१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

‘त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौट प्रक्रिया गलत’

त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौट प्रक्रियाको विषयलाई लिएर सांसदहरुले असन्तुष्टि जनाएका छन्।

सोमबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसदहरुले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौट प्रक्रिया गलत भएको बताएका हुन्। 

उनीहरुले छनौट प्रक्रिया गलत भएको भन्दै तीव्र असन्तुष्टि व्यक्त गरे। सांसदहरुले उपकुलपति छनौटको प्रक्रियालाई खारेज गर्दै नयाँ प्रक्रिया आरम्भ गर्न समेत माग गरेका छन्। 

बैठकमा बोल्दै नेकपा (एमाले) कि सांसद विद्या भट्टराईले विभिन्न आरोपका आरोपितहरूले आवेदन दिएको भन्दै उनीहरुको योग्यतामाथि प्रश्न उठाउनुपर्ने बताइन्।

‘हामी मेरिटोक्रेसीको कुरा गर्छौँ भने टियुको भिसी भनेको एकेडेमिक लिडरसिप हो। अनि एकेडेमिक लिडरसिपमा बसेकाहरूले जब आफूले अप्लाइ गर्दा खेरी सिफारिस समितिले एकेडेमिक लिडरसिपलाई चयन गरिरहँदा आज आरोपित मान्छेहरुलाई नै अप्लाइ गर्न ठाउँ दिन्छौँ भने नैतिकताको प्रश्न कहाँ रहन्छ भन्ने कुरा हो। प्रश्न उठ्छ भने त्यसलाई करेक्सन गर्नका लागि ठाउँ दिनुपर्‍यो। त्यस्तो संयन्त्र बनाउनु पर्‍यो। त्यो त छैन। आरोप लागेकाहरुले त्यहाँ गएर अप्लाइ गर्न पाउने कुरा जबसम्म रहन्छ, त्यो मेरिटोक्रेसी हुने कि नहुने ?’ उनी भनिन्।

त्यस्तै नेकपा (एमाले) की सांसद सरिता भुसालले उपकुलपति छनौटका लागि सक्षम व्यक्तिको खोजतलास नगरिएको बताइन्। उनले विदेश पलायन भइरहेका विद्यार्थीहरूलाई रोक्ने विचार भएका व्यक्ति उपकुलपति बन्नुपर्नेमा जोड दिइन्।

‘जति जनाको निवेदन आएको छ के उहाँहरु मात्रै सक्षम हुनुहुन्छ जस्तो लाग्छ त ? यसमा अनुभवको आधारमा, कार्य दक्षताको आधारमा पनि त गर्न सक्नुहुन्थ्यो। सक्षम व्यक्तिको खोज तलास गरिएन। हजारौँ संख्यामा विद्यार्थीहरू बाहिरिएका छन्, बाहिर पलायन भएका विद्यार्थीहरूलाई कसरी रोक्ने भन्ने खालको विचार भएको व्यक्ति उपकुलपतिमा आउनुपर्थ्यो। त्यसमा कसरी हेरिराख्नुभएको छ ?’ उनले भनिन्।

नेपाली काँग्रेसका सांसद बद्री पाण्डेले सिफारिस समितिले गलत बाटो समातेको बताए। उनले सिफारिस समिति उपकुलपतिको छनौटका लागि लोकसेवाको प्रक्रियाजस्तै गरी अगाडी बढिसकेको भन्दै कसैले पनि उस्तो, उस्तो गर्नुस् भनेर निर्देशन दिन नमिल्ने उल्लेख गरे।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना जैसवालले विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप गर्नु नहुने धारणा राखिन्। उनले अनुभव र ज्ञान भएको मान्छेलाई राज्यको उच्च पदमा राख्नुपर्नेमा जोड दिइन्।

नेकपा (एमाले) की सांसद ईश्वरी घर्तीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा हालका निमित्त उपकुलपतिलाई नै नियुक्त गर्नेगरी प्रपञ्च गरिएको बताइन्। उनले प्रधानमन्त्रीले नै यस विषयमा नाटक गरेको टिप्पणी गरिन्।

उनले हालका निमित्त उपकुलपतिले आफ्नो क्षेत्राधिकार मिचेर विभिन्न पदमा नियुक्ति गरेको भन्दै ती सबै नियुक्तिलाई खारेज गर्नुपर्ने उल्लेख गरिन्।

प्रकाशित: २९ माघ २०८० १८:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App