१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

गठबन्धनले देश तहसनहस बनाए, सरकारको विकल्प खोजौं: भट्टराई

<div>फुङलिङमा आयोजीत कार्यक्रम । तस्बिर: नागरिक<br></div>

एमाले सचिव एवं प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले वर्तमान सरकारको विकल्प खोज्नुपर्ने बेला भएको बताएका छन्।

प्रेस चौतारी नेपाल ताप्लेजुङले आइतबार फुङलिङमा आयोजना गरेको पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले गठबन्धन सरकारको विगठन अनिवार्य रहेको बताए।

उनले वर्तमान सरकार हरेक कुरामा असफल हुँदै आएको सुनाउँदै यहीँ असफलतालाई टेकेर व्यवस्था विरोधीहरू सलबलाउन थालेको बताए। भट्टराईले एक देशमा पटक–पटक व्यवस्थाको परीक्षण नहुने दाबी गरे।

कर्मचारीलाई तलब भत्ता खुवाउन समेत डेढ खर्व आन्तरिक ऋण लिनुपर्ने अवस्थामा देश पुगेकोले वर्तमान सरकारको विकल्प खोज्नु अनिवार्य रहेको उनको भनाई थियो।

‘व्यवस्था परिवर्तन सम्भव छैन त्यही भएर व्यवस्थालाई सही रुपले परिचालन गर्न असफल सरकार परिवर्तन गरौँ, गठबन्धनले मिलेर देश तहसनहस बनाए’ उनले भने।

गठबन्धन पक्षधर मान्छे जोगाउने बहानामा सुन काण्ड, भुटानी शरणार्थी काण्ड, ललिता निवास काण्ड र पछिल्लो समयमा अरुण चौधरी सहितका व्यवसायी पक्राउ प्रकरणका बारेमा गहिरो अनुसन्धान गर्न सरकार चुकिरहेको उनले बताए।

उनले भने ‘सरकार अनुसन्धानका लागि के–के न गर्छु भनेर तात्छ, अनि  गठबन्धनका मान्छे मुछिन थाल्छन्, अनुसन्धानका संलग्न अधिकारीको सरुवा गर्छन्, नभए अनुसन्धान फितलो बनाउँछन्।’

व्यवस्था परिवर्तनकारीको गलत मुद्दा उठाउनेलाई फाइदा पुग्ने अवस्थाबाट फर्किएर मुलुक जोगाउन काँग्रेसले आफ्नो कित्ता क्लियर गर्नुपर्ने भट्टराईले बताए। ‘काण्डैकाण्डको कहाली लाग्दो देशको यो अवस्था मुक्त गराउन काँग्रेसले वर्तमान सरकारको विकल्प बारे सोच्नु पर्छ।’ उनले भने।

पृथ्वीनारायण शाह बाहेक नेपालको विकास र समृद्धिका लागि कुनै पनि शाह वंशीय राजाको एक रत्ती पनि योगदान नरहेको भट्टराईको भनाई थियो। ‘राजतन्त्र नेपालको इतिहास हो, त्यो न भविष्य हो न त वर्तमान’ भट्टराईले भने।

पृथ्वीनारायणले छरिएर रहेका राज्यहरूलाई एकीकरण गर्दै ब्रिटिस अपनिवेश विरुद्ध लड्ने उच्च साहस गरेका कारण उनको योगदानलाई मान्न सकिने भट्टराईले बताए।

राजतन्त्रको बहस नेपालका लागि अब तर्कको विषय बन्नै नसक्ने समेत उनले बताए। इतिहासकै सबैभन्दा भ्रष्ट, आर्थिक धराशायी गराउने, अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित राख्न नसक्ने अवस्थाको बनाएर वर्तमान गठबन्धन सरकारले व्यवस्था विरोधीलाई फाइदा पुर्‍याइरहेको भट्टराईको आरोप थियो।

प्रकाशित: २१ माघ २०८० १५:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App