२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

इलाम र बझाङमा मतदाता नामावली प्रकाशन

निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनलाई लक्षित गरी अन्तिम मतदाता नामावली प्रकाशित गरेको छ। बिहीबार आयोगको बैठकले उपनिर्वाचनका लागि अन्तिम नामावली स्वीकृत गरी वेबसाइटमा प्रकाशन गरिएको जानकारी प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले दिए।

‘उपनिर्वाचनलाई लक्षित गरी आयोगबाट गत फागुन २९ देखि चैत ५ गतेसम्म देशभर सञ्चालन गरिएको मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम, २०८० अनुसार अन्तिम मतदाता नामावली स्वीकृति गरी आयोगको वेबसाइटमा प्रकाशन गरिएको हो,’ उनले भने।

उनका अनुसार पछिल्लो निर्वाचनमा इलाम जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा १ लाख १५ हजार ४६७ र बझाङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा ६१ हजार एक सय १० मतदाता रहेका थिए।

आसन्न उपनिर्वाचनका लागि इलाम जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा ४२२ जना मतदाता थप भई एक लाख १५ हजार ८ सय ८९ मतदाता कायम भएका छन् भने बझाङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा ६ सय ३८ जना थप भई ६१ हजार सात सय ४८ मतदाता कायम भएका छन्।

स्वीकृत मतदाता नामावली बमोजिम देशभरको विवरणअनुसार आगामी वैशाख १४ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिहरूमध्ये महिला मतदाता ८८ लाख ८६ हजार दुई सय २६, पुरुष मतदाता ९२ लाख दुई हजार पाँच सय ६९ र अन्य मतदाता एक सय ८८ गरी कुल एक करोड ८० लाख ८८ हजार नौ ८३ मतदाताको नाम अन्तिम मतदाता नामावलीमा समावेश भएको छ।

सो विवरणअनुसार सबैभन्दा बढी मतदाता मोरङ जिल्लामा महिला मतदाता तीन लाख ६२ हजार नौ सय ७३, पुरुष मतदाता तीन लाख ७६ हजार चार सय ११ र अन्य मतदाता ६ गरी जम्मा सात लाख ३९ हजार तीन ९० र सबैभन्दा कम मतदाता मनाङ जिल्लामा महिला मतदाता तीन लाख पाँच सय ३० र पुरुष मतदाता तीन हजार तीन सय १९ गरी जम्मा ६ हजार आठ सय ४९ मतदाता रहेका छन्।

इलाम क्षेत्र नं.२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङ र बझाङ प्रदेश सभा क्षेत्र नं. १ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएपछि सो स्थान रिक्त भएको थियो। सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री समेत रहेका सिंहको असार ५ गते सडक दुर्घटनामा परी निधन भएको थियो। त्यस्तै संविधान सभाका अध्यक्षसमेत रहेका इलामका नेम्बाङको भदौ २६ गते हृदयाघातका कारण निधन भएको थियो।

आयोगले स्वीकृत गरेको उपनिर्वाचन कार्यतालिका अनुसार गत फागुन १६ गतेदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरी चैत २२ गते अन्तिम नामावली प्रकाशन गरिएको थियो।

आगामी चैत्र २४ गतेदेखि २७ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ।  कार्यतालिकाअनुसार आगामी चैत्र २४ गते उम्मेदवारको मनोनयन दर्ता र चैत्र २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह वितरण गरिनेछ।

आगामी चैत २८ गतेदेखि २०८१ वैशाख १२ गतेसम्म प्रचारप्रसारको अवधि रहनेछ भने वैशाख १५ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ।

आयोगले नेपाल सरकारसँगको परामर्शमा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम इलाम क्षेत्र नं. २ तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम बझाङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा क्षेत्र नं. १ मा आगामी वैशाख १५ गते उपनिर्वाचन गर्ने गरी मिति तोकेको थियो। 

प्रकाशित: २३ चैत्र २०८० १०:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App