४ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

लुम्बिनी प्रदेशको विकास कपिलवस्तुबाट सुरु हुन्छ: मुख्यमन्त्री चौधरी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशको विकास सुरुवात कपिलवस्तुबाट गर्ने बताएका छन्। उनले कपिलवस्तुलाई सुन्दर सहरका रुपमा विकास गर्न प्रदेशले डिपीआर निर्माण गर्ने बताए।

कपिलवस्तुको महाराजगन्ज नगरपालिकास्थित हुलाकी राजमार्गअन्तर्गत कपिलवस्तुको गनबरिया चोकदेखि दक्षिण सेमरी हुँदै सिसवा शान्तिनगरसम्मको सडक शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री चौधरीले सो कुरा बताएका हुन्।

उनले हरेक विकास, रोजगारी र आत्मनिर्भरसँग जोडिने बताए। ‘अब सुन्दर सहरको कल्पना गरौँ, बाटोले मात्र विकास हुँदैन’, चौधरीले भने‚ ‘बुद्धको जन्मस्थललाई पर्यटनसँग जोड्दै औद्योगिक विकासमा लागौँ।’

उनले स्थानीय स्रोतलाई संरक्षण गर्दै महाराजगन्जको फरक पहिचान बनाउनुपर्ने बताए। महाराजगन्ज नगरपालिकाले विगतमा पनि किचडमुक्त नगर बनाउने अभियान गरेको भन्दै प्रशंसा गरे। जीर्ण सडक कालोपत्रे हुने भएपछि नागरिकलाई सहजता हुने नगर प्रमुख अब्दुल कलाम खाले बताए।

ग्रामीण विकास तथा साना सहरी पूर्वाधार निर्माण महाशाखा प्रमुख गुणानिधि पोखरेल २ वर्षको अवधिमा काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गरे। 

७ मिटर चौडा र ४.७ किलोमिटर सडक निर्माणका लागि सागर निर्माण सेवाले १६ करोड ७६ लाख ६८ हजारमा सम्झौता गरेको छ। २०८२ माघमा काम सम्पन्न गर्नुपर्ने छ।

कार्यक्रममा बुद्धभूमि नगरपालिकाका मेयर केशवकुमार श्रेष्ठ, कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडल, पूर्व प्रदेशमन्त्री रिना नेपाललगायतको सहभागिता थियो।

प्रकाशित: ५ फाल्गुन २०८० १३:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App