२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

एमालेको धादिङ अधिवेशन स्थगित, झडप हुँदा १ जनाको हात भाँचियो

नेकपा एमाले धादिङको जिल्ला अधिवेशनमा झडप हुँदा १ जना घाइते भएका छन्। बन्द सत्र सुरु हुनुअगावै प्रतिनिधि मनोनयनको विषयमा विवाद उत्पन्न भएपछि झडप भएको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङ्गका अनुसार प्रतिनिधि मनोनयनको विषयमा विवाद र त्यसपछि झडप हुँदा हाललाई अधिवेशन स्थगित गरिएको छ। निर्वाचनको विषयमा भने अहिले छलफल भइरहेको बताइएको छ।

बन्दसत्र सुरु हुनुअगावै अधिवेशन स्थलमा झडप भएपछि एमाले बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेलले आज बिहान विज्ञप्ति जारी गर्दै अधिवेशन स्थगित गरेका छन्।

अध्यक्ष ढुंगेलका अनुसार अधिवेशन स्थलमा जिल्ला कमिटीका सदस्य र नेताहरूमाथि हुलहुज्जत र धक्कामुक्का भएको र त्यसक्रममा पार्टी कार्यकर्ता सन्तोष खनालको हात भाँचिएको छ।

उनले जिल्ला अध्यक्ष भूमिप्रसाद त्रिपाठीले अधिवेशनमा जबरजस्ती प्रस्ताव पेस गर्दै एकलौटी निर्णय भएको घोषणा गर्दा असहज अवस्था सिर्जना भएको विज्ञप्तिमा उल्लेख गरेका छन्।

उनले यो अधिवेशनलाई मर्यादित र विधिसम्मत तरिकाले सम्पन्न गर्न सम्भव नदेखिएकोले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि अधिवेशन स्थगित गरिएको विज्ञप्तिमा उल्लेख गरेका छन्।

प्रकाशित: २१ माघ २०८० १०:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App