१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

गृह र श्रममन्त्रीचाहिँ कसरी निर्दोष ?

बालकुमारी घटना छानबिन आयोगले बुझाएको प्रतिवेदन पूर्वाग्रही भएको पाइएको छ। प्रतिवेदनमा भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वाला मात्र बालकुमारी घटनाको कारक भएको भनेर पूर्वाग्रही प्रतिवेदन तयार पारेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) को बुझाइ छ।

ज्वाला नेकपा एसका उपमहासचिव पनि हुन्। नेकपा एससम्बद्ध स्रोतका अनुसार बालकुमारी घटना हुनुमा गृह मन्त्रालय र श्रम मन्त्रालयका अधिकारी पनि जिम्मेवार छन्।

कोरियन भाषा परीक्षा (इपिएस) मा सहभागी हुन नदिइएको विरोधमा आन्दोलित युवाले गत पुस १३ गते ललितपुरको बालकुमारी क्षेत्रमा प्रदर्शन गरेका थिए।

प्रदर्शन भइरहेको क्षेत्रमा झन्डावाल गाडीसहित मन्त्री ज्वाला पुगेपछि प्रदर्शनकारी आक्रोशित भई उनको गाडी तोडफोडमा उत्रिएका थिए। यसैक्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर दुईजनाको मृत्यु भएपछि सरकारले छानबिन आयोग बनाएको थियो।

पुस १६ गते मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको संयोजकत्वमा पूर्वएआइजी अरूण बिसी र गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायण भट्टराई सदस्य रहेको छानबिन आयोग गठन गरेको थियो। भट्टराई नक्कली लाइसेन्स प्रकरणमा मुछिएका छन्।

हालका गृहमन्त्री नारायणकाजी श्रेष्ठ भौतिक योजना तथा यातायातमन्त्री हुँदा भट्टराई यातायात व्यवस्था विभागको महानिर्देशक थिए। उनी महानिर्देशक भएका बेला उनको करिब सात सय नक्कली लाइसेन्स वितरण भएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।

मन्त्री ज्वालाले बालकुमारी घटनामा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, श्रम तथा रोजगारमन्त्री शरतसिंह भण्डारी मुख्य दोषी हुनुपर्नेमा सन्दर्भ पनि नजोडिएको मन्त्रालयका मन्त्रीलाई सडक प्रयोग गरेकै आधारमा दोषी देखाएर आयोगले आफूमाथि प्रतिशोध साँधेको भन्दै असन्तुष्टि व्यक्त गरेको स्रोतले बतायो।

आयोगले भौतिक योजना तथा यातायातममन्त्री ज्वालालाई मात्रै दोषी देखाएको तर अन्य मन्त्रीहरूको यसमा संलग्नता भए पनि उनीहरूलाई जोगाएको भन्दै नेकपा एसले पनि आपत्ति जनाएको छ। नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पनि प्रतिवेदनमा असहमति प्रकट गरेका छन्।

‘समस्या खडा गर्ने श्रम मन्त्रालय र शान्ति सुरक्षा दिन नसक्ने गृह मन्त्रालय हुन्। यी दुवै मन्त्रालयको दोष भौतिकमन्त्रीलाई बोकाएर गृह मन्त्रालय पन्छिएको छ। आयोगको सदस्य नक्कली लाइसेन्स प्रकरणमा मुछिएका सहसचिव भट्टराईलाई बनाइयो। पहिला उनीहरूको राजीनामा आएपछि मात्रै प्रकाश ज्वालाले मन्त्रीबाट राजीनामा दिने अडान पार्टी अध्यक्ष माधव नेपालले राख्नुभएको छ,’ नेकपा एसका एक पदाधिकारीले भने।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाइएको छानबिन प्रतिवेदनलाई आधार मानेर अहिले सदन र सडकबाट भौतिकमन्त्री ज्वालाको राजीनामा मागिएको छ। मन्त्री ज्वाला उत्तेजित भिडमा पुगेका कारण घटना भएको भन्दै त्यतिबेलै उनको आलोचना भएको थियो।
तर गृह मन्त्रालयले शान्तिसुरक्षा कायम गर्न नसकेको र श्रम मन्त्रालयले समस्या समाधान गर्न नसकेको विषयमा कुरा उठाइएन। पार्टीको कार्यक्रममा भाग लिएर फर्कने क्रममा मन्त्री ज्वाला बालकुमारी पुगेपछि प्रदर्शनकारी उत्तेजित भएका थिए।

