१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

इलाम उपनिर्वाचन: एमालेका ६, कांग्रेसका ४ आकांक्षी

आउँदो वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि राजनीतिक दलहरू उम्मेदवार छनोट गर्दैछन्। केही दलले उम्मेदवार छनोट गरिरहेका छन् भने केही छलफलमै व्यस्त छन्।

नेकपा (एमाले) ले आज आकांक्षीमध्येबाट तीनजनाको नाम केन्द्रीय कमिटीमा सिफारिस गर्दै छ। दिउँसो बस्ने जिल्ला सचिवालय बैठकले आकांक्षी ६ जनामध्ये तीनजनाको नाम छनोट गर्ने पार्टीका सचिव उमेश गुरुङले जानकारी दिए। उनका अनुसार एमालेको अन्तरपार्टी निर्देशन (अपानि) ले चैत ५ सम्ममा जिल्लाबाट उम्मेदवार सिफारिस गर्नुपर्ने उल्लेख छ।  

एमालेको उम्मेदवार बन्न उपसचिव रवीन्द्र सुवेदी, २ नम्बर क्षेत्रीय संयोजक बुद्धिप्रसाद खनाल, सुहाङ नेम्बाङ, नरेन्द्रनाथ भट्टराई, डा.देवी क्षेत्री दुलाल र रिपल राई गरी ६ जनाले आकांक्षा देखाएका छन्। उनीहरूमध्ये एक महिलासहित तीनजनाको नाम आइतबार सचिवालयले निधो गर्ने छ। ‘सचिवालयले नाम टुंग्याएपछि सम्भवतः पदाधिकारी बैठक बस्दैन, भोलि केन्द्रमा सिफारिस गर्छ,’ सचिव गुरुङले भने, ‘निर्वाचनबारे उम्मेदवार टुंगो लगाउने र अन्य दलसँग कार्यगत एकतालगायतको जिम्मा पार्टी कार्यालयलाई दिइएको छ।’

एमालेले यसअघि जिल्ला उपाध्यक्ष उदयबहादुर राई सयोजकत्वको कार्यदल गठन गरेको थियो। कार्यदलले उम्मेदवारका आकांक्षीको नाम दर्ता गरेको थियो। कार्यदलको चैत ३ मा बसेको बैठकले ६ जनाकै नाम सचिवालयमा पेस गर्ने निर्णय गरेको छ। कार्यदलको बैठकमा आकांक्षीबीच छलफल र सहमतिको प्रयास गर्दा सहमति हुन नसकेपछि सबैको नामसहितको प्रतिवेदन सचिवालयमा पेस गर्ने कार्यदलको निर्णय भएको सचिव गुरुङले जानकारी दिए।

‘कार्यदलको प्रतिवेदनमा उम्मेदवारका आकांक्षीबीच सहमतिको अधिकतम् प्रयास गर्दा सफल भएन,’ उनले भने, ‘उनीहरूको भावना, आकांक्षी हुनुको कारण र उनीहरूले व्यक्त गरेका तर्कसहितको प्रतिवेदन सचिवालयमा जस्ताको तस्तै पेस हुन्छ, त्यसमाथि छलफल गरी सचिवालयले उचित निर्णय लिन्छ।’ पार्टी केन्द्रले चैत १५ भित्रमा उम्मेदवार टुंगो लगाउने सम्भावना रहेको एमालेले जनाएको छ।

एमालेले उम्मेदवार छनोटप्रक्रिया पारदर्शी, विधि, पद्धति र प्रक्रियासम्मत् अघि बढाएको उनले बताए। ‘एमालेले उम्मेदवारी दिन इच्छुक नेताहरूका लागि कार्यदल नै गठन गरी निवेदन लिएर सहमतिको प्रयास गर्दै सकेसम्म सहमतिमै छान्ने प्रयास गरेको छ,’ उनले भने, ‘इच्छुकबीच सहमति भए पनि, नभएपनि छनोटप्रक्रिया विधिसम्मत् हुन्छ, उम्मेदवारका रूपमा केन्द्रबाट जसको नाम छानिएर आए पनि पार्टीभित्रको एकता कायम रहने वातावरण छ।’

