२४ चैत्र २०८१ आइतबार
image/svg+xml २१:२४ अपराह्न
राजनीति

सुमना र ओलीबिचमा मिसिए गगन: हेपाहा, स्त्रीद्वेषी र घृणाले भरिएको अभिव्यक्ति

केही दिनअघि शिक्षामन्त्री सुमना श्रेष्ठलाई लक्षित गर्दै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिविरुद्ध नेपाली कांग्रेस पनि बोलेको छ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै कांग्रेसका महामन्त्री गगन थापाले त्यसविरुद्ध खरो अभिव्यक्ति दिएका छन्।

‘केही दिनअघि नेपालको एक जना पूर्व प्रधानमन्त्रीले एक जना बहालवाला मन्त्रीका बारेमा तुच्छ टिप्पणी गर्नुभयो,’ महामन्त्री थापाले भने,‘महिला भएका कारणले हेपेर गरिएको हो। त्यो हेपाइ, उहाँले दिएको अभिव्यक्ति स्त्रीद्वेषी पनि थियो । त्यो विभेदपूर्ण थियो। गलत पनि थियो। त्यो घृणाले भरिएको थियो।’ 

अब नेपाली कांग्रेसको एउटा व्यक्तिले त्यो घटनाबारे धारणा बनाएर बोल्न नअलमलिनुपर्ने महामन्त्री थापाले बताए।

उनले भने, ‘एउटा पूर्व प्रधानमन्त्रीले, पार्टीको नेताले, अर्को पार्टीको नेता जो अहिले बहालवाला मन्त्री हुनुहुन्छ। उसको बारेमा मात्र होइन कुनै पनि नागरिकका बारेमा, महिलाका बारेमा गरेको टिप्पणी गलत छ, कांग्रेसको आँखाले म गलत देख्छु भन्न सक्नुपर्छ।’

आफू कुनैपनि खालको विभेद र घृणाको राजनीतिमा विश्वास गर्दैनौं भनेपछि त्यस विरुद्ध बोल्नुपर्ने उनले बताए।

केही दिन अघि एमाले अध्यक्ष ओलीले साधारण कुराकानी गरिरहँदा शिक्षामन्त्री श्रेष्ठलाई लक्षित गरेर बोलेको एउटा भिडिओ बाहिरिएको थियो। जसमा ‘नेपाल घुम्न आएका बेला फ्याट्ट सांसद र मन्त्री बन्न पुगेको’ आवाज सुनिन्छ।

त्यसविरुद्ध अहिले शिक्षामन्त्री श्रेष्ठ आवद्ध रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरू आलोचना गरिरहेका छन्। जसमा महामन्त्री थापा बोलेसँगै कांग्रेस पनि मिसिएको छ।

प्रकाशित: २६ जेष्ठ २०८१ १४:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App