१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

ओलीलाई ‘आई लभ यु केपी बा’ भन्दै युवतीले खैँजडी बजाएपछि...

सिन्धुली कलाघरका युवती कलाकारहरूसँग खैँजडी बजाएर रमाउँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली।

बैतडी जिल्लाको झुलाघाटबाट पाँचथरको चिवाभञ्ज्याङसम्म नेकपा एमालेले आयोजना गरेको सङ्कल्प यात्राको क्रममा मङ्गलवार सिन्धुलीको खुर्कोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भव्य स्वागत भएको थियो।

रामेछाप हुँदै सिन्धुलीको खुर्कोटबाट मध्य पहाडी राजमार्ग भएर ओखलढुंगातर्फ यात्रा तय गरेका ओलीलाई सिन्धुलीका युवतीले आइदिनुस् यता जनताको नेता आइलभयु केपी बा भन्दै भजन गाएपछि ओली मख्ख परेर भजनको खैँजडी हातमा लिएर बजाएका थिए।

छोटो समयका लागि मात्रै तय भएको कार्यक्रममा सिन्धुली कलाघरका एउटै पोसाकमा सजिएका सुन्दरी कलाकारले आइलभयु केपी बा भन्दै भजन गाएका थिए।

आर्थिक विकास र देशलाई रूपान्तरण गर्न अभियान सुरु भएको भन्दै कलाकारले ओलीलाई भजन गाएर मख्ख पारेपछि ओलीले पनि कलाकारसँगै खैँजडी बजाएका हुन्।

सङ्कल्प यात्राका क्रममा सिन्धु खुर्कोटमा आएका ओलीले देशको विकास एमालेले मात्रै गर्न सक्ने जिकिर गरे। उनले स्थानीय आवश्यकतालाई ध्यान दिएर विकासको खाका बनाइने बताए।

एमालेबाहेकको नेतृत्वबाट देशको विकास सम्भव नहुने उनको भनाइ थियो। अध्यक्ष ओलीले सुनकोसी मरिण डाइभर्सन आयोजनाले प्रभावित माझी समुदायलाई आधुनिक तरिकाले व्यवस्थापन गरिने बताए।

‘पुरानै तरिकाले होइन नयाँ तरिकाले उहाँहरूको पेसा जीविकालाई ध्यानमा राखेर आयोजनाको निर्माण गरिनेछ,’ पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले भने।

अध्यक्ष ओलीलाई सुनकोसी मरिण डाइभर्सन आयोजनाको हालसम्मको प्रगतिका सन्दर्भमा आयोजना प्रमुख मित्र बरालले संक्षिप्त जानकारी गराएका थिए। तराईका ६ जिल्लामा सिँचाइ सुविधा पुर्‍याउन सरकारले निर्माण गर्दै गरेको निर्माणाधीन सुनकोसी मरिण डाइभर्सन आयोजनाको नेकपा एमालेका अध्यक्ष ओलीले स्थलगत अवलोकन गरेका हुन्। उनले निर्माणाधीन सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ड्याम छेत्रको स्थलगत गरेका थिए ।

आयोजनाको अटोमेटिक टनेल बोरिङ मेसिन (टिबिएम) बाट १३ दशमलव ३ किलोमिटर टनेल निर्माण अन्तिम चरणमा पुगेको छ भने खुर्कोटस्थित सुनकोसी नदीमा बाँध निर्माण कार्य धमाधम भइरहेको छ।

यस आयोजनाबाट ३१.०७ मेगावाट विद्युत् उत्पादनसँगै तराईका विभिन्न जिल्लाका १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने यस बहुउद्देश्यीय आयोजनाको २०७७ फागुन २० गते तत्कालीन समयमा प्रधानमन्त्रीसमेत रहेका ओलीले शिलान्यास गरेका थिए।

यस्तै मध्य पहाडी लोकमार्गअन्तर्गत पर्ने विभिन्न १० नमुना सहरमध्येको एक खुर्कोटमा निर्माण थालिएको आयोजनाको समेत अध्यक्ष ओलीले अवलोकन तथा चासो व्यक्त गरेका छन्।  

गत आर्थिक वर्ष २०६७/६८ सालबाट स्थानीयको ६ सय ६८ रोपनी जग्गा लिएर करोडौँ रुपैयाँ खर्चेर निर्माण थालिएको योजनाका कुनै पनि काम पूरा हुन नसक्नुको कारण बारे आयोजना र स्थानीयसँग ओलीले छलफल समेत गरे। उक्त आयोजनाले एक दशक पूरा गर्दासमेत कुनै गति लिन भने सकेको छैन।

यात्राका क्रममा रामेछाप हुँदै खुर्कोट आइपुगेका ओलीले वरिष्ठ पत्रकार तथा सहिद सम्झना दाहालका पिता शेषराज दाहालको २ थान पुस्तक विमोचन समेत गरे। ओलीले राष्ट्रिय महत्त्वका साथ हेरिएको चियाबारी–खुर्कोट सुरुङ मार्ग र सिन्धुली महाभारत क्षेत्रकोकै प्रमुख नगदे बाली जुनारका समस्याबारे समेत जानकारी लिएका छन्।

स्थानीयले सुरुङ मार्ग र जुनारको विषयमा ज्ञापनपत्रसमेत बुझाएका छन्। ज्ञापनपत्र बुझ्दै ओलीले सबै मागहरूको अध्ययन गरी देश विकास र समृद्धिको खाका बनाउने स्पष्ट पारे।

प्रकाशित: २७ मंसिर २०८० ०२:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App