एमालेले निर्वाचनका लागि वडा तहसम्म मत सर्वेक्षण गरिरहेको छ। उम्मेदवारका आकांक्षी पार्टीको पक्षमा भोट माग्दै गाउँ–गाउँ पुुगिसकेका छन्। ‘पार्टीले अहिलेमात्र होइन, केही महिनादेखि नै वडा–वडासम्म निर्वाचनको तयारी गरिरहेको थियो, अहिले पनि जारी छ,’ सचिव गुरुङले भने, ‘अबको उपनिर्वाचनमा पनि इलाम क्षेत्र २ मा एमाले नै विजयी हुन्छ । सामान्य चुनौती हल हुँदै गएका छन्, पार्टीको पक्षमा जनमत बनिसकेको छ।’

केन्द्रमा सत्ता समीकरण फेरिएर एमाले, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समेतको गठबन्धन बनेपछि इलाम क्षेत्र २ को उपनिर्वाचन प्रत्यक्ष प्रभावित हुने देखिएको छ।

यस्तै, यो उपनिर्वाचनमा एमाले एक्लै प्रतिस्पर्धामा जाने कि गठबन्धनकै साझा उम्मेदवार बनाउने भन्ने टुंगो लागिसकेको छैन। तर, सत्ता गठबन्धनले यो निर्वाचनलाई प्रभाव पार्ने देखिएको एमालेका एक नेता बताउँछन्।

‘सत्ता गठबन्धनमा भएका दल सबैले अन्तिममा साझा उम्मेदवार बनाउने सम्भावना नै धेरै छ,’ ती नेताले भने, ‘त्यसो भयो र केन्द्रमा बेग्लै सहमति बन्यो भने अहिले चर्चामा नरहेका व्यक्तिसमेत उम्मेदवार बन्ने सम्भावना पनि रहन्छ।’

गत वर्ष फागुन १७ मा कोशी प्रदेशको नामकरण गरिएपछि त्यसयता असन्तुष्ट पहिचानवादी समूहले विशेषगरी एमालेमाथि ‘टार्गेट’ गरी विरोध आन्दोलन चलाएका थिए। त्यति मात्र होइन, ०७९ सालको निर्वाचनमा यो क्षेत्रमा संविधानसभा अध्यक्षसमेत भइसकेका सुवासचन्द्र नेम्बाङ झिनो मतान्तरले मात्र विजयी बनेपछि एमाले झस्किएको थियो।

यहाँको उपनिर्वाचनमा नेपाली कांग्रेसले कसलाई उम्मेदवार बनाउला भन्ने पनि धेरैको चासो छ। जिल्ला सभापति डम्बरबहादुर खड्का, नेता भेषराज आचार्य, केशव थापा, नगेन्द्र कुमाललगायतको नाम उम्मेदवारको चर्चामा छ। सभापति खड्का पार्टीले केही दिनमा उम्मेदवार टुंगो लगाउने बताउँछन्।

‘हामीले यसअघिको निर्वाचनमा जुन उम्मेदवारको नाम सिफारिस गरेका थियौं, सम्भवतः त्योभन्दा फरक पर्दैन,’ उनले भने, ‘कांग्रेस केही महिनादेखि नै चुनावी तयारीमा छ, जित्ने लक्ष्यसहित अघि बढेको छ।’ विगत निर्वाचनको परिणाम, गठबन्धन र पराजित उम्मेदवारबाट भएको चुनावी समीक्षाले आउँदो उपनिर्वाचन इलाम कांग्रेसका लागि कस्तो रहला भन्नेमा स्थानीयबीच चासो देखिएको हो।

प्रकाशित: ४ चैत्र २०८० १०:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App