१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

धरानका स्वतन्त्र दिदीबहिनीले बनाएको ‘रोज गार्डेन’

स्वतन्त्र दिदीबहिनी समूहले बनाएको एसडिबी रोज गार्डेन। तस्बिर/नागरिक

धरान जनसहभागिताबाट हुने विकासको नमुना सहर मान्न थालिएको छ। यहाँका हरेक विकास निर्माणमा जनसहभागिता हुने गर्छ। यसैको पछिल्लो उदाहरण बनेको छ, ‘एसडिबी रोज गार्डेन’।

स्वतन्त्र दिदीबहिनी (एसडिबी) समूहले सरकारी बजेट विना रोज गार्डेन बनाएको हो। ती दिदीबहिनी आफूहरू स्वतन्त्र रहेको जनाउ दिन गार्डेनको नामनै ‘एसडिबी रोज गार्डेन’ राखेका छन्।

सरकारको बजेट विना स्वतन्त्र दिदीबहिनी समूहको अगुवाइमा बनेको एसडिबि रोज गार्डेन हिजो भव्य कार्यक्रमबीच उद्घाटन भएको हो। उनीहरूले हिजै यो गार्डेन स्थानीय सरकारलाई हस्तान्तरण गरेका छन्।

प्रणय दिवसको अवसर पारेर बेलुकी मेयर हर्क साम्पाङ र श्रीमती निर्मला लिम्बुले गार्डेनको उद्घाटन गरेका थिए। मेयर साम्पाङले रोज गार्डेन बनाउन स्वतन्त्र दिदी बहिनी समूह गठन गरेर जिम्मेवारी दिएका थिए। सरकारको पैसा लगानी नगरी उनीहरूले ५९ औँ दिनमा गार्डेन तयार गरेर नगरलाई हस्तान्तरण गरे।

श्रम संस्कृति पार्क क्षेत्रमा बनेको गार्डेनको डिजाइनर रामप्रसाद राई हुन। महिलाहरूले प्रत्येक दिन श्रमदान पनि गरेको निर्माण समितिकी सचिव तुलसा ताम्लीले जानकारी दिइन्। उनका अनुसार श्रमदान गर्न आएका ज्येष्ठ महिलाहरूले वृद्ध भत्ता थापेको पैसासमेत गार्डेन निर्माणमा सहयोग गरेर योगदान गरेका छन्।

निर्माण समितिकी कोषाध्यक्ष विष्णु लिम्बुकाअनुसार गार्डेन निर्माण गर्न देश विदेशबाट दाताहरूले २६ लाख ३० हजार रुपैयाँ बराबरको सहयोग गरेका छन् भने स्वतन्त्र दिदीबहिनीहरूले प्रतिमा बनाउन ४ लाख ४५ हजार सङ्कलन गरेका थिए। गार्डेन निर्माणको क्रममा कुल ३१ लाख १९ हजार सङ्कलन भएको कोषाध्यक्ष लिम्बुले जानकारी दिइन्। 

यस्तै, ३० लाख ४४ हजार खर्च भएको र ७५ हजार २३ रुपैयाँ बचत भएको पनि उनले जानकारी दिइन्। श्रमदाता महिलाहरूले १४ लाख ८८ हजार बराबर श्रमदान गरेका छन्। बचत भएको रकम निर्माण समितिकी अध्यक्ष गंगा लिम्बुले सुम्निमा पारुहाङको प्रतिमा बनाउन दत्तकुमार लिम्बुलाई हस्तान्तरण पनि गरेकी थिइन्।

गार्डेनमा गुलाफको बिरुवा रोपिएको छ भने बिचमा वाटर फाउन्टेन निर्माण गरिएको छ। फाउन्टेनमा साँझमा विभिन्न रङ्गको बत्ती पनि बल्ने र पानीको फोहोरामा रङ्ग संयोजन भएकोले आकर्षक देखिन्छ।

यस्तै, पूर्वी पहाड गाउँघरको संस्कृति झल्काउने गरी मौलिक पहिरनमा थुङ्से बोकेको दिदी र झोला बोकेको बहिनीको प्रतिमा पनि स्थापना गरिएको छ। गार्डेनमा नै स्थापना गरिएको सेल्फी रोजको प्रतिमाको पनि बुधवार नै उपमेयर अइन्द्र बिक्रम बेघाबाट अनावरण गरिएको थियो।

मेयर साम्पाङले महिलाहरू राजनीतिक रूपमा पनि नेतृत्वमा आउनुपर्ने भन्दै अब महिलाहरूको युग सुरु भएको धारणा राखे। उनले सरकारको मात्र मुख ताकेर बस्दा विकास सम्भव नभएकोले नै धरानमा आफूले श्रमदान अभियानलाई निरन्तरता दिएको पनि बताए।

२०७९ को स्थानीय तह निर्वाचनबाट स्वतन्त्र रूपमा मेयरमा निर्वाचित भए लगत्तैदेखि मेयर साम्पाङले धरानमा श्रमदान अभियान थालेका थिए। उनले श्रमदानबाट नै विभिन्न खोलाहरूबाट पानी ल्याएका छन् भने रिजर्भ ट्याङ्की पनि बनाएका छन्।

रोज गार्डेन जस्तै गरी नै यसअघि श्रमदान तथा देश, विदेशबाट सहयोग जुटाएर एसएनएस चौतारी, आरा धरान पार्क निर्माण भइसकेको छ भने एसडिएस रक गार्डेन पनि निर्माणको क्रममा छ। आधा धरान क्षेत्रमा गोर्खा स्मृति स्मारक पनि बनाउने तयारी गरिएको छ भने रोज गार्डेन र रक गार्डेनको बिचमा रहेको सर्दु खोलामाथि मितेरी पुल पनि बनाइँदै छ।

प्रकाशित: ४ फाल्गुन २०८० ११:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App