९ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

बालकुमारी घटना बाहिर देखिएजस्तो छैन: प्रधानमन्त्री दाहाल

फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहालले बालकुमारीमा दुई युवाको मृत्यु र मन्त्रीको गाडी जलाइएको प्रकरण लोकतन्त्र र गणतन्त्र विरुद्धको डिजाइन भएको बताएका छन्।

सोमवार नेपाली कांग्रेसले मेलमिलाप दिवसको अवसरमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै प्रधानमन्त्री दाहालले बालकुमारी घटना लोकतन्त्र र गणतन्त्र विरुद्धको डिजाइनको रुपमा भएको आफूले अनुमान गरेको बताएका हुन्।  

उनले आफूले सम्बन्धित निकायसँग घटनाबारे ब्रिफिङ लिँदा सामान्य नलागेको बताए। उनले सो घटना बाहिर देखिएजस्तो मात्रै नभएको बताए। घटनाको अन्तर्यमा अरु नै केही कुरा भएको उनको भनाई छ। उनले मृतकका परिवारलाई रोजगारी दिने र सहिद घोषणा गर्ने कुरा राजनीतिक तहमा छलफल भइरहेको पनि बताए। उनले जनतालाई निराशा बाँडिएको भन्दै देशमा अध्याँरो बाहेक केही नदेखाउनेहरु राष्ट्रवादी हुन नसक्ने बताए।

उनले भने, ‘अस्तिको घटनाको कुरा भन्ने हो भनेपनि यस्तो त हामी कसैले पूर्वानुमान गर्न सक्ने खालको थिएन। म त्यो दिन पूर्व निर्धारित कार्यक्रममा दोलखामा थिएँ। आउँदा आउँदा नै मैले थाहा पाएँ। पाएपछि अविलम्ब तुरुन्तै अर्को दिन बिहान घटनाक्रमको ब्रिफिङ लिइयो। म अहिले सबै भन्न चाहन्न। केही चिज गम्भिर लागेको छ। सामान्य छैन यो। त्यो दुईजना युवाहरुको जस्तो परिवेशमा, जसरी हत्या भएको छ। ईपिएसमा जे–जस्ता गतिविधि भएका छन्। गाडी जलाउने जस्तो–जस्तो गतिविधि भएको छ। यो थिङ्स आर नट ह्वाट दे सिम् भनेजस्तो छ। चिज त्यस्तो छैन। जस्तो देखिएको छ। त्यो भित्र अर्कै केही छ भन्ने मैले अनुभुत गरेको छु। यो कहीँ लोकतन्त्र र गणतन्त्र विरुद्धको डिजाइन कतै त छैन भन्ने मेरो अहिले कुनै प्रुफ होइन। त्यसैकारण मैले तुरुन्त नै त्योसँग सम्बन्धितलाई निलम्वन गर्ने र उच्चस्तरिय छानविन आयोग बनाउनुपर्छ यसलाई। सामान्य छानवीन समितिले मात्रै पुग्दैन भन्ने निष्कर्ष निकालेर मृतकका परिवारलाई समेत बालुवाटार बोलाएर गम्भिर ढंगले समिक्षा गरिएको छ। आज बिहान मात्रै क्याबिनेटबाट हामीले सरकारले गर्नुपर्ने र गर्न सक्ने जति काम तुरुन्तै गरिएको छ। परिवारलाई रोजगारी दिने कुरा, सहिद घोषणाका कुरा छन् त्यो हामी राजनीतिक तहमा छलफल गर्दैछौँ। सरकारले पहल लिएकै छ नि चाहे भुकम्प होस्। चाहे यस्ता घटनाहरुमा। यो भाष्य के त्यो गाडी जलाउने बेलामा मन्त्रीलाई नै भित्रै जलाउनुपथ्र्यो छोडेछन् भन्ने भाष्य के भाष्य हो यो? आज मैले आज एउटा न्युज हेरेँ शेरबहादुरजी, मेरो र केपी ओलीको। यिनलाई गोलि ठोकेर टाउको काटेदेखि म २०÷२० लाख दिन्छु भन्ने प्रचार भइराखेको छ। के भाषा हो यो? के संस्कार हो यो? लोकतन्त्रमा यस्तो हुन्छ र? जनतलाई निराशा बाँड्ने। अध्याँरो देखाउने। अध्याँरो बाहेक देशमा केही छैन भन्ने कोही राष्ट्रवादी हुन सक्दैन। जनतालाई आशा देखाउन सक्नुपर्छ राजनीतिक नेतृत्वले। भएका कमी स्वीकार्न पनि आँट गर्नुपर्छ। गरेका राम्रा काम स्थापित गर्न पनि आँट गर्नुपर्छ। हाम्रो अगाडी त्यही जिम्मेवारी छ।’

प्रकाशित: १६ पुस २०८० ११:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App