८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रेस स्वतन्त्रतामाथि नियन्त्रण हुन दिइने छैन : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको नियन्त्रण वा सङ्कुचन हुन नदिइने बताएका छन्।

नेपाल पत्रकार महासङ्घको २७ औँ महाधिवेशनका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आमसञ्चार माध्यमलाई नियन्त्रण गर्नेभन्दा पनि स्वनियमन बस्नुपर्ने बताए। 

‘प्रेस जगतसँग मेरो आग्रह छ, प्रेस स्वतन्त्रताको रक्षा गरौँ र उपभोगको सहज वातावरण पनि बनाऔँ’, प्रधानमन्त्री दाहालले भने, ‘सँगसँगै मिथ्या सूचनाको बाढीलाई रोक्ने काम पनि गरौँ। असत्य, भ्रामक र मिथ्या सूचनाका कारण नेपाली समाजलाई भ्रमित तुल्याउने, नकारात्मक मानसिकताको विकास गराउने, सामाजिक सद्भाव बिथोल्ने वा नेपाली सभ्यता र संस्कृतिमाथि हमला गर्ने किसिमका सामग्रीहरूको प्रकाशन प्रसारणका लागि स्वनियमन प्रणाली विकास गर्न आमसञ्चार माध्यमहरूलाई मेरो आग्रह छ।’

महासङ्घले प्रेस स्वतन्त्रतालाई प्रमुख सवालका रूपमा लिने गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले राजनीतिक स्वतन्त्रता स्वयं पत्रकारिता क्षेत्रको सहभागितामा समेत प्राप्त भएकाले प्रेस स्वतन्त्रता यसको अनिवार्य पक्ष बन्न पुगेको बताए।

‘कुनै पनि व्यवस्था जन पक्षीय र लोकतान्त्रिक हो वा होइन भनेर मापन गर्ने बलियो आधार त्यो व्यवस्थामा प्रेस स्वतन्त्रता र पत्रकारको अधिकारको सुनिश्चितता छ वा छैन भन्ने पनि हो’, प्रधानमन्त्री दाहालले भने, ‘हिजोको राजतन्त्रात्मक व्यवस्थामा समाचार लेखेकै कारण पत्रकार जेल जानुपर्ने, मारिनुपर्ने, समाचार सामग्री सेन्सर सीप गराउनुपर्ने तथा सञ्चार साधन अवरुद्ध गरिने अवस्था अन्त्य भएको छ।’

नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रतालाई आफ्नो प्रस्तावनामै उल्लेख गरेर संस्थागत गरिसकेकाले प्रेस स्वतन्त्रता सङ्घीय लोकतान्त्रिक गणतन्त्रकै एउटा अङ्ग बनेको बताउँदै प्रधानमन्त्री प्रचण्डले अब कसैले पनि प्रेस स्वतन्त्रता कुण्ठित गर्न नसक्ने स्पष्ट पार्नु पर्ने बताए।

‘हामीले प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्रमुख हिस्सेदार नेपाली पत्रकारिता क्षेत्र पनि हो, जसको संलग्नताविना देशमा यति ठुलो राजनीतिक उपलब्धि प्राप्त गर्न सम्भव थिएन,’ प्रधानमन्त्री दाहालले भने, ‘अब पत्रकारिता क्षेत्रसमेत सहभागी भएर प्राप्त भएका उपलब्धिको रक्षा गर्दै राज्यमाथि निरन्तर खबरदारी र निगरानी गर्ने मिसन बनाउनुपर्छ।’

सुशासन, सामाजिक न्याय र समृद्धिका एजेन्डामा सरकारको जोड रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले वर्तमान सरकार प्रेस जगतसँग हातेमालो गर्दै परिवर्तनका एजेन्डालाई संस्थागत गर्न र देशमा द्रुत आर्थिक वृद्धि हासिल गर्न चाहन्छ भने। 

प्रकाशित: २१ वैशाख २०८१ १२:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App