१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

सत्ता समीकरण परिवर्तनसँगै प्रि-बजेट छलफल प्रभावित

फाइल तस्वीर

प्रतिनिधिसभामा आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (प्रि–बजेट) माथिको छलफल प्रभावित भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान गठबन्धन भत्किएपछि प्रि–बजेट छलफल प्रभावित भएको हो। नयाँ गठबन्धन निर्माण भई नयाँ मन्त्रीमण्डल बन्ने खबर प्राप्त भएपछि सोमबार बोलाइएको प्रतिनिधिसभाको बैठक २४ गतेसम्म स्थगित भएको थियो। सोमबार अपराह्न नयाँ गठबन्धनका तीन मन्त्रीले शपथ ग्रहण गरिसकेका छन्।

निवर्तमान अर्थमन्त्री डा. प्रकाशरण महतले सदनमा प्रस्तुत गरेको बजेटका प्राथमिकता र सिद्धान्तका विषयमा सोमबारबाट छलफल प्रारम्भ गर्ने कार्यसूची थियो। संसद्को तालिका बमोजिम सोमबार, मंगलबार, बुधबार र फागुन मसान्त अर्थात् ३० गतेका दिन बजेटका सिद्धान्त र प्राथमिकताबारे संसद्मा छलफल गर्ने कार्यक्रम तय भएको थियो।

प्रमुख प्रतिपक्षी दल एमाले सत्तामा र सत्तामा रहेको कांग्रेस नै प्रमुख प्रतिपक्षी दल बन्ने भएपछि कांग्रेसका अर्थमन्त्री डा.महतले पेश गरेको बजेटका सिद्धान्त र प्राथमिकतालाई कसरी लैजाने अब अन्योल रहेको संसद् सचिवालयका अधिकारी बताउँछन्।

‘यस्तो अवस्थामा राजनीतिक सहमतिकै आवश्यकता पर्दछ, यसबारे नियममा केही व्यवस्था छैन,’ ती अधिकारीले भने।

बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफल गर्दा अर्थमन्त्री सदनमा उपस्थित हुनपर्ने नियम छ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजेट बोलाइएको थियो। सभामुख र सांसदहरू सदनमा पुगेका थिए। बैठक स्थगित भएपछि सबैको ध्यान बालुवाटार तर्फ केन्द्रीत भएको थियो।

बैठकमा सर्वप्रथम प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा प्रतिपक्षीले उठाएका विषयमा जवाफ दिने कार्यक्रम थियो। उनले जवाफ दिएपछि बजेटका प्राथमिकता र सिद्धान्तमा छलफल हुने कार्यक्रम थियो।

यसैगरी, राष्ट्रियसभामा गत १७ गतेदेखि बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफल भएको थियो। राष्ट्रियसभाको सोमबारको बैठक दिउँसो सवा १ बजे बोलाइएको थियो। राष्ट्रियसभामा भने सोमबारको कार्यसूचीमा प्रधानमन्त्रीले लोकसेवा आयोगको वार्षिक प्रतिवेदन २०७९÷८० पेस गर्ने कार्यक्रम थियो। राष्ट्रियसभाको बैठक पनि २४ गते सवा १ बजे बस्नेगरी स्थगित गरिएको छ।  

प्रकाशित: २२ फाल्गुन २०८० ११:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App