काठमाडौं महानगरपालिकाले तोकेको एक लाख जरिबाना तिर्न सत्ताधारी नेकपा (एमाले) ले अस्वीकार गरेको छ। यससँगै एमाले अध्यक्ष केपी शर्मा ओली र महानगरपालिका प्रमुख बालेन शाहबीचको 'वैमनस्यता' बल्झिएको छ।
बानेश्वरको अल्फाबीटा कम्प्लेक्सको अनधिकृत संरचनामा महानगरले डोजर चलाएपछि सुरु भएको ओली-बालेन वैमनस्यता एक लाख जरिबाना प्रकरणसम्म आइपुग्दा थप अक्करतिर हुत्तिएको छ। अल्फाबीटा कम्प्लेक्सका सञ्चालक द्विराज शर्मा एमालेनिकट हुन्। कम्प्लेक्समा डोजर चलाएपछि बालेनविरुद्ध ओलीनिकट महेश बस्नेत, गोकुल बाँस्कोटालगायतका नेताहरू शृङ्खलाबद्ध रूपमा जाइलागेका थिए।
सत्ताधारी भए पनि गत ७ गते दरबारमार्गमा जागरण सभाको नाममा 'शक्ति प्रदर्शन' गरेको एमालेलाई फोहोरमैला र प्रदूषण गरेको भन्दै महानगरले एक लाख जरिबाना तोकेको थियो, त्यससँगै एमालेलाई खपिनसक्नु भएको थियो। त्यसको पटाक्षेप आइतबार पनि देखियो। जरिबानासँग सम्बन्धित पत्र लिएर एमाले पार्टी कार्यालय च्यासल पुगेको महानगर प्रहरी बलका इन्स्पेक्टर किशोर भट्टराई नेतृत्वको टोली पत्र नबुझाइ फर्कियो। एमालेले जागरण सभाको आयोजक आफू नभएको प्रतिक्रिया दियो।
महानगरले भने एमालेले पत्र नबुझेर फरक नपर्ने प्रतिक्रिया दिएको छ। पत्र नबुझाइ प्रहरी बल फर्किएपछि महानगरका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले नागरिकसँग भने, 'एमालेले पत्र नबुझेर फरक पर्दैन। भित्तामा सूचना टाँस गरेर पनि अगाडि बढ्न सकिन्छ। ऐन, कानूनअनुसार अगाडि बढ्छौँ।'
एमालेले भने महानगरको जरिबाना नतिर्ने जिकिर गर्दै आएको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जरिबानासँग सम्बन्धित विज्ञप्ति/पत्रलाई 'औचित्यहीन चिर्कटो'को संज्ञा दिएका छन्। उनको टिप्पणी छ, 'स्टन्टबाजी गरियो, यस्ता वाहियात चटकको एमालेले सम्बोधन गर्दैन।'
तर, यता महानगरले भने कानूनतसम्मत अगाडि बढ्ने बताइरहेको छ। महानगरले काठमाडौं महानगरपालिको आर्थिक ऐन २०८१ को अनुसूची १५, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ को धारा ५१ र फोहोरमैला व्यवस्थापन ऐन २०६८ अनुसार जरिबाना गरिएको बताएको छ।
काठमाडौं महानगरपालिको वातावरण विभाग प्रमुख सरिता राईले भनिन्, 'प्रावधानअनुरूप अगाडि बढ्छौँ, ऐन र प्रावधानअनुरूप जरिबाना गरिएको हो। खासगरी यही ऐन आकर्षित हुन्छ।'
जे होस्, अहिलेसम्मको अवस्था नियाल्दा एमाले अटेर गरिरहने र महानगर एकपछि अर्को 'एक्सन' लिँदै अगाडि बढ्ने देखिन्छ। यसरी हेर्दा मुख्यतत: एमाले अध्यक्ष ओली र महानगर प्रमुख बालेनबीचको वैमनस्यता फैलिँदै जाने सम्भावना छ।
सधैँको ओली-बालेन 'वार'
बाह्य रूपमा एमाले र महानगर देखिए पनि भित्री रूपमा यो टकराव अध्यक्ष ओली र प्रमुख बालेनबीचकै हो।
