कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वविद्यालयहरू अनुसन्धान, नवप्रवर्तन र समाज रूपान्तरणको बलियो आधार भएको बताएका छन्।
मध्यपश्चिम विश्वविद्यालयले सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको ‘शिक्षा, संस्कृति, समाज र व्यवसायमा अबको बाटो’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनको शुक्रबार उद्घाटन गर्दै उनले विश्वविद्यालय केवल पढाउने थलो नभई अनुसन्धान र समाज रूपान्तरणको जग भएको बताए।
मध्यपश्चिम विश्वविद्यालयले शैक्षिक कार्यक्रमसँगै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा आफूलाई स्थापित गर्न यस्तो सम्मेलन आयोजना गरेकोमा उनले प्रशंसा गरे। यो सम्मेलनले शिक्षा, समाज र व्यवसायका क्षेत्रमा भइरहेका परिवर्तनलाई बुझेर भविष्यको मार्गचित्र कोर्न सरोकारवालाबीच संवाद र सहकार्य प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए।
सम्मेलनमा प्रस्तुत हुने विचार र निष्कर्षले कर्णालीको शैक्षिक उन्नति र प्रदेशको विकास एवं समृद्धिमा योगदान दिनेमा उनले विश्वास व्यक्त गरे।
मुख्यमन्त्री कँडेलले प्राज्ञिक समुदायलाई आगामी दिनमा गहन अनुसन्धान, ज्ञान, सिर्जना र समाधानमुखी संवादमा अघि बढ्न आह्वान गरे। सम्मेलनमा भारतलगायत विश्वका विभिन्न देशका प्राध्यापक, डाक्टर, विद्वान् र प्राज्ञिक व्यक्तित्व सहभागी छन्। रासस
प्रकाशित: १३ वैशाख २०८२ ०६:४१ शनिबार





