२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

वर्ष दिनको ‘उपलब्धी’ सुनाउँदै प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले देशवासीलाई मंगलबार (आज) सरकारको एक वर्षको कार्यकालको उपलब्धी सुनाउने भएका छन्। सरकारको एक वर्षको कार्यकाल मंगलबारै पूरा हुँदै छ। प्रधानमन्त्रीले सो सम्बोधनमा सरकारले गरेको कामबारे चर्चा गर्ने भएका हुन्।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सरकारले एक वर्षमा गरेको कामको विवरण विस्तृत रूपमा तयार गरिएको छ। यसअघि प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालय तथा सरकारी निकायबाट एक वर्षमा गरिएको कामको विवरण विस्तृत रूपमा मागेको थियो। 

प्रधानमन्त्री कार्यालयबाट माग गरिएअनुसार सबै मन्त्रालय तथा निकायबाट विवरण प्राप्त भइसकेको र ती विवरणलाई एकीकृत गर्ने कामसमेत पूरा भइसकेको बताइएको छ। यहाँसम्म कि एक वर्षको कार्यकालमा अख्तियार र राष्ट्रिय सतर्कता केन्द्रबाट गरिएका कामको विवरणसमेत तयार गरिएको छ।  

प्रधानमन्त्री कार्यालयले गत असोजदेखि हरेक महिना मन्त्रालयले गरेको कामको विवरण समेट्दै रिपोर्ट कार्ड बनाउन सुरु गरेको छ। उक्त रिपोर्ट कार्डलाई आधार बनाएर सरकारको एक वर्षको कामको विवरण तयार गरिएको प्रधानमन्त्री कार्यालय स्रोतको भनाइ छ। २०७९ पुस १० गते दाहाल प्रधानमन्त्रीको रूपमा नियुक्त भएका थिए। त्यसको भोलिपल्ट पुस ११ गते उनले पहिलो मन्त्रिमण्डल पुनर्गठन गरेका थिए। त्यसयता अहिलेसम्म दाहालले १२ पटक मन्त्रिमण्डल पुनर्गठन गरिसकेका छन्। दाहालले अहिलेसम्म २०७९ पुस ११, माघ ३, माघ १४, माघ २३, फागुन १४, फागुन १६, चैत १७ गते मन्त्रिमण्डल विस्तार गरिसकेका छन्।  

यसैगरी उनले २०८० वैशाख ३, वैशाख २१, वैशाख २४, जेठ ९ र साउन २८ गते मन्त्रिमण्डल विस्तार गरे। दाहाललाई सुरुमा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले साथ दिएका थिए। यी पार्टीलाई सहभागी गराएर दाहालले २०७९ पुस ११ गते मन्त्रिमण्डल बनाएका थिए। त्यसको एक महिनापछि रास्वपा सरकारबाट बाहिरियो। २०७९ फागुन १३ गते राप्रपा सरकारबाट बाहिरियो। त्यसको दुई दिनपछि फागुन १५ गते एमाले सरकारबाट बाहिरियो। २०७९ चैत १७ गते गरिएको पुनर्गठनमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी (नेकपा एस), जनमत र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकारमा सहभागी भए। हाल सरकारमा माओवादीसहित कांग्रेस, जसपा, लोसपा, नेकपा एस, जनमत र नागरिक उन्मुक्ति पार्टी (नाउपा) सहभागी छन्।  

एक वर्षको कार्यकालमा दाहालले दुईपटक विश्वासको मत लिइसकेका छन्। २०७९ पुस २६ गते पहिलोपटक कांग्रेस, एमाले, रास्वपा, जसपा, लोसपा, जनमतलगायत सबै दलले विश्वासको मत दिए। तर जनमोर्चा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले सरकारको विपक्षमा मत दिएका थिए। दाहालले दोस्रो पटक २०७९ चैत ६ गते विश्वासको मत लिएका थिए। जसमा उनलाई एमाले र राप्रपाले विश्वासको मत दिएका थिएनन्।

प्रकाशित: १० पुस २०८० ०१:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App