पछिल्लो स्थानीय तह निर्वाचनमा लोकप्रिय मतका साथ काठमाडौं महानगरपालिका प्रमुख निर्वाचित बालेनलाई ओलीले निजी निवास बालकोट बोलाएर तबला उपहार दिएका थिए।
त्यसबेला उनीहरूबीच हार्दिक सम्बन्ध थियो। तर, पछि त्यो सम्बन्ध स्थिर रहन सकेन। अल्फाबीटा कम्प्लेक्स प्रकरण, न्यूरोड सडक पेटिका विस्तार प्रकरण, एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्मा प्रकरण, काठमाडौंभित्रका नदीको वारिपारि २० मिटर छाड्ने प्रकरण हुँदै एक लाख जरिबाना प्रकरणसम्म आइपुग्दा त्यो सम्बन्ध तिक्ततापूर्ण बन्यो।
ओली-बालेनबीचको 'द्वन्द्व' सामाजिक सञ्जाल हुँदै सदनसम्मै पुगेको थियो। एमाले सचिवसमेत रहेका सांसद योगेश भट्टराईले त संसद्को शून्य समयमा उभिएर बालेनलाई गैरजिम्मेवार र बचकनामा चलेको भन्ने आरोप नै लगाएका थिए।
त्यसको केही समयपछि बालेनले एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्माको घरमा बसेकी किशोरीको सन्दर्भ कोट्याए। यसकै आडमा पछि बालेन समर्थकहरूले फेसबूकमा 'ओलीलाई अनफलो' अभियान नै चलाएका थिए। यसरी उकालो लागेको ओली-बालेन टकराव यहाँसम्म आइपुग्दा त्यो अझ उकालिएको छ।
ओली-बालेनबीचको टकराव यहीँ टुङ्गिने सम्भावना देखिँदैन। त्यसो त यो टकराव नयाँ होइन। यसको टुङ्ग्याउनी यहीँ हो भनेर भन्न सकिने अवस्था छैन।
'ओली र बालेन दुबै गैरजिम्मेवार'
ओली-बालेनबीचको टकराव जिम्मेवार राजनीतिज्ञले गर्ने काम नभएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।
विश्लेषक श्याम श्रेष्ठ ओली र बालेनबीचको शृङ्खलाबद्ध टकरावलाई 'गैरजिम्मेवार गतिविधि'को संज्ञा दिन्छन्। 'दुबैजना व्यक्तिगत गालीगलौजमा ओर्लिनुहुन्छ। दुबैजना जिम्मेवार देखिनुहुन्छ। अझ बढी जिम्मेवार हुनुपर्ने चाहिँ ओलीजी नै हो। किनभने उहाँ अलि धेरै परिपक्व पनि हुनुभयो, सङ्घीय सरकार प्रमुख पनि हुनुभयो,' विश्लेषक श्रेष्ठ भन्छन्, 'अब बालेनजीको कुरा गर्दा उहाँ पनि स्थानीय सरकार काठमाडौं महानगरपालिकाको त प्रधानमन्त्री नै हो। उहाँहरू दुबैजना गम्भीर बनेर स्वस्थ प्रकारको राजनीति गर्नुपर्छ।'
अर्का विश्लेषक डम्बर खतिवडाको भनाइ पनि मिल्दोजुल्दो नै छ। ओली र बालेन दुबैमा बचकना देखिएको भन्दै उनले भने, 'ओलीको शैली त बुझ्न केही बाँकी नै छैन, उहाँको शैली त्यस्तै हो । बालेनमा पनि प्रशस्तै अपरिपक्वता र बचकना देखिन्छ। दुबै उस्तै देखिनुहुन्छ।'
दुबैमा भएको सनक र बचकनापनले ठाउँ लिइरहेको उल्लेख गर्दै खतिवडाले थपे, 'परिपक्वताको राजनीति छैन। उहाँहरू दुबैजनाबाट त्यो अपेक्षा गरिएको छैन।'
यो पनि पढ्नुहोस्
एमालेले पत्र नबुझेपछि महानगरले भन्यो- सूचना टाँसेर अगाडि बढ्छौँ
प्रकाशित: ९ मंसिर २०८१ २०:१३ आइतबार