१६ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा: राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा भएको बताएका छन्।

काठमाडौं महानगरपालिकाद्धारा मंगलबार आयोजित तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले कक्षाकोठाको शिक्षाले विद्यार्थीको आँखा र मस्तिष्क खुलाउने र खेलकुदले मस्तिष्क, हातखुट्टा र मनलाई क्रियाशील र अनुशासित बनाउने बताएका हुन्।

उनले भने, ‘अतिरिक्त क्रियाकलाप र खेलकुद शिक्षालाई पूर्ण बनाउने र विद्यार्थीमा अभिवृत्ति, सिप, ज्ञान, सामाजिक मूल्यको आर्जन र कार्य तत्परता विकास गर्ने खुला मैदान हुन्।’

शिक्षण सिकाइ विद्यार्थीका लागि शरीरमा मुटुजस्तै र शिक्षण सिकाइमा खेलकुदको समाविष्टता स्वनिर्भरता र सशक्तीकरणको प्राण भएको उनले बताए। उनले भने, ‘खेलकुदकै माध्यमले युवा विद्यार्थीले आफ्नो आत्मविश्वास, सकारात्मक अनुभूति र अन्तरनिहीत प्रतिभाको विकास गर्न सक्छन्। खेलकुद क्षेत्रको विकासका लागि संघ, प्रदेश र स्थानीय तीन तहबाट यसमा यथेष्ट प्रयत्नहरू होउन् भनेर म सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउन चाहन्छु।’ 

राष्ट्रपति पौडेलले पुस्तक र विद्यालयको सीमाको सिकाइले मात्र विद्यार्थीलाई पूर्ण बनाउन नसक्ने भन्दै यसका लागि परिवार, समाज र परिवेश समावेश हुने, खुला गरेर सिक्ने तथा गरिखाने पुस्तकविहीन शिक्षा  आवश्यक रहेको उनले बताए। उनले युवा विद्यार्थीको खेलकुदमा संलग्नता समृद्धि, सफलता र समाज निर्माणको आधार भएको बताउँदै युवा विद्यार्थीहरू शिक्षामा निरन्तर अग्रसर हुँदा उनीहरूमा नयाँ विचार र नवप्रवर्तन क्षमता पनि विकास हुने स्पष्ट पारे। 

खेलकुद जस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीहरूलाई भविष्यमा जीवनयापनका लागि सक्षम बनाई मुलुकलाई प्रगतिशील बनाउन सहयोग गर्ने राष्ट्रपति पौडेलको धारणा थियो। उनले भने, ‘खेलकुदले युवालाई शारीरिक रूपमा स्वस्थ र कामका लागि तयार बनाउँछ। यो उनीहरूलाई ऊर्जा, सजीवता र सामर्थ्य दिने माध्यम तथा स्वास्थ्य ठिक राखी शिक्षामा अग्रसर हुने र आफ्नो जीवन मार्गमा सफल बनाउने कारक पनि हो।’

राष्ट्रपति पौडेलले खेलकुदले सामाजिक जीवनलाई समृद्धिपूर्ण  बनाई सांस्कृतिक अनुभूति प्रदान गर्ने उल्लेख गर्दै खेलकुदमा भाग लिने विद्यार्थी एक अर्काप्रति सहयोगी भई सामूहिक प्रयत्न र सामाजिक भावनातर्फ अग्रसर हुन सक्ने बताए। 

प्रकाशित: १७ पुस २०८० ०७:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App