१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

गृहमन्त्रीले सहकारीबाट १ करोड लिनुभएको छ, छानबिन हुनुपर्छ: थापा

नेपाली काँग्रेसले गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै उनी माथि तत्काल छानबिन गर्नुपर्ने माग राखेको छ।

कांग्रेसका महामन्त्री गगनकुमार थापाले सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै गृहमन्त्री रवि लामिछानेमाथि छानबिन हुनुपर्ने माग राखेका हुन।

प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद थापाले पोखराको सूर्यदर्शन सहकारीको सदस्य नै नभएपनि गृहमन्त्री रवि लामिछानेले एक करोड रुपैयाँ गैरकानूनी रुपैयाँ लिएको भन्दै यस प्रकरणमा छानबिन हुनुपर्ने माग राखेका हुन। 

उनले ‘लामिछानेले आफूले पैसा लिएको छैन र आफू सहकारीको सदस्य होइन भनेको भरले’ उन्मुक्ति पाए अर्बौँ रुपैयाँ ठग्ने अरू सय जनाले पनि उन्मुक्ति पाउने बताए।

थापाले लामिछाने र सूर्यदर्शन सहकारीलाई अनुसन्धान नगर्ने हो भने अन्य धेरै सहकारीलाई पनि छोड्नुपर्ने हुने भएकाले सबैलाई छानबिन गर्नुपर्ने बताएका हुन। गृहमन्त्रीलाई प्रहरीले अनुसन्धान गर्ने कुरामा उनले आशङ्का व्यक्त गरे। थापाले यो प्रकरणको सम्बन्धमा प्रहरीको जवाफको माग समेत मागेका छन्। 

उनले भने, ‘पोखराको सूर्यदर्शन सहकारी करिब १९ हजार मानिसको १ अर्ब ३५ करोडभन्दा बढी पैसा अपचलनमा परेको छ। पोखरा महानगरपालिकाले अध्ययन ग¥यो। अध्ययनको ८९ पेजको रिपोर्ट निकाल्यो। रिपोर्टले भन्यो सय जना मानिसहरूले नक्कली खाता खोलेर करिब १ अर्ब ३५ करोड रुपैयाँ अपचलन गरेका छन्। त्यो रिपोर्टको ७८ औँ पृष्ठमा के भन्छ भने यसरी नक्कली खाता खोल्ने मानिसहरू मध्येको एउटा नाम हो रवि लामिछाने। माननीय गृहमन्त्री रवि लामिछाने माननीय हुनुहुन्छ। भोलि प्रधानमन्त्री बन्नुहोला। शुभकामना छ, बन्न पनि सक्नुहुन्छ। अलग विषय हो। तर रवि लामिछानेले एक करोड रुपैयाँ लिनुभएको छ। सहकारीको सदस्य हुनुहुन्न। हाम्रो कानुनको दफा ५० ले भन्छ यो गैरकानूनी छ। मैले उहाँको स्पष्टीकरण सुने। ३ मिनेट २० सेकेन्डको थियो। मैले राम्रो सँग सुने, पढेँ पनि। स्पष्टीकरणमा भनिएको छ, कसैले मेरो नाम लग्यो होला मलाई थाहा छैन। सहकारीको सदस्य होइन, कसैले मेरो नाम लग्यो होला। यदि यस्तै मान्ने हो भने सय जना नै मानिसहरूले एक अर्ब रुपैयाँ लगेको प्रकृति ठ्याक्कै यही हो। कसैको धितो छैन। कोही सहकारीको सदस्य होइन। कुनै प्रक्रिया पुर्‍याइएको छैन। एक अर्ब झ्वाम्म। यसरी छोड्दिने हो भने एक जनालाई मात्रै छोडेर हुँदैन अब। सबैलाई छोड्नुपर्छ। एउटा सहकारीको मात्र छोडेर हुँदैन, सबै सहकारीलाई छोड्नुपर्छ। सरकार यही गर्न तयार हो ? मेरो प्रधानमन्त्रीलाई प्रश्न छ ।’

उनले नक्कली भुटानी शरणार्थी प्रकरण, सुन प्रकरण लगायतका देखा परेका सबै प्रकारका भ्रष्टाचारका घटनाहरूको छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।

प्रकाशित: ५ चैत्र २०८० १२:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App