भिड उग्र बनेपछि प्रहरीले गोली चलाउनुपर्ने अवस्था आयो। गोली लागेर दुई युवकको मृत्यु भयो। घटना छानबिन आयोगले ४४ दिनमा प्रतिवेदन बुझाएको हो। प्रतिवेदनमा मन्त्री ज्वालासँगै उनका पिएसओ र फिल्ड कमान्डर डिएसपीलाई पनि दोषी देखाइएको छ।

यही प्रतिवेदनका आधारमा मन्त्री ज्वालाको राजीनामा मागिएको हो। एमालेका सांसद रघुजी पन्तले बिहीबारको प्रतिनिधिसभा बैठकमा मन्त्री ज्वालाको राजीनामा मागेका थिए। एमालेले ज्वालासँगै स्वास्थ्यमन्त्री र पर्यटनमन्त्रीको पनि राजीनामा मागिरहेको छ।

आइतबारको संसद् बैठकमा पनि यो विषयमा कुरा उठाइयो। एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले मन्त्री ज्वालाको राजीनामा माग्दै देशव्यापी आन्दोलनको घोषणा गरेको छ।

नेकपा एसले भने प्रतिवेदन अध्ययनपछि निर्णय गर्ने भनेको छ। ‘नक्कली लाइसेन्स प्रकरणमा संलग्न पाइएपछि कारबाहीका लागि सिफारिस भएका व्यक्तिसमेतले पूर्वाग्रही रूपमा बनाएको प्रतिवेदनको काम छैन,’ नेकपा एसका सचिव जीवनराम श्रेष्ठले भने, ‘बालकुमारीमा गोली हान्न निर्देशन दिने र गोली हान्ने निर्दोष हुने, बाटोमा हिँडेको मन्त्री दोषी हुने भन्ने पनि कहीं तर्क हुन्छ ?’

नेकपा एसको सचिवालय बैठकले भौतिकमन्त्री ज्वालाको गल्ती नभएको दाबी गरेको छ। गल्ती गर्ने श्रममन्त्री र गृहमन्त्री दोषी नहुने तर बाटो हिँड्ने भौतिकमन्त्री कसरी दोषी भन्ने प्रश्न उक्त पार्टीको सचिवालयले गरेको छ। नेकपा एस प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भौतिकमन्त्रीको खास गल्ती नभएको र प्रतिवेदन पनि सार्वजनिक नभएकाले अहिले नै सरकारबाट फिर्ता हुनुपर्ने अवस्था नभएको बताए।

‘अहिले सरकारबाट फिर्ता हुने कुरा छैन। भौतिकमन्त्रीमाथि प्रश्न उठाउँदा गृह र श्रम मन्त्रालयले सिर्जना गरेको समस्यामा अन्य दल किन मौन छन् ?’ उनले भने।  

गृहमन्त्री र श्रममन्त्रीको राजीनामा नआएसम्म मन्त्री ज्वालाले पनि राजीनामा नदिने उनीनिकट स्रोतले बतायो। नेकपा एसका अध्यक्ष नेपालले पनि प्रतिवेदन पूर्वाग्रही भएको र प्रतिवेदनका आधारमा मन्त्री ज्वालाका विषयमा प्रधानमन्त्रीले कठोर निर्णय लिए मान्य नहुने चेतावनी दिएको स्रोतले बतायो।

अध्यक्ष नेपालले प्रतिवेदन अध्ययनपछि आफ्नो दलले निर्णय गर्ने भएकाले तत्काल कुनै कदम नचाल्न प्रधानमन्त्री दाहाललाई सचेत गराएका छन्।

प्रकाशित: १४ फाल्गुन २०८० ०६:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App