२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कोशीका मुख्यमन्त्री आजदेखि ‘हात्तीमैत्री पदयात्रा’ मा

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की आजदेखि ‘हात्तीमैत्री पदयात्रा’ सुरु गर्दैछन्। उनको  नेतृत्वमा विज्ञ टोलीले मानव–हात्ती द्वन्द्वको समस्याको समाधानका लागि सरोकारवालाको धारणा बुझ्न झापादेखि उदयपुरसम्म ‘हात्तीमैत्री पदयात्रा’ गर्न लागेको हो।

फागुन १६ गतेसम्म सञ्चालन हुने ‘हात्तीमैत्री पदयात्रा’ मा मुख्यमन्त्री कार्की आफैँ सहभागी हुनेछन्।

कोशी प्रदेशको पर्यटन वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको पदयात्राको क्रममा जङ्गली हात्तीले मानव बस्तीमा पसेर जनधनको क्षति पुर्‍याउँदै आएको झापाको बाहुनडाँगीदेखि उदयपुरको कटारीसम्मको दुर्ई सय ४० किलोमिटरको दूरी तय गर्नेछ।

पदयात्रामा सङ्घीय सरकारका वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतो, स्थानीय जनप्रतिनिधि, वनका कर्मचारी, पर्यावरणविद्, संरक्षणविद्, सामुदायिक वनका पदाधिकारीलगायतको सहभागिता रहने छ। प्दयात्रा मेचीनगर–१ बाहुनडाँगीको प्रसाद गौडाबाट पदयात्रा सुरु हुने कार्यक्रम रहेको छ।

यात्राको पहिलो दिन मेचीनगर–२ को निरौला गाउँ गाई फर्म, ढकाल गाउँ, थापा चोक, बहुवन हुँदै पाँचपोखरी सामुदायिक वन, बुद्धशान्ति–४ र मेचीनगर–९ को मागुरमाडी सामुदायिक वन, बुधबारे चोकबाट दक्षिण कैदले वन हुँदै जुकेखाँडीसम्म यात्रा गर्ने तय भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले बताए।

दोस्रो दिन झापाकै दहिझोडा, प्रजापती, सुकेडाँगी, गैडे सामुदायिक वन र रतुवामाई वृक्षरोपण हुँदै पदयात्रा टोली चुलाचुलीस्थित सव डिभिजन कार्यालय आसपासमा बास बस्ने भएको छ। तेस्रो दिन दमक–२ को फायरलाईन, हम्सेदुम्से आपझोला, जनज्योति, लेटाङ–४ को त्रिवेणी, जनसेवा हुँदै कमलपुर सामुदायिक वनमा बास बस्ने यात्रा तालिकामा उल्लेख छ।

चौथो दिन लेटाङ–३ को कीर्तिमान, जनचाहना, चिसाङ, आपझोला, गछियाँको लाटीझोडा साझेदारी वन हुँदै खोर्साने र इटहरी–२ स्थित सरस्वती सामुदायिक वनमा बास बस्ने कार्यक्रम तय भएको छ। पाँचौँ दिन सेउती खोला कालिन्द्र सामुदायिक वन, व्यापारी घाँरी हुँदै डुङ्गाबाट कोशी नदी तरेर श्रीलङ्का टापु हुँदै भागलपुरमा बस्ने कार्यक्रम तालिका तय गरिएको उनले जानकारी दिए।

छैटौँ दिन आमवासी हुँदै फत्तेपुर हडिया, जोगिहद, मोतिगडा र सातौँ दिन लेहाले खोला, जलजले, मोहनजुर, चिसापानी, कौबाई, त्रियुगापुल, नेपालटार तथा आठौँ दिन नेपालटार बजार हुँदै रातमाटे, भुल्के कटारी, बेलसोत बजारमा यात्रा समापन गरिने कार्यक्रम तालिकामा उल्लेख छ।

यसैबीच, हात्ती पीडित बाहुनडाँगीवासीका तर्फबाट सर्वपक्षीय टोलीले पदयात्रामा आउनु हुने मुख्यमन्त्री कार्कीलाई मागपत्र पेस गर्ने कार्यक्रम रहेको बाहुनडाँगी नागरिक समाजका अध्यक्ष नीलकण्ठ तिवारीले बताए।

प्रकाशित: ९ फाल्गुन २०८० ०७:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App