१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

आज नयाँ उथलपुथल भएको दिन: प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले आजको दिनलाई विशेष दिनका रुपमा रहेको टिप्पणी गरेका छन्। उनले आजको दिनलाई नयाँ उथलपुथल भएको दिनका रुपमा व्याख्या गरे।

सोमबार सहिद प्रतिष्ठान नेपालले आयोजना गरेको शान्ति प्रक्रिया, गणतन्त्र र आजको राजनीति विषयक अन्तरक्रियामा बोल्दै प्रधानमन्त्री दाहालले भने ‘आज नयाँ उथलपुथल भएको दिन पनि बन्यो। यो ठूलो कुरा हो। क्रान्तिकारी एक हुने अवस्था छ र बृहत्तर कम्युनिस्ट एकताको पहल पनि भइरहेको छ।’

उनले आफू नमरुन्जेलसम्म मुलुकमा उथलपुथल ल्याईरहने जिकिर समेत गरे। माओवादी बग्दो नदी भएकाले उसले हरेक समयमा उथलपुथल ल्याउने काम गरिरहने प्रधानमन्त्री दाहालको भनाइ थियो।

उनले आफूहरुलाई घेरा हालेर सिध्याउने कोसिस भएपनि त्यसलाई तोड्दै आएको उल्लेख गरे। उनले आफ्नै नेतृत्वमा जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गरेको र बाँकी रहेकालाई समेत छिट्टै घोषणा गरिने प्रतिबद्धता व्यक्त गरे।

शान्ति प्रक्रियाको कामलाई टुङ्गो लगाएर सहिद तथा बेपत्ता परिवारलाई परिपूरण, रोजगारीलगायतका विषयलाई सम्बोधन गरिने प्रधानमन्त्रीको भनाइ छ।

प्रधानमन्त्रीले माओवादी नेतृत्वको सरकारले जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गरेको र जनयुद्ध दिवसमा राष्ट्रिय बिदा दिएको विषयलाई खुलेर प्रशंसा गर्न कन्जुस्याइँ गरेकामा पूर्वमाओवादी घटकप्रति असन्तुष्टि जनाए।

‘ठूला कुरा गर्नुभन्दा हामी क्रान्तिकारीहरु एक ठाउँमा उभिने बाटो खोजौँ त्यसमा नै हामी सबैको भलाइ छ’, प्रधानमन्त्रीले भने।

प्रकाशित: २१ फाल्गुन २०८० १५:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App