१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

स्वदेश फर्किए प्रधानमन्त्री, युगान्डा भ्रमण सफल रहेको भनाइ

प्रधानमन्त्री पुष्पकमल दाहाल युगाण्डा भ्रमण सकेर आज काठमाडौँ आइपुगेका छन्। युगान्डाको कम्पालामा सम्पन्न भएको असंलग्न आन्दोलनको १९ औं शिखर सम्मेलनमा सहभागी भएर आज बिहान मात्रै कतार एयरवेजबाट दोहा हुँदै काठमाडौँ आइपुगेका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवरतण गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले आफ्नो कम्पाला भ्रमणबारे जानकारी गराए।

उनले असंलग्न आन्दोलनले कैयौ मुलुकहरूको राजनीतिक स्वतन्त्रताको अभिवृद्धि, औपनिवेशिकताको अन्त्य र सार्वभौमसत्ताको संरक्षण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए।

उनले नेपालले सार्वभौम समानता, आपसी सद्भाव, आपसी लाभ र द्वन्द्वको शान्तिपूर्ण समाधानको आधारमा सन्तुलित र स्वतन्त्र परराष्ट्र नीति अवलम्वन गर्ने भन्दै असंलग्न आन्दोलनका सिद्धान्तहरु र यसका मूल्य तथा  मान्यता हाम्रा लागि महत्वपूर्ण हुनुका साथै परराष्ट्र नीतिको एक आधारभूत सिद्वान्त रहेको उल्लेख गरे।

कोभिड महामारीपश्चात् आर्थिक पुनरोत्थानले यथोचित गति लिन नसकेको भन्दै उनले  सन् २०१९ मा बाकुमा भएको १८औं सम्मेलनयता कोभिड–१९ को कारण विश्वले मृत्यु, अभाव तथा बञ्चितिकरण, विस्थापन लगायतका चुनौतीहरूको सामना गर्नुपरेको तथा हाल बढिरहेको भू–राजनीतिक ध्रुवीकरण तथा लडाइँ र जलवायु परिवर्तनको कारण साना तथा विकासशील राष्ट्रहरू थप मारमा परिरहेको विषयमा चिन्ता व्यक्त गरे।

नेपाल आफैँ अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने क्रममा रहे पनि विभिन्न बहुआयामिक चुनौतीहरुको भूमरीमा परेको भन्दै उनले अतिकम विकसित मुलुकहरुलाई विकास साझेदारहरुको बलियो साथ र सहयोगको आवश्यकता रहेको परिप्रेक्ष्यमा असंलग्न आन्दोलनले दिगो विकासका लक्ष्यहरू २०३०, पेरिस सम्झौता  र अन्य अन्तर्राष्ट्रिय रूपमा सहमति भएका विकासका लक्ष्यहरू समयमै हासिल गरी विश्वका विकासोन्मुख मुलुकहरूको आर्थिक विकास र समृद्वि प्राप्त गर्नका लागि जोड दिनुपर्दछ भन्ने विषय जोडदार रूपमा उठाएको जानकारी गराए।

त्यसैगरी विश्व आर्थिक तथा वित्तीय संरचनालाई विकासोन्मुख मुलुकहरूको आर्थिक उन्नतिका लागि आवश्यक आर्थिक स्रोत सुनिश्चितता हुने गरी सुधार गरिनुपर्ने तथा संयुक्त राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय व्यापार संरचना पनि विकासोन्मुख देशहरूको हित अनुकूल हुने गरी सुधार गर्न असंलग्न आन्दोलनले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएको बताए।

प्रधानमन्त्री दाहाल गत माघ ४ मा युगान्डा गएका थिए।

प्रकाशित: ७ माघ २०८० ०४:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App