२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

एमालेलाई ढुंगा हानेर पहिचान स्थापित हुँदैन: महासेठ

विराटनगरमा पत्रकार सम्मेलन गरी संकल्प यात्राबारे जानकारी दिँदै एमाले नेताहरू। तस्बिर: चुमन बस्नेत/नागरिक

नेकपा एमाले कोसी प्रदेश इन्चार्ज रघुवीर महासेठले एमालेलाई ढुंगा हानेर पहिचान स्थापित नहुने बताएका छन्। एमालेको कोसी प्रदेशमा हुने संकल्प यात्राबारे जानकारी दिन विराटनगरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा महासेठले एमालेलाई ढुंगा हानेर पहिचान स्थापित नहुने बताएका हुन्।

एमालेको झुलाघाट-चिवा समृद्धिका लागि संकल्प यात्रा कोसी प्रदेश प्रवेश गर्ने दिन पहिचान पक्षधरले बन्दको आह्वान गरेको भन्दै महासेठले एमालेलाई अवरोध गरेर नभई सहकार्य गरेर आफ्ना मुद्दा स्थापित गर्न पहिचान पक्षधरलाई सुझाव दिए।

महासेठले एमालेलाई बाइकट गरेर पहिचान स्थापित हुन्छ भन्ने मान्यता राखिएको भए त्यो सम्भव नभएको पनि स्पष्ट पारे। ‘एमालेलाई अवरोध गरेर, एमालेका कार्यकर्तालाई ढुंगा हानेर पहिचान स्थापित हुँदैन,’ उनले भने, ‘छलफल, सहमति र सहकार्य गरेर आफ्ना मुद्दालाई स्थापित गर्न पहिचान पक्षधरलाई आग्रह छ।’

महासेठले कसैले बन्दको आह्वान गर्दैमा एमालेको समृद्धि यात्रा नरोकिने स्पष्ट पारे। महासेठले भने, ‘कसैले बन्द गर्दैमा हाम्रो समृद्धिको यात्रा रोकिँदैन, हाम्रो शान्तिपूर्ण रूपमा आयोजित कार्यक्रम नेपालको मध्यपहाडी क्षेत्रका समस्या बुझ्ने र त्यहाँका समस्या समाधान कसरी गर्ने विषयमा केन्द्रित छ। यो कुनै पक्ष वा कुनै पार्टीको विरोधमा गरिएको होइन।’

उनले प्रदेशको नामकरणको असन्तुष्टिलाई प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलबीच सहमति गरी समाधान खोज्न सकिने र त्यसका लागि एमाले पनि तयार रहेको स्पष्ट पारे।

नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले एमालेको समृद्धि यात्रासँग पहिचानवादीको माग नजोडिने बताए। राईले एमालेलाई अवरोधको प्रयास गरे पहिचानवादीको मुद्दा फिक्का मात्रै होइन, अर्थहीन हुनजाने धारणा राखे।

राईले भने, ‘एमालेको कार्यक्रमसँग पहिचानको माग जोडिँदैन। एमालेलाई रोके पहिचानको मुद्दा फिक्का मात्रै होइन, अर्थहीन हुन्छ।

बन्द आधिकारिक रूपमा घोषणा गरिएको हो भने तत्काल फिर्ता लिन राईले आग्रह गरे। नक्कली पहिचानवादीले अवरोध गर्ने प्रयास गरेको भए चाँडै उनीहरूको मुखुण्डो उत्रने पनि राईले बताए। पहिचानका आधारमा प्रदेशको नाम संशोधनका लागि एमालेले ढोका खुला राखेको बताउँदै राईले अवरोध, बन्दजस्ता कार्यक्रम फिर्ता लिएर संवाद र छलफलका माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरे।

एमालेको समृद्धिका लागि संकल्प यात्रा मंसिर २६ गते रामेछापको मन्थली हुँदै घुर्मीबाट कोसी प्रदेश प्रवेश गर्दै छ। कोसी प्रदेशका विभिन्न जिल्लामा चार सय २५ किलोमिटर यात्रा गरेर पुस १ गते पाँचथरको चिवा भन्ज्याङ पुगेर समापन हुने जनाइएको छ।

प्रकाशित: २४ मंसिर २०८० ०२:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App