१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

मन्त्री र सचिव विवादले ३३ सहसचिव ‘बरन्डा’मा!

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी शाह र सचिव विनोदप्रकाश सिंहबीचको विवादले एक महिनादेखि माथिल्लो तहका कर्मचारीको सरुवा ठप्प भएको छ।

मन्त्री र सचिवबीचको विवादले सरुवा नहुँदा ३३ जना सहसचिव तथा १० जना उपसचिवहरू अहिले मन्त्रालयको ‘बरन्डा’मा थन्किएका छन्। उनीहरू यतिबेला अतिरिक्तमा राखिएका छन्।

मन्त्रालयका एक कर्मचारीका अनुसार कर्मचारी प्रशासन महाशाखाले एक महिनाअघि नै सहसचिव तथा उपसचिवको सरुवा सूची तयार गरेको हो। सहसचिवको सरुवा सूची मुख्यसचिव मुख्यसचिव बैकुण्ठ अर्यालको टेबुलमा थन्किएको छ भने उपसचिवको सरुवाको सूची मन्त्रालयका प्रवक्तासमेत रहेका वरिष्ठ सहसचिव कमल भट्टराईको टेबलमा थन्किएको छ।

मन्त्रालय स्रोतका अनुसार पछिल्लो एक/डेढ महिनादेखि मन्त्री र सचिव सिंहबीच खटपट सुरु भएको छ। कर्मचारीको सरुवा सूची बनाउँदा एकले अर्कोलाई अवरोध गर्ने गरेको आरोप दुवै पक्षले लगाएको छ।

‘मन्त्रीज्यूले प्रधानमन्त्रीज्यूलाई भेटेरै सामान्य प्रशासन मन्त्रालयका सचिव फेर्नुहोस्। हामीलाई काम गर्न अप्ठ्यारो पर्‍यो भन्नुभएको छ,’ मन्त्रीको सचिवलयमा कार्यरत एक कर्मचारीले भने, ‘मन्त्रीज्यूले आफ्नो समस्या मुख्यसचिवज्यूलाई पनि भनिसक्नु भएको छ। तर प्रधानमन्त्री र मुख्य सचिवले यस विषयलाई गम्भीर रूपमा हेरेको देखिएन।’

ती कर्मचारीका अनुसार अनिता देवी सामान्य प्रशासनमन्त्रीमा नियुक्त भए लगत्तै प्रधानमन्त्रीले दुई महिनापछि नै सचिवको सरुवा गर्ने आश्वासन दिएका थिए। ‘प्रधानमन्त्रीज्यूले मन्त्रीज्यूलाई दुई महिनामै सचिवको सरुवा गर्छु भन्नुभएको थियो। तर अहिलेसम्म सरुवा गर्नु भएको छैन,’ ती कर्मचारीले भने,  मन्त्री र सचिवको विवादमा मुख्यसचिवले सचिवलाई साथ दिएको उनको भनाइ छ।

गत साउनको पहिलो साता अनिता देवी संघीय मामिलामन्त्री नियुक्त भएकी थिइन्। त्यसको केही दिनमै सिंह संघीय मामिला मन्त्रालयमा सरुवा भएका थिए। सचिवनिकट एक कर्मचारी भन्छन्, ‘कर्मचारी सरुवा गर्दा त्यसमा पनि प्रमुख प्रशासकीय अधिकृत सरुवा गर्दा सामान्य प्रशासन मन्त्रीले परम्परा र नियम विपरित सरुवा गर्न खोज्नु हुन्छ। यसलाई सचिव ज्युले रोक्ने प्रयास गर्नुहुन्छ। जुन कुरा मन्त्री ज्युलाई मन पर्दैन। समस्या यहीँबाट सुरु भएको हो।’

मन्त्रालयका सचिव सिंह यतिबेला घर विदामा बसेका छन्। यही मौकामा निमित्त सचिवको जिम्मा पाएका कमल भट्टराईले तीन दिनअघि १० जना उपसचिवको सरुवा गर्न प्रक्रिया अघि बढाएका थिए। सरुवा प्रक्रिया अघि बढाउन सामान्य प्रशासन मन्त्रीले नै भट्टराईलाई अह्राएकी थिइन्।

यो कुरा थाहा पाएपछि बिदामै बसेका सिंहले भट्टराईलाई फोन गरेर कर्मचारीहरूको सरुवा प्रक्रिया रोक्न अह्राएका थिए। ‘सरुवाको सूची अघि बढाउन खोज्दा सचिवज्यूले ‘तपाईले कुन नियमबाट म नभएको बेला उपसचिवको सरुवा गर्न खोज्नुभएको छ?’ भनी निमित्त सचिवलाई हप्काउनुभएछ। त्यसपछि निमित्त सचिवज्यूले उपसचिवको सरुवा सूची आफ्नो टेबुलमा राख्नुभयो भन्ने मैले सुनेको छु,’ मन्त्रीको सचिवालयमा कार्यरत अर्का एक कर्मचारीले भने। ती कर्मचारीका अनुसार त्यसअघि भट्टराईभन्दा कनिष्ठ सहसचिव सुमन दाहालले दुईजना उपसचिवको काज सरुवा गरीसकेका थिए।

सरुवाको विषयमा भने सचिवले केही बोलेनन्। ‘कनिष्ठले गरेको सरुवालाई सचिवज्यूले मान्नुभयो। तर, त्योभन्दा वरिष्ठले गरेको सरुवा सचिवज्यूलाई चित्त बुझेन,’ ती कर्मचारीले भने, ‘सचिवज्यूको कारण पछिल्लो दुई/तीन हप्तादेखि मन्त्रालयको सबै काम ठप्प भएको छ। केही गतिवधि हुन सकेको छैन।’

संघीय मामिला मन्त्रालयमा मन्त्री र सचिववीच विवाद भएको यो पहिलोपटक भने होइन। तत्कालिन सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र सचिव कृष्णहरि पुष्करबीचको विवाद उत्कर्षमा पुगेको थियो। विवाद बढ्दै गए पछि मन्त्री मोदीले सचिव पुष्करको हाजिरी कपीमै रातो घेरा लगाइदिएका थिए।

विवादकै बेला मोदीले सामान्य प्रशासन मन्त्रालयबाट राजीनामा गरेका थिए र अनिता देवी सामान्यमा पुगेकी थिइन्। तर, देवी सामान्य प्रशासन मन्त्रीमा नियुक्त हुनबित्तिकै प्रधानमन्त्रीले सचिवको सरुवा गरी सिंहलाई सामान्यमा लगेका थिए ।

प्रकाशित: १४ फाल्गुन २०८० ०९:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App