१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

गठबन्धन सरकार जतिबेला पनि ढल्न सक्छ : ओली

इनरुवामा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली। तस्बिर : नागरिक

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले सरकारलाई खरानीको डल्लोको संज्ञा दिँदै जति बेला पनि ढल्न सक्ने बताएका छन्। उनले पानीले फुट्ने र सुख्खा हुँदा पनि फुट्ने भएकाले यो सरकार जति बेला पनि ढल्न सक्ने दाबी गरे।

‘सरकार ढाल्न एमालेले कुनै कसरत गर्दैन, तर आफैं जतिबेला पनि ढल्नेछ,’ सुनसरीको इनरुवामा बुधबार अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘सरकार ढलेमा कुनै पनि दलसँग मिलेर सरकार बनाउने कुरा भएमा त्यसमा अन्यथा हुँदैन।’

उनले एमाले अहिले ‘मिसन ८४’ मा केन्द्रित भएर गठबन्धन सरकार फेर्न खेलमा नरहेको प्रस्ट्याए। ‘एमालेले एकल बहुमत नल्याएसम्म देशको विकास नहुने बुझेको छ,’ उनले भने, ‘त्यही अभियानका साथ पार्टी लागेको छ।’

ओलीले एमालेको एकल बहुमतको सरकार नबने देशको राष्ट्रियता कमजोर हुने बताए। ‘एमालेको एकल बहुमतको सरकार नबने देशको राष्ट्रियता कमजोर हुन्छ, देशको स्वाधीनता अर्थहीन भएर गइरहेको छ, त्यो झन् कमजोर हुन्छ,’ उनले भने।

नेता ओलीले अहिले जनता निरास भएको बताए। ‘अहिलेको सरकारले लोकतन्त्रको अनुभूति हुने गरी काम नगर्दा जनतामा निराशा छाएको छ,’ उनले भने, ‘देश विकासका लागि सरकारमा इमान्दारी र सुशासनको पक्षमा काम गर्ने इच्छा शक्ति नै छैन।’

यसैबीच, नौ करोड ४६ लाख रूपैयाँ खर्चेर निर्माण गरिएको इटहरी– ४ मा सञ्चालित कचना बुढीगंगा महादेव माध्यमिक विद्यालय भवनको पनि एमाले अध्यक्ष ओलीले उद्घाटन गरेका छन्। तीन तले सुविधासम्पन्न भवनको उद्घाटनका क्रममा ओलीले भौतिक पूर्वाधार राम्रो भएर मात्र शैक्षिक गुणस्तरीय नराम्रो नहुने हुँदा क्षमतावान कुशल शिक्षक हुनुपर्ने बताए।

‘क्षमतावान कुशल शिक्षकले ज्ञान प्रवाह गर्ने कला पनि उत्कृष्ट हुनुपर्छ,’ उनले भने, ‘अहिलेको समयमा काम गरिखाने शिक्षा हुनु आवश्यक छ। जबसम्म गुणस्तरीय शिक्षा हुँदैन, तबसम्म देशको विकासले फड्को नमार्ने बताए।

‘आज विश्वका स–साना देशले विकासमा छोटो अवधिमै फड्को मारिसकेका छन्,’ उनले भने, ‘हाम्रो देश नेपाललाई समुन्नत बनाउने ठूलो सम्भावना भए पनि शिक्षाको क्षेत्रमा नयाँ ढंगले बढ्न नसक्दा पछि परे पनि एमाले शिक्षालाई नयाँ ढंगले अघि बढाउन लागिपर्ने छ।’

प्रकाशित: १७ फाल्गुन २०८० ०८:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App