१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

पहिचान पक्षधर र कोशी प्रदेश सरकारबीचको वार्ता सुरु

प्रदेश सरकार र पहिचान पक्षधरको अर्को चरणको वार्ता आज ८ बजेदेखि विराटनगरमा सुरु भएको छ।

दोस्रो चरणको द्विपक्षीय वार्ताले के-के विषयमा कसरी छलफल गर्ने भन्ने विषय टुङ्गो लगाउने वार्ताकारहरूले जानकारी दिएका छन्।

ऐतिहासिक पृष्ठभूमिका आधारमा प्रदेशको नामकरण गर्नुपर्ने माग गर्दै आएका पहिचान पक्षधर र कोशी प्रदेश सरकारबीच आज दोस्रो दिन पनि वार्ता हुन लागेको हो। बिहीबार विराटनगरस्थित बिग होटेलमा पहिलो चरणको औपचारिक द्विपक्षीय वार्ता सम्पन्न भएको थियो।

कोशी प्रदेशको नाम संशोधन गर्नुपर्ने मागसहित आन्दोलनरत पहिचानवादीसँग सरकारले बिहीबार सकारात्मक वार्ता भएको र आज पुनः वार्तालाई निरन्तरता दिएका हुन्।

कोशी प्रदेश सरकारले भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जवेगुको नेतृत्वमा बनाएको तीन सदस्यीय वार्ता समितिसँग पहिचान पक्षधरका ११ जनाले वार्ता गरेका हुन्।

वार्तामा पहिचान पक्षधरको माग अनुसारको नामकरण र आन्दोलनका क्रममा ज्यान गुमाएका तथा झुटो मुद्दामा फसाइएकाहरूलाई उचित क्षतिपूर्ति दिनुपर्ने विषयमा छलफल भएको किरात राई यायोक्खा केन्द्रीय उपाध्यक्ष एवं वार्ता समितिका वरिष्ठ सदस्य युवराज राईले बताए। उनले प्रदेशको वैकल्पिक नामको विषयमा समेत छोटो कुराकानी भएको जानकारी दिए।

सरकारले औपचारिक पत्र पठाएर आह्वान गरेपछि प्रदेश कोशी प्रदेश पुनः नामकरण संयुक्त सङ्घर्ष समितिले वार्ता गर्ने निर्णय गरेको थियो।

माघ ६ गते बसेको मन्त्रिपरिषद् बैठकले पहिचान पक्षधरसँग वार्ता गर्ने निर्णय गर्दै मन्त्री जवेगुको नेतृत्वमा पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेती सदस्य र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल सदस्य सचिव रहने गरी तीन सदस्यीय समिति बनाएको थियो।

सोही समितिसँग पहिचान पक्षधरले बिहीबार र शुक्रवार वार्ता जारी राखेको छ। वार्तालाई पहिचान पक्षधरले उठाउँदै आएका माग सम्बोधनको पहिलो कदमको रूपमा लिनुपर्ने कोशी प्रदेश सरकारका तर्फबाट गठित वार्ता समितिका संयोजक भौतिक पूर्वाधार विकास मन्त्री कमल जवेगुले बताए।

प्रकाशित: २६ माघ २०८० ०९:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App