१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

महासचिव नियुक्त नगर्ने अडानबाट किन पछि हट्यो शीतल निवास ?

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त भएका छन्। पाण्डेयलाई महासचिव नियुक्तिका लागि गरिएको सिफारिस त्रुटिपूर्ण रहेको जनाउँदै आएका राष्ट्रपति पौडेलले मंगलबार उनलाई नियुक्ति गरेको हो।

सचिव पदमा बहाल रहेका उनलाई महासचिवमा नियुक्ति गर्न नसकिने जनाउँदै शीतल निवासले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले गरेको सिफारिस राख्दै आएको थियो। पाण्डेयले मंगलबार सचिवबाट राजीनामा गरेपछि राष्ट्रपतिले उनलाई महासचिव नियुक्ति गरेका हुन्।

यद्यपि शीतल निवासले तत्कालीन महासचिव भरत गौतमको राजीनामा स्वीकृतिपूर्व नै अर्को नियुक्तिका लागि सिफारिस गरेकोमा पनि प्रश्न उठाएको थियो। पाण्डेयले सचिव पदबाट राजीनामा गरेपछि महासचिवका लागि सिफारिस नगरेसम्म नियुक्ति गर्न नसकिने अडानमा रहेको शीतल निवास त्यसबाट पछि हटेको छ।

‘संसद् सचिवालयको महासचिव मुख्यसचिवजस्तो बढुवा हुने पद होइन। एउटै व्यक्तिलाई दुई पदमा नियुक्त गर्न मिलेन। उहाँलाई महासचिवमा नियुक्त गर्ने भए सचिवबाट पहिला राजीनामा गरेर सिफारिस भएर आउनुपर्ने देखिन्छ। त्यस्तो भएको छैन,’ राष्ट्रपतिका निकटहरूले यसअघि यस्तो दाबी गर्दै आएका थिए।

सभामुख घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना भने पुरानै सिफारिसका आधारमा पाण्डेयको महासचिवमा नियुक्ति हुनु पर्ने अडान राख्दै आएका थिए त्यसले शीतल निवास र संसद् सचिवालयबिचको दूरी बढ्दै गएको थियो। सङ्घीय संसद् सचिवालयका महासचिव भरत गौतमले आठ महिना कार्यकाल बाँकी छँदै मंसिर २४ गते राजीनामा दिएका थिए। उनको राजीनामा राष्ट्रपतिले स्वीकृत गर्नुपूर्व नै पाण्डेयलाई महासचिवमा नियुक्तिका लागि सिफारिस गरिएको थियो।

राष्ट्रपति पौडेलले गौतमको राजीनामा मंसिर २५ गते कार्यालय समय सुरु भएपछि स्वीकृत गरेका थिए। सोही दिन बिहान सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना शीतल निवास पुगेर पाण्डेयलाई महासचिव बनाउन सिफारिस गरेका थिए।

प्रकाशित: २३ माघ २०८० १८:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App