१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

रौतहटका दुई पालिकामा उपमेयरले नै लगाए ताल्चा

पछिल्ला दिनहरूमा स्थानीय तहका जनप्रतिनिधिबीचको द्वन्द्व चर्किँदै गएको छ। नगरपालिका होस् वा गाउँपालिका विशेषगरी प्रमुख र उपप्रमुखहरूबीच नै द्वन्द्व हुने गरेको छ।

यस्तै किसिमको द्वन्द्व रौतहटका दुई वटा नगरपालिकामा चर्किएको छ। द्वन्द्व बढेपछि उपमेयरहरूले नै नगरपालिकामा ताल्चा लगाइदिएका छन्।

कटहरिया नगरपालिका र गरुडा नगरपालिकामा व्यापक अनियमितता भएको भन्दै नगर उपप्रमुख कै अगुवाइमा ताला बन्दी गरिएको हो।

गत शुक्रवार देखि गरुडा नगरपालिकामा र सोमबारदेखि कटहरिया नगरपालिकामा उपमेयर कै नेतृत्वमा जनप्रतिनिधिहरूले ताला लगाएका हुन्।

गरुडा नगरपालिकाका नगर उपप्रमुख पुनम चौधरी र कटहरिया नगरपालिकामा उपप्रमुख रितादेवि यादवको अगुवाइमा वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरूले नगरपालिकाको मूल ढोकामै तालाबन्दी गर्दै नपाको सम्पूर्ण काम काज प्रभावित पारेका हुन्।

आफ्नो हक अधिकारको माग गर्दै गरुडा नगरपालिकामा उपप्रमुख पुनम चौधरी र वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरूले तालाबन्दी गरेका छन्। नगर सभाको निर्णय सार्वजनिक गर्नुपर्ने, आर्थिक २०७९/८० को खर्च विवरण कार्यपालिका बैठकमा पेस गर्नुपर्ने, करारका कर्मचारी खारेज गर्नुपर्ने, उपप्रमुख र वडा अध्यक्षहरूको हक अधिकार दिनुपर्ने लगायतका माग गर्दै ताला लगाएका हुन्।

यता कटहरिया नगरपालिकाकी उपप्रमुख रितादेवि यादवले नगरपालिका प्रमुख अजय प्रकाश जयसवालको हैकमवाद प्रवृत्तिले नगरपालिकामा भ्रष्टाचार मौलाएको भन्दै ८ बुँदे सर्त राखेर नपामा ताला बन्दी गरेको उप प्रमुख रिताले बताइन्।

प्रकाशित: २४ पुस २०८० ०५:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App