१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

के गृहमन्त्री लामिछानेको जवाफमा कांग्रेसले चित्त नबुझाएकै हो त?

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आइतबार प्रतिनिधि सभामा गरेको सम्बोधनपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस झनै आक्रामक बनेको छ। सहकारी ठगी प्रकरणमा लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै आएको कांग्रेस विभिन्न चरणको छलफल पश्चात प्रतिनिधि सभामा गृहमन्त्रीको सम्बोधन सुन्न तयार भएको थियो।

आइतवार दिनभरीको छलफल पश्चात साझ मात्र गृहमन्त्रीले प्रतिनिधि सभामा सम्बोधन गरेका थिए। सम्बोधनको क्रममा लामिछानेले कांग्रेसलाई आफूमाथि लागेको आरोप पुष्टि गर्न चुनौती दिएका थिए।

लिखित सम्बोधन तयार पारेर रोष्ट्रममा उभिएका गृहमन्त्री लामिछानेले बढीजसो समय प्रतिपक्ष कांग्रेसका नेताहरूप्रति लक्षित गर्दै खर्चेका थिए।

उनले कांग्रेस सभापति शेरबहादुर देउवा, आरजु राणा, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापासहितका नेताहरूलक्षित सार्वजनिक समाचार उल्लेख गर्दै छानबिन समिति बनाउन तयार हुने कि नहुने भन्दै प्रश्न गरेका थिए।

उनले संसद्मा सम्बोधनको क्रममा भनेका थिए, ‘सहकारी ठगी गर्नेलाई मात्र होइन्, कुषी अनुदान हिनामिना गरेर कुखुरा हाँस, खसी, बोका, बाख्रा पाल्नेलाई पनि बाहिर पठाउ। दुई तीन वटा नागरिकता बोक्नेलाई होइन्, नागरिकता एउटै बोकेर देशको गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्टलाई पनि हटाउ। त्यो देशको मन्त्री होस् वा पार्टीको महामन्त्री।

मिडियामा आएर पुग्ने भए सदनमा भएका कतिपय सांसदलाई यौन दुर्व्यवहार, कुषि अनुदानमा दुरुपयोग, आफ्नै सन्तानलाई अर्काको सन्तान बनाएर जापान पठाएको आरोपहरू पनि उनले लगाए।

उनले २०५५ सालमा त्रिचन्द्र क्याम्पसको स्ववियू सभापति भएका बेला गगन थापाले भ्रष्टाचार गरेको पनि उल्लेख गरे।

व्यावसायिक कृषि तथा व्यापार आयोजना प्याक्टबाट सुनखानी एकीकृत कषि केन्द्रको नाममा १५ करोड रुपैयाँ लिएर नुवाकोटमा बाख्रा फार्म र काठमाडौंको गोल्फुटारमा मासु पसल खोलेको, २०६८ सालमा अनुदान लिएको र बन्द गरेको पनि उल्लेख गरे।

त्यस्तै स्वास्थ्य मन्त्री भएका बेला १४ करोड रुपैयाँ लिएर कसैले राजकुमार रौनियारलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कुलपति बनाउन खोजिएको सन्दर्भ पनि उनले उठाए।

लामिछानेले रातो पासपोर्टको कुरा पनि उठाए। सांसदले नै बेचे रातो पासपोर्ट शीर्षकको समाचारमा, रातो पासपोर्टमा सजिलै भिसा लाग्ने भएकाले सभासदको पासपोर्टमा अन्य व्यक्तिको फोटो टाँसेर मानव तस्करी गर्ने गिरोह सक्रिय भएको भन्ने कुरा उनले उल्लेख गरे।

वाइडबडी घोटाला प्रकरणको पनि चर्चा उनले गरे। वाइडबडी घोटाला प्रकरणमा तत्कालीन पर्यटनमन्त्री अर्बौंको घोटालामा मुछिएको कुरा पनि उनले निकाले।

नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेताहरूको अडियो नै बाहिर आएको, छ्याप्छ्याप्ती भएको विषयमा पनि संसदीय छानबिन समितिको विषय बनाउने हो भन्दै उनले प्रश्न गरेका थिए।

उनले कैलालीको टीकापुर क्षेत्र वरपरको झन्डै ३० बिघा सरकारी जग्गा, दलका नेता, आफन्त र कार्यकर्तालाई वितरण गरेको भनेर अख्तियारको प्रतिवेदनलाई उद्धृत गर्दै धेरै समाचार आएको पनि उल्लेख गरेका थिए।

२०७३ सालमा पूर्वसेनापति छत्रमानसिंह गुरूङको छोराको रोलेक्स घडी चोरी भएको प्रसंग पनि लामिछानेले उठाएका थिए।

लामिछानेले उठाएका धेरै प्रकरणहरु कांग्रेस नेताहरुसंग जोडिएका छन्। उनले नेकपा एमाले र माओवादी केन्द्रसंग जोडिएका प्रकरणहरु भने उठाएका छैनन्।

त्यसको जवाफमा कांग्रेस महामन्त्री गगन थापाले आफूमाथि लागेको आरोपमाथि पनि संसदीय छानबिन समिति बनाउन भनेका छन्। उनले गृहमन्त्रीले फाइल खोलौं भनेर धम्काउने नभएर खोल्नका लागि आग्रह गरे।

उनले भने, ‘गृहमन्त्री ज्यू फाइल खोलौं भनेर धम्काउने होइन। तपाइ गृहमन्त्री हुनुहुन्छ। शक्तिशाली हुनुहुन्छ। हयातको फाइल खोल्नुहोस्। बाल मन्दिरको खोल्नुभएको छ। सबै खोल्नुहोस्। नधम्काउनुहोस् । नतर्साउनुहोस् र नअल्मलाउनुहोस्।’

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पनि गृहमन्त्री लामिछानेले कांग्रेस नेताहरूमाथि लगाएको आरोप प्रमाणित गर्न चुनौती दिएका छन्।

सोमवार बसेको संसदीय दलको बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै लेखकले भने, ‘उहाँ (रवि लामिछाने) ले हिजो जसरी नेपाली कांग्रेसलाई लाञ्छित गर्नुभयो, जसरी कांग्रेसका नेताहरूमाथि प्रश्न उठाउनुभएको छ, हामी चुनौतीपूर्वक भन्न चाहन्छौँ– तपाईं छानबिन गर्नुस्, अनुसन्धान गर्नुस् र प्रमाणित गर्नुस्। तपाईंले जुन गम्भरी लाञ्छना गर्नुभएको छ, यदि त्यो भोलिका दिनमा प्रमाणित गर्न सक्नु भएन भने भोलिका दिनमा के हुन्छ, व्यहोर्नुपर्ला।’

रातो पासपोर्टमा मुछिएका कांग्रेसका उपसभापति धनराज गुरुङले गृहमन्त्री रवि लामिछानेलाई अवहेलनामा कारबाही गर्न मागसहित सभामुखसमक्ष निवेदन समेत दिएका छन्।

उनले रातो पासपोर्टमा आफूले अदालतबाट सफाइ पाइसकेको विषयलाई तोडमोड गरी नागरिकमा भ्रम सृजना गरेर आफूलाई अदालतभन्दा माथि राखी अभिव्यक्ति गरेको जिकिर गरेका छन्।

प्रकाशित: ८ जेष्ठ २०८१ ०७:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App