७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

म अध्यक्ष निर्वाचित भए पार्टीको ह्याङओभर हुँदैन: नारायण दाहाल

सत्तारुढ गठबन्धनका राष्ट्रिय सभा अध्यक्ष उम्मेदवार नारायणप्रसाद दाहालले आफू निर्वाचित भए पार्टीको ह्याङओभर भन्दा माथि उठेर सभा सञ्चालन गर्ने बताएका छन्।

सोमवार राष्ट्रिय सभा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उम्मेदवार दाहालले आफू निर्वाचित भए पार्टीको ह्याङओभरमा नहुने बताएका हुन्।

उनले आफू राष्ट्रपतिबाट मनोनित सदस्य भएकाले सभामा पनि आफू पार्टीगत रुपमा नरहेको उल्लेख गर्दै कानून अनुरुप चल्नुपर्ने कुरामा मानसिक रुपमा तयार भएको बताए। राष्ट्रिय सभालाई संविधानमा उल्लेख गरिए अनुरुपको स्तरमा पुर्‍याउन आफ्नो भुमिका हुने उनको भनाइ छ। उनले समृद्ध नेपाल निर्माणका लागि सबै राजनीतिक दलहरुलाई एकतावद्ध बनाएर लैजाने पनि बताए। दाहालले तत्काल बनाउनुपर्ने कानूनहरुमा ध्यान दिइने बताए।  

उनले भने, ‘कतिपय अपूरा कामहरु छन्, त्यसलाई पूरा गर्ने कुरा। विशेषगरी अहिले तत्काललाई केही विधेयकहरु पास गर्नु छ। कानूनहरु बनाउनु छ। त्यस विषयमा गम्भिरताका साथ छलफल पनि भइराखेकै छ। पहिले त्यता ध्यान दिनेकुरा भइहाल्छ। राष्ट्रिय सभाप्रति अहिले बुझाइ जुन ढंगको छ नि, संविधानमा लेखेको विषय र राष्ट्रिय सभालाई बुझ्ने कुरामा जुनखालको अन्तरजस्तो देखिएको छ, त्यसकारण राष्ट्रिय सभालाई संविधानत्: जे उल्लेख गरिएको छ। जुन मान्यताका साथ राख्न कोशिस गरिएको छ, त्यो स्तरमा राष्ट्रिय सभामा पुर्‍याउनुपर्छ भन्ने मलाई लागिराखेको छ। तस्रो कुरा, समृद्ध नेपाल निर्माणको कुरा आइराखेको छ। त्यसको निम्ति चाहिने राजनीतिक सवाल हुनसक्छन्। त्यसमा सबै राजनीतिक दलहरुसँग मिलेरै एकतावद्ध भएर, राजनीतिक दललाई साथमा लिएर जाने कुरा हुन्छ। म राष्ट्रिय सभामा मनोनीतबाट आएको हो। म कुनै पार्टीबाट आएको होइन, कानूनी रुपमा त्यो छ। यो दुई वर्षमा म बस्दाखेरी पनि अलग्गै बसेँ। पार्टीको बिचमा म बसेको छैन नि। त्यसकारण मलाई अभ्यास भइराखेको छ। पार्टीभन्दा फरक ढंगले नै यहाँ उपस्थित हुँदा। पार्टीको त्यहाँ कुनै छाँया आउनुभएन र हाम्रा कुनै अभिव्यक्तिहरु, हाम्रा काम कारबाहीहरु र हाम्रा व्यवहारहरु हिजो पार्टीमा हुँदाभन्दा फरक भइहाल्छ। कानूनी रुपमा चल्नुपर्छ भन्ने म मानसिक रुपमा तयार छु। त्यसकारण पार्टीको ह्याङओभर हुन्छ भन्ने मलाई लाग्दैन।’

प्रकाशित: २८ फाल्गुन २०८० १२:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App