१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

चितवनको राप्ती नगरपालिकामा कांग्रेस–एमालेका जनप्रतिनिधिले गरे तालाबन्दी

चितवनको राप्ती नगरपालिकामा सत्ता गठबन्धनबाट निर्वाचित भएका नगरप्रमुख एक्लिएका छन्।

नेकपा (एकीकृत समाजवादी)बाट टिकट लिएर निर्वाचित भएका नगरप्रमुख शमशेर लामालाई निर्वाचनमा सहयोग गरेको कांग्रेसले समेत साथ छाडेको छ। लामाको कार्यशैली प्रति असन्तुष्ट जनाउँदै कांग्रेसले साथ छोडेको हो। 

सबैभन्दा धेरै वडाध्यक्ष र सदस्य निर्वाचित भएको एमालेसँग मिलेर कांग्रेसले नगरपालिकामा आन्दोलन गरेको छ। कांग्रेस र एमालेबाट निर्वाचित जनप्रतिनिधिले संयुक्त रुपमा तालाबन्दी गरेका छन्। हिजो (बुधबार) उनीहरुले नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका हुन्।

नगरप्रमुख शमशेर लामाले पटक पटक अनुरोध गर्दा पनि कार्यपालिका बैठक र हिउँदे नगरसभा नगरेका कारण तालाबन्दी गरिएको कांग्रेसबाट निर्वाचित वडा नम्बर १२ का वडा अध्यक्ष अर्जुन प्रजाले जानकारी दिए।

‘मेयर गठबन्धनको भोटबाट निर्वाचित भएका हुन्’ प्रजाले भने, ‘तर, अहिले एकलौटी गर्न खोजे, तानाशाही बन्न थाले। राजा मै हुँ भने।’ उनले तोक आदेशका भरमा नगरपालिका चलाउन खोजेको भन्दै वडा वडाका विकास निर्माणमा समेत हस्तक्षेप गरेको आरोप लगाए। ‘नगरपालिकामा सबैलाई मिलाउनुपर्ने प्रमुख नै सिस्टममा चल्नु भएको छैन। हरेक कुरा भद्रगोल भएको छ’–प्रजाले भने। २३ जना कार्यपालिका सदस्य मध्ये प्रमुख र दुई जना वडाअध्यक्ष बाहेक सबै जनप्रतिनिधि प्रमुख लामाको कार्यशैलीप्रति सन्तुष्ट नरहेको प्रजाले बताए।

दुई वडा अध्यक्षमध्ये एक जना एकीकृत समाजवादी र एक जना स्वतन्त्र हुन्। प्रमुख लामा एकीकृत समाजवादी र उपप्रमुख नेपाली कांग्रेसबाट गठबन्धन मार्फत निर्वाचित भएका थिए। पछिल्लो समय प्रमुख र उपप्रमुखको सम्बन्ध पनि राम्रो नभएको कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले बताएका छन्।

प्रत्येक महिना हुनुपर्ने कार्यपालिका बैठक विगत आठ महिनादेखि हुन नसकेको वडा नम्बर ४ का वडा अध्यक्ष केदार आचार्यले बताए। उनले लामो समयदेखि कार्यपालिका बैठक नबोलाएको, हिउँदे नगरसभा नबोलाएको, जनप्रतिनिधिलाई गालीगलौजमा उत्रिएको, तोक आदेशका आधारमा नगरपालिका सञ्चालन गर्न खोजेको र सुशासन कायम नगरेकाले तालाबन्दी गर्न बाध्य भएको बताए। आचार्यले पटक पटक अल्टिमेटम दिँदा पनि बेवास्ता गरेका कारण तालाबन्दी गरेर आन्दोलनमा उत्रनु परेको बताए।

नगर प्रमुख शमशेर लामाले भने कार्यपालिकामा बहुमतको दम्भ देखाएका कारण बैठक नबोलाएको बताए। उनले भने, ‘मैले सहमति गरेर कार्यपालिका बैठक आव्हान गर्दा पनि अदालत जाने लगायतका गतिविधि भए। त्यसैले बैठकको औचित्य देखिन । नगरका कामहरू नियमित भइरहेका छन्।’ उनले नगरपालिकामा तोक आदेश गर्ने मेयर आफू भएको भन्दै उपप्रमुखको तोक लगाएर काम गर्ने प्रयास गरिएको भन्दै विरोध जनाए। उनले भने, ‘कांग्रेस–एमालेका जनप्रतिनिधिले अराजनीतिक गतिविधि बढाएका छन्। मेयरले गरेन भन्ने देखाउन एकजुट भएका छन्।’ उनले गैर कानुनी क्रियाकलापलाई आफूले साथ नदिने भन्दै वडाका काममा कुनै हस्तक्षेप नगरेको बताए।

प्रकाशित: १० फाल्गुन २०८० १९:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App