११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अधिकार प्रयोग गर्न नपाउँदा संघीयता कमजोर भयो : सांसद पराजुली

कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले प्रदेश र स्थानीय तहले एकल अधिकार प्रयोग गर्न नपाउँदा संघीयता नै कमजोर भएको बताएका छन्। बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी पराजुलीले संविधानअनुसार प्रदेश र स्थानीय तहहरूले एकल अधिकार प्रयोग गर्न नपाउँदा  संघीयता नै कमजोर भइरहेको बताएका हुन्।

पराजुलीले मुख्य दलका शीर्ष नेताहरूले प्रदेश र स्थानीय तहलाई अधिकार दिने विषयमा कुनै चासो नदेखाएर संघीयताविरोधी शक्तिहरूलाई बल पुर्‍याइरहेको आरोपसमेत लगाए। पराजुलीले भने, ‘संविधान कार्यान्वयन गरेर प्रदेश र स्थानीय तहलाई अधिकार दिने विषयमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले चासो नदेखाएर संघीयताविरोधी शक्तिहरूलाई बल पुर्‍याइरहेको हो कि भन्ने आशंका पैदा भएको छ।’

पराजुलीले प्रदेशका मुख्यमन्त्रीको सुरक्षाकर्मीसमेत संघ सरकारकै भरमा पर्नुपरेको बताए। उनले भने, ‘मुख्यमन्त्रीले एकजना सुरक्षाकर्मी राख्नुपरे संघ सरकारकै निगाहा पर्खनुपर्ने हुन्छ। योभन्दा विडम्बना के होला।’

सामान्य विषय पनि केन्द्रकै भर पर्नुपरेका कारण प्रदेश सरकारले सरकारका रूपमा काम गर्न नपाएको उनले बताए। पराजुलीले संविधान कार्यान्वयन गरी अधिकार प्रदेश र स्थानीय तहलाई हस्तान्तरण नगरेसम्म वास्तविक संघीयता नआउने बताए।

एकातर्फ संघीयता कार्यान्वयन गर्न प्रमुख दलका शीर्ष नेतृत्वले भूमिका नखेल्ने र अर्कातर्फ प्रदेशमा सरकार ढाल्ने र बनाउने दाउपेच चलिरहँदा संघीयताप्रति नै वितृष्णा पैदा भइरहेको पराजुलीले बताए। उनले विकास निर्माणका काममा देखिएको बेथितिले सर्वसाधारणले सास्ती खेप्नुपरेको बताए।

पराजुलीले विकासका काम सुरु गरिने सडक तथा संरचना भत्काइने तर बनाउन आलटाल गर्ने प्रवृत्ति बढ्दै जाँदा जताततै समस्या देखिएको बताए। विराटनगर महानगरपालिकाका पूर्वमेयरसमेत रहेका पराजुलीले आफ्ना पालमा निर्माण सुरु गरिएका आयोजनालाई हालका मेयरले निर्माणमा बेवास्ता गरेको आरोपसमेत लगाए।

विराटनगरको हिमालय रोडमा निर्माण गरिएको संरचना भत्काउने विराटनगरका मेयर नागेश कोइरालाले अभिव्यक्ति दिएको भन्दै पराजुलीले एक करोड ६३ हजार रुपैयाँको लागतमा निर्माणाधीन संरचना भत्काउन खोजिएको भन्दै आपत्तिसमेत जनाए।

अघिल्लो कार्यकालमा सुरु गरिएका योजना निर्माण सम्पन्न गर्न बेवास्ता गर्ने, निर्माणाधीन संरचना भत्काउँछु भन्ने र अघिल्लो कार्यकालमा दातृ निकाय जाईकासँग सम्झौता गरिएको तीन अर्ब बढीको खानेपानी आयोजना, सिंघिया करिडोर निर्माण, गुद्रीको व्यावसायिक भवनलगायतका आयोजना कार्यान्वयनमा उदासीनताले विराटनगरको समग्र विकास नै प्रभावित हुने अवस्था आएको पराजुलीले बताए।

प्रकाशित: १३ पुस २०८० ०६:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App