४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

माओवादीलाई रघुजी पन्तको प्रश्न: तपाईहरुको शरीरमा रगत बगेको छ कि पानी ?

नेकपा (एमाले) का सांसद रघुजी पन्तले छिमेकी देश भारतको एक सञ्चारमाध्यममा प्रकाशित लेखले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतको उपयुक्त पात्रको रुपमा उल्लेख गरिएको भन्दै सरकारसँग जवाफ माग गरेका छन्।  

‘द पायोनियर’ भन्ने भारतीय न्युज पोर्टलमा भारतीय सेनाको रिटायर्ड मेजर जनरल अशोक मेहताले २७ फेब्रुअरी २०२४ मा ‘इन्डिया इज अन द राइट ट्रयाक इन नेपाल’ शिर्षकको लेख लेख्दै प्रधानमन्त्री दाहाललाई भारतको उपयुक्त पात्रको रुपमा चित्रित गरिएको बताए। 

उनले लेखमा दाहाल भारत चढ्नका लागि उपयुक्त पात्र भएको उल्लेख गरिएको र पूर्व प्रधामन्त्री शेरबहादुर देउवालाई पनि भविष्यमा चढ्नका लागि उपयुक्त घोडा भनिएको भन्दै यस सन्दर्भमा परराष्ट्र मन्त्रालयले जवाफ दिनुपर्ने बताए। काँग्रेसले समेत सभापतिलाई त्यसो भनिदा चुइँक्क बोल्न नसकेको भन्दै काँग्रेस कुन कुनामा मुर्छा परेर बसेको छ? भनि प्रश्न गरे।

उनले भने, ‘त्यो लेखको अन्त्यमा के भनिएको छ भने, भारत अहिले नेपालमा राइट ट्रयाकमा छ। अहिलेको गठबन्धन ठिक छ। त्यसले चीनसँग भएको सम्झौतहरु रोकेर राखेको छ। भारतको लागि राम्रो गरेको छ भन्दै भन्दै लास्टमा के भन्छ भन्दाखेरी प्रचण्ड त्यस्तो पात्र हुन्। जो भारतलाई अहिले चढ्नका लागि उपयुक्त छन्। र तबेलामा राखिएका शेरबहादुर देउवा अर्को घोडा हुन्। जो भविष्यमा चढ्नका लागि उपयुक्त छ। अर्थ त्यही हो। यस्तो लेखिदाँ पनि, तर नेपालमा भइरहेका प्रधानमन्त्रीलाई एउटा विदेशीले घोडा भनेर लेख्दा हाम्रो स्वाभिमान कहाँ गयो? यो अपमानजनक लेख, टिप्पणीप्रति परराष्ट्र मन्त्रालयले आफ्नो प्रतिक्रिया जारी गर्नुपर्दैन? परराष्ट्र मन्त्रालय त बोलेन बोलेन, नेपाली कांग्रेस पनि कुन कुनामा मुर्छा परेर बसेको छ चुइँक्क बोल्दैन। आफ्नो सभापतिलाई यति लेखिरहँदा पार्टीको तर्फबाट खण्डन गर्नुपर्दैन? यसप्रति आपत्ति जनाउनु पर्दैन? हिजो कुनै कालखण्डमा भारतसँग लड्न भनेर सुरुङ खन्ने माओवादी कमरेडहरु तपाईहरुको पार्टीको अध्यक्ष भइरहेका प्रधानमन्त्रीलाई दिल्लीको घोडा भनेर एउटा इन्डियनले लेख्दा चुइक्क बोल्न सक्नुहुन्न? कुन सुरुङमा लुकेर बस्नुभएको छ? तपाईहरुको स्वाभिमान कहाँ गयो? तपाईहरुको शरिरमा नेपालीको तातो स्वाभिमानी रगत बगेको छ कि? पानी बगेको छ? दिनुस् जवाफ।’

प्रकाशित: १८ फाल्गुन २०८० १३:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App