७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

गठबन्धनमा अझै अलमल

नेपाली कांग्रेसका महासमिति सदस्यहरू गठबन्धन गर्ने कि नगर्ने भन्नेमा विभाजित भएका छन्। सोमबारदेखि सुरु महासमिति बैठकअन्तर्गत बुधबार सदस्यहरूले धारणा राख्ने क्रममा महासमिति सदस्यहरू गठबन्धन ठिक कि बेठिक भन्नेमा विभाजित बनेका हुन्। पार्टी केन्द्रीय समितिमा जस्तै महासमितिको बैठकमा बोल्ने बहुमत सदस्यहरू गठबन्धनको पक्षमा उभिएका छन्।

महासमिति बैठकबाट पार्टीको नयाँ नीति र कार्यक्रम बनाउनेभन्दा १५औं महाधिवेशनको तयारीका रूपमा नेताहरूले उपयोग गर्दै आएका छन्। गठबन्धनकै विषय उठाएर कांग्रेस नेताहरू पार्टीको आगामी महाधिवेशनबाट नेतृत्वमा पुग्ने र टिक्ने रणनीतिसहित प्रस्तुत भएका छन्।

सोहीअनुसार निर्वाचन क्षेत्रबाट चुनिएर आएका महासमिति सदस्यहरू पक्ष र विपक्षमा विभाजित भएका छन्। गठबन्धनको पक्षमा रहेका कांग्रेस नेताहरूले त्यसलाई अहिलेको आवश्यकता रहेको औंल्याएका छन्। निर्वाचनअघिको गठबन्धन टुट्दा कांग्रेस केन्द्रदेखि प्रदेशसम्म सत्ताविहीन बन्न पुगेको स्मरण गराउँदै सदस्यहरूले यसलाई अनावश्यक विवाद झिक्नुको कुनै अर्थ नभएको दाबी गरेका छन्।

तर, गठबन्धनको विपक्षमा रहेका महासमिति सदस्यहरूले अन्य दलले गरेका कमजोरी जिम्मासमेत कांग्रेसले लिनु परेको तर्क राखेका छन्। उनीहरूले पार्टीलाई एक्लै चुनाव जित्न सक्ने गरी संगठन निर्माण गर्नुपर्नेमा जोड दिएका छन्। केही महासमिति सदस्यहरूले चार वर्षपछि हुने निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने विषयमा छलफल आवश्यक नै नभएको दाबी गरेका छन्। 

निर्वाचनको मुखमा तत्कालीन आवश्यकता र अवस्थाका आधारमै गठबन्धनबारे छलफल गर्नु उचित हुने तर्क गरेका छन्। आम निर्वाचन हुन चार वर्ष बाँकी रहेको जनाउँदै अहिले गठबन्धनका विषयमा छलफल आवश्यक नभएको तर्क राखेका छन्।  

गठबन्धन भएकै कारण प्रदेशदेखि संघसम्म सरकारमा रहेको जनाउँदै झापाका महासमिति सदस्य केशव पाण्डे भविष्यमा गठबन्धन गर्नेनगर्ने विषय १५औं महाधिवेशनबाट आउने कार्यसमितिलाई दिनुपर्ने तर्क गरे। ‘अहिलेको गठबन्धनलाई खलबल पार्ने र अन्योलमा पु¥याउने काम गर्नुहुँदैन,’ उनले भने, ‘गठबन्धनप्रति कांग्रेस इमानदार हुनुपर्छ।’  

निर्वाचन लड्ने बेलामा सबैलाई गठबन्धन चाहिएको आरोप लगाउँदै महासमिति सदस्य रमेशजंग रायमाझीले टिकट नपाएपछि खराब भन्न थालेको आरोप लगाए। रिक्त हुन लागेको राष्ट्रियसभा अध्यक्षमा कांग्रेस नेतालाई पुग्न नदिन गठबन्धन तोड्ने कुरा गर्न थालेको तर्क गर्दै उनले भने, ‘उसैलाई अहिले निर्वाचित भएर गठबन्धन तोड्नु परेको छ। गठबन्धन अहिलेको आवश्यकता हो।’

लोकराज अवस्थीले देश र परिस्थितिअनुसार गठबन्धन गर्नुपर्ने धारणा राखे। दार्चुला महासमिति सदस्य विक्रमसिंह धामीले महामन्त्रीको प्रतिवेदन कांग्रेसले ल्याए जस्तो नभएको आरोप लगाए। ‘कुन साथीलाई गठबन्धन लड्ने मन नभएकाले नलडे हुन्छ,’ उनले भने, ‘गठबन्धन गरेर लड्ने साथीको कमी छैन। कांग्रेस दुर्गति सिस्टममा नचल्नु हो।’

अछामका महासमिति सदस्य पदम अधिकारीले गठबन्धन परिस्थितिजन्य कुरा भएको दाबी गरे। ‘गठबन्धन कोसँग गर्ने वा नगर्ने भन्ने हाम्रो नीतिको विषय बन्नु हुँदैन,’ उनले भने, ‘आवश्यकतामा भर पर्छ।’

