२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

देश ध्वस्त पार्न बम खसाल्नु पर्दैन परीक्षा खुकुलो पारे पुग्छ: बिजुक्छेँ

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले देश ध्वस्त पार्न एटम बम खसाल्नु नपर्ने बरु परीक्षालाई खुकुलो पारे पुग्ने बताएका छन्। बागीश्वरी माविको ६५औं, बागीश्वरी कलेजको १६औं र बागीश्वरी कलेज अफ म्यानेजमेन्टको प्रथम वार्षिकोत्सवको अवसरमा बिहीबार सम्पन्न कार्यक्रममा उनले यस्तो बताएका हुन्।

उनले शिक्षा क्षेत्रलाई विदेशीहरूले आक्रमण गरेपछि देशका कुनै पनि क्षेत्र अघि बढ्न नसकेको बताए। परीक्षामा विद्यार्थीलाई खुकुलो गरिदिए भ्रष्ट नेताहरू त्यहीँबाट उत्पादन हुने भन्दै उनले देश बर्बादीको पहिलो कारण यही रहेको धारणा राखे। ‘शासक दलका नेताहरूमा परेको विदेशी प्रभाव र शिक्षा क्षेत्रको मनोमानीकै कारण देश बर्बादीतर्फ गइरहेको छ,’ उनले भने।

उनले नेपालमा हाल जति पनि ठूला काण्ड छन्, तिनमा शासक र दलका नेताहरू नै फसेको स्पष्ट पारे। साथै उनले जुनसुकै पार्टीले शासन चलाए पनि विचारमा अडान नभएकै कारण भ्रष्टाचार र अपराधलाई टेवा पु¥याइरहेको बताए। उनले पढेलेखेकाहरू नै मूर्ख बनेपछि देश अघि नबढ्ने औल्याउँदै देशभक्ति र इमानदार नागरिक तयार गर्न बुद्धिजीवी र शिक्षकहरू लाग्नुपर्नेमा जोड दिए।

एनजिओ आइएनजिओकै भरमा शासक दलहरू चलेकाले तत्कालीन सोभियत रुस जस्तै यो देश पनि ठूलो दुर्घटनामा जानसक्ने चेतावनी उनले दिए। ज्यान सजायलाई विरोध गरेकै कारण नेपालमा बढी अपराध भएको भन्दै उनले मृत्युदण्डको व्यवस्था हुनुपर्नेमा जोड दिए। उनले नेपालका ठूला उद्योग तथा कलकारखाना भारतलाई सुम्पिँदासमेत कुनै सजाय नभएको बताए।

प्रकाशित: ११ फाल्गुन २०८० १०:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App