१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

देशले जित्न बाँकी छ: महामन्त्री शर्मा

बागलुङ क्षेत्र नं २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री शर्मा। तस्बिर : नागरिक ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले जित्ने–हार्नेभन्दा पनि देशले जित्ने गरी काम गर्नुपर्ने बताएका छन्। 

नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नं-२ बागलुङको प्रथम सम्मेलनको शनिबार बुर्तिबाङ बजारमा उद्घाटन गर्दै महामन्त्री शर्माले भने, ‘निर्वाचन जित्ने–हार्ने र सरकारमा हुने–नहुने सामान्य कुरा हुन्। देशले जित्ने कुरा महत्वपूर्ण हो। हामीले देशले जित्ने गरी काम गर्नुपर्छ। हामीले समुन्नत बनाउन सके मात्रै देशले जित्छ।’

महामन्त्री शर्माले एक निर्वाचन सकिएपछि फेरि अर्को निर्वाचन नतिजाबारेमा सोचेर बस्न नहुने बताए। मिसन ८४ भनिरहेको सुन्छु, एमालेले भनिरहेको छ, लामिछानेजी नयाँ आउनुभएको छ, उहाँको पनि त्यस्तै छ’, उनले भने, ‘हामीले देशको समृद्धिका लागि के गर्न सकिन्छ भनेर चिन्ता गर्ने हो। लोकतन्त्रमा निर्वाचन आइरहन्छ।’

आगामी निर्वाचनको नभई आत्मसम्मानसहितको विकास र समृद्धिको चिन्ता गर्नुपर्ने शर्माका भनाइ छ। पढाइमा निरन्तर ध्यान दिने व्यक्ति परीक्षा पनि राम्रोसँग उत्तीर्ण हुन्छ भन्दै उनले अहिले राम्रो काम गर्न सके निर्वाचन आफैं जितिने वातावरण बन्ने बताए। नेपालको समृद्धिमा यहाँका नागरिकलाई मालिक बनाउने गरी योजना ल्याउन सक्नुपर्ने उनको भनाइ छ।

‘हामीले यहाँको माथिबाट बग्ने उत्तरगंगा हाइड्रो पावर बनाउँदै गर्दा झापाको विश्वप्रकाशले सेयर हाल्ने तर यहाँका नागरिकले बत्ती मात्रै देख्ने होइन, यहाँका नागरिकले पनि सेयर हालेर त्यसबाट आम्दानी हुन थालेपछि आफ्नो अरब मुलुकमा रहेको छोरालाई घर फर्क भन्ने वातावरण बनाउनुपर्छ’, उनले भने, ‘हामीले खोजेको समृद्धिमा सबै जनता मालिक हुने हो।’

देशमा भूकम्पले भन्दा कमजोरीले घर भत्किएको उनको भनाइ थियो । ‘रुकुम र जाजरकोटमा भूकम्पले भन्दा हाम्रा कमजोरीले घर भत्किएका छन्’, ‘हामीले नागरिकका घर कसरी नभत्किने गरी बनाउन सकिन्छ भन्ने विषयमा बहस गर्न जरुरी छ।’ राजा हुँदा देशका नौ प्रतिशत नागरिकका घरमा पुगेको विद्युत् अहिले ९५ प्रतिशतमा पुगेको भन्दै शर्माले यो व्यवस्थामा केही पनि भएन भन्नु गलत भएको बताए।

‘हामीले लामै यात्रा तय गर्नुपर्ने छ, धेरै काम गर्नुपर्ने छ, तर अहिलेसम्म केही पनि भएन भन्नु गलत हो। केही भएका छन्। त्यहाँबाट हामी अगाडि बढ्नुपर्छ’, उनले भने। अब सतीले सरापेको होइन, भगवान् गौतमबुद्धले आशीर्वाद दिएको देश हो भनेर चिनाउनु जरुरी रहेको उनले बताए।

स्थानीय सरकारका रूपमा काठमाडौं र धरानका चर्चा गरिरहँदा ललितपुरलाई पनि भुल्न नहुने बताए। ‘बालेनजीले राम्रै काम गर्नुभएको छ, कांग्रेसको मञ्चबाट उहाँको कामको प्रशंसा गर्दा फरक पर्दैन, हर्क साम्पाङले पानी ल्याउनुभएको छ’, उनी भन्छन्, ‘यति भन्दै गर्दा नेपाली कांग्रेसबाट निर्वाचन जितेका ललितपुरका चिरीबाबु महर्जनले पनि राम्रो काम गर्नुभएको छ, त्यसलाई भुल्न हुँदैन।’ शर्माले साना कुरामा उत्तेजित हुने र निराश हुने बानी हटाउन कार्यकर्तासँग आग्रह गरे।

प्रकाशित: ३० मंसिर २०८० १२:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App