उमेर पुगेका नेतालाई चुनाव जित्न गठबन्धन गर्नुपर्ने धारणा राख्दै सुनसरी महासमिति सदस्य गोमा पराजुलीले युवालाई भने गठबन्धन आवश्यक नभएको दाबी गरिन्। ‘एउटा व्यक्ति चारपटक सांसद हुने कुरा पाच्य छैन, दुई पटक मात्र हुनुपर्छ,’ उनले भनिन्, ‘प्रदेशमा लड्ने अनि केन्द्रमा पनि, यस्तो हुनुहुँदैन।’

आर्थिक विकास र संविधान कार्यान्वयनमा जोड

महासमिति बैठकमा धारणा राख्ने अधिकांश सदस्यले पार्टी नेतृत्वमा जारी भएको संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन्। संविधान कार्यान्वयन नहुँदा र सरकारले जनचाहनाअनुसार काम गर्न नसक्दा जनतामा निराशा बढेको धारणा राख्दै संघीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधानको रक्षार्थ कांग्रेस एकजुट भएर अघि बढ्नुपर्ने तर्क गरेका छन्। त्यसका लागि मुलुकको सबैभन्दा पुरानो र ठूलो दलको हैसियतले सबै राजनीतिक दललाई विश्वासमा लिएर अघि बढ्न सदस्यहरूले नेतृत्वलाई सुझाएका छन्।

गठबन्धन सरकारको अनुभूति जनताले गर्न नसकेको धारणा राख्दै धादिङ सभापति रामनाथ अधिकारीले भने, ‘जनतामा निराशा छाएको छ। कांग्रेसले संविधानको रक्षा गर्दै जनतालाई आशा र भरोसा जगाउने गरी काम गर्नुपर्छ।’

पार्टी विधि र विधानअनुसार चल्न नसकेको धारणा राख्दै प्रदेश संरचनालाई बलियो बनाउनु पर्ने तर्क राखेका छन्। महाधिवेशन भएको ६ महिनाभित्र सबै तहका संरचनालाई पूर्णता दिइसक्नुपर्ने विधानको व्यवस्था रहे पनि केन्द्रदेखि गाउँ तहसम्मका कुनै पनि संरचनाले पूर्णता पाएको छैन।

पार्टी संगठनलाई सक्रिय बनाउनुपर्ने, भ्रातृ तथा शुभेच्छुक संस्थालाई पूर्णता दिनुपर्नेमा सदस्यहरूले जोड दिएका छन्। कांग्रेसले शिक्षा, स्वास्थ्य र रोजगारीलाई युवासँग जोडेर योजना बनाउनुपर्ने बताउँदै ललितपुर सभापति जितेन्द्र श्रेष्ठले पार्टीका सबै निकाय र संरचनालाई चलायमान बनाउनुपर्नेमा जोड दिए।

सामाजिक न्यायसहित आधुनिक कृषि प्रणालीका साथै किसानलाई राहत र सहुलियतको व्यवस्था गर्नुपर्नेमा जोड दिँदै सदस्यहरू जनतासँग जोडिने कार्यक्रम ल्याउनुपर्ने धारणा राखेका छन्। सुशासन कायम गर्न भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई कार्यान्वयनमा ल्याउन महासमिति सदस्यहरूले जोड दिएका छन्।

कांग्रेसलाई विकास निर्माणसँग जोड्ने र भ्रष्टाचार अन्त्यका लागि नेतृत्व गर्नुपर्ने जनाउँदै मकवानपुर सभापति बुद्ध लामाले भने, ‘कांग्रेसले भ्रष्टाचार अन्त्यका लागि नेतृत्व गर्नुपर्छ र परराष्ट्र नीतिको सही कार्यान्वयन गर्न आवश्यक छ।’ हिन्दु राज्य स्थापनाका विषयमा पनि सदस्यहरूले जोड दिँदै महासमिति बैठकले उक्त विषयलाई टुंगो लगाउनुपर्ने माग गरेका छन्।

ललितपुरको गोदावरीमा सोमबारदेखि सुरु भएको महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काको नीति, महामन्त्री गगनकुमार थापाको सांगठनिक, महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक, प्रवक्ता प्रकाशशरण महतको नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन, लेखा समिति संयोजक श्यामकुमार घिमिरेको लेखा परीक्षण प्रतिवेदनमाथि चारवटा समूहमा छलफल भइरहेको छ।

बिहीबार सकिने महासमिति बैठकमा केही सदस्यहरूले धारणा राख्नेछन्। खानापछि महासमिति बैठकको समापन हुने प्रचार विभागप्रमुख मीनबहादुर विकले जानकारी दिए।

प्रकाशित: १० फाल्गुन २०८० ०६:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App