बेनी नगरपालिका–१ रत्नेचौर र वडा नं. ५ पुलाचौरमा महिलालाई व्यवसायमा संलग्न गराएर आत्मनिर्भर, स्वरोजगार र लैङ्गिक हिंसा कम गर्ने उद्देश्यले ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम सञ्चालन भएको छ।
आमा समूहसँग समन्वय गरी महिलालाई स्थानीय स्रोत र सम्भावना भएका उद्यममा संलग्न गराउन यो कार्यक्रममार्फत सीप र प्रविधि सहयोग गरिएको छ।
बेनी नगरपालिकाकी उपप्रमुख ज्योति लामिछानेले आमा समूहलाई परिचालन गरेर महिलालाई आर्थिक रूपमा सक्षम, आत्मनिर्भर र सामाजिक रूपमा सशक्त बनाउन कार्यक्रम सञ्चालन गरेको बताइन्।
उनले भनिन्, ‘महिला आर्थिक रूपमा सक्षम भए भने हिंसा कम हुन्छ, रोजगारी सिर्जना हुन्छ र समाजमा अगाडि आउने वातावरण बन्छ।’ चालु आर्थिक वर्षमा २० लाख रुपैयाँ बजेट विनियोजन भएको यो कार्यक्रम वडा नं. १ र ५ मा लागू भएको छ।
उपप्रमुख लामिछानेको प्रस्तावमा तीन वर्षअघि निर्वाचित कार्यपालिकाको पहिलो बैठकले यो कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो।
नगरपालिकाको महिला तथा बालबालिका शाखाकी प्रमुख डमसरा पुनले पुलाचौर आमा समूहमार्फत सेतोढुङ्गा, पुलाचौर, नयाँगाउँ र डडुवामा १२५ जनालाई च्याउ खेती, १३२ जनालाई धूप बनाउने र १७ जनालाई सिलाइकटाइ तालिम दिइएको बताइन्।
च्याउ खेती र धूप बनाउने समूहलाई दुई-दुई दिनको तालिम, बीउ र एक-एक टनेल सहयोग गरिएको छ। तीन महिने सिलाइकटाइ तालिममा सहभागीलाई उपकरण पनि दिइएको छ। रत्नेचौरमा २० जनालाई बाँसबाट सजावटका सामग्री बनाउने तालिम सुरु भएको छ।
दुई समूहलाई च्याउ खेतीसम्बन्धी तालिम र प्रविधि सहयोग गरिने नगरपालिकाले जनाएको छ। आर्थिक वर्ष २०७९/८० मा बेनी नगरपालिका–३ भकिम्लीमा कुखुरापालन र वडा नं. ९ घतानमा चप्पल, दालमोट, नमकिन बनाउने तालिम सञ्चालन भएको थियो।
गत आर्थिक वर्ष २०८०/८१ मा बेनी नगरपालिका–१० पात्लेखेतमा सहभागी महिलाले व्यावसायिक रूपमा बाजा बजाउन र वडा नं. २ खबरामा केराको थामबाट धागो बनाउन थालेका छन्।
पुलाचौर आमा समूहकी सचिव हिरा जिसी बानियाले बजारमा माग हुने, बनाउन सजिलो र छिटो आम्दानी हुने भएकाले च्याउ खेती र धूप बनाउने सीप सिकेको बताइन्। उनले भनिन्, ‘पहिलो चरणमा सामूहिक रूपमा च्याउ र धूप उत्पादन गर्छौँ। परीक्षण सफल भएपछि व्यक्तिगत रूपमा व्यवसाय गर्ने योजना छ।’ रासस
प्रकाशित: १३ वैशाख २०८२ ०६:२७ शनिबार





