नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले आउँदो माघ २५ गते इंग्ल्यान्डविरुद्ध खेल्दै टी–२० विश्वकपमा तेस्रो पटक सहभागिता जनाउनेछ। भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्न लागेको १०औँ संस्करणको आईसीसी टी–२० पुरुष विश्वकपमा कूल २० टोली प्रतिस्पर्धामा छन्।
समूह ‘सी’ मा परेको नेपालले इंग्ल्यान्ड र वेस्ट इन्डिजजस्ता दुई–दुई पटक विश्वकप जितिसकेका क्रिकेट महाशक्तिसँग प्रतिस्पर्धा गर्नेछ। त्यसैले नेपालको तेस्रो विश्वकप सहभागिता केवल सहभागितामै सीमित नभई उत्साह, चुनौती र सम्भावनाले भरिएको रहने अपेक्षा गरिएको छ।
नेपालले पहिलो पटक सन् २०१४ मा विश्वकप खेलेको थियो। त्यसपछि ठीक १० वर्षपछि सन् २०२४ मा मात्र पुनः विश्वकपमा स्थान बनाउन सफल भयो। अब भने नेपाल लगातार दोस्रो पटक विश्वकप खेल्दै, समग्रमा तेस्रो सहभागिताको यात्रामा छ।

सन् २०१४: डेब्यू विश्वकपमै ऐतिहासिक छाप
नेपालले सन् २०१३ मा युएईमा आयोजित आईसीसी टी–२० विश्वकप छनोटबाट पहिलो पटक विश्वकपको ढोका खोलेको थियो। उक्त छनोटमा १६ टोली सहभागी थिए, जहाँ शीर्ष ६ टोलीले विश्वकप खेल्ने अवसर पाउने व्यवस्था थियो।
समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै प्लेअफ पुगेको नेपाल छैटौँ स्थानमा रहँदै सन् २०१४ को विश्वकपका लागि योग्य भयो। त्यो विश्वकप बंगलादेशले आयोजना गरेको थियो।
पारस खड्काको कप्तानीमा रहेको नेपाली टोली समूह ‘ए’ मा बंगलादेश, हङकङ र अफगानिस्तानसँग परेको थियो।
डेब्यू खेलमै नेपालले हङकङलाई ८० रनले पराजित गर्दै विश्व क्रिकेटलाई चकित पार्यो। त्यसपछि तत्कालीन बलियो टोली अफगानिस्तानलाई ९ रनले हराउँदै नेपालले अन्तर्राष्ट्रिय ध्यान खिच्न सफल भयो।
यद्यपि समूहको अन्तिम खेलमा बंगलादेशसँग ८ विकेटले पराजित भएपछि नेपाल नेट रनरेटका कारण दोस्रो चरणमा पुग्न सकेन।
तीन खेलमध्ये दुई जितसहित विश्वकप यात्रा टुंग्याए पनि, डेब्यू विश्वकपमै गरेको प्रदर्शन नेपाली क्रिकेटका लागि नयाँ युगको सुरुआत बन्यो। त्यसैले सन् २०१४ को विश्वकप आज पनि नेपालको सफल र सम्झनलायक सहभागिताका रूपमा लिइन्छ।
सन् २०२४: दशकपछि फर्किएको खुसी र एक रनको पीडा
सन् २०१४ पछि विश्वकपमा पुग्न नेपालले लामो संघर्ष गर्नुपर्यो। दशक लामो प्रतीक्षापछि रोहितकुमार पौडेलको कप्तानीमा नेपालले सन् २०२४ मा दोस्रो पटक विश्वकप खेल्ने सपना पूरा गर्यो।
नेपालमै आयोजना भएको आईसीसी एसिया क्षेत्रीय छनोट २०२३मा ८ टोली सहभागी थिए, जहाँ शीर्ष दुई टोली मात्र विश्वकपका लागि योग्य हुन्थे। घरेलु मैदानमा शानदार प्रदर्शन गर्दै नेपाल दोस्रो स्थानमा रहँदै विश्वकपमा छनोट भयो।
अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गरेको उक्त विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको थियो, जहाँ बंगलादेश, दक्षिण अफ्रिका, नेदरल्यान्ड्स र श्रीलंका रहेका थिए।
यस संस्करणको विश्वकप नेपालका लागि पीडादायक बन्यो। समूह चरणका तीन खेलमा पराजय भोग्दा एक खेल भने वर्षाका कारण रद्द भयो।
पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटको हार बेहोरेको नेपालले खराब सुरुआत गर्यो। दोस्रो खेलमा भने दक्षिण अफ्रिकासँग मात्र १ रनले पराजित हुँदै नेपालले विश्वकपकै सबैभन्दा भावनात्मक र पीडादायी क्षण भोग्यो।
त्यस खेलमा झिनो हार बेहोरेपछि सम्पूर्ण नेपाली क्रिकेटप्रेमीको मन भारी बनेको थियो।
तेस्रो खेलमा बंगलादेशसँग २१ रनको हार पछि नेपालको यात्रा लगभग समाप्त भयो। अन्तिम खेलमा वर्षा बाधक बन्दा श्रीलंकासँग अंक बाँड्दै नेपाल समूह चरणमै रोकियो।
दोस्रो विश्वकपमा पनि नेपाल दोस्रो चरणमा पुग्न असफल रह्यो। दशकपछि विश्वकपमा फर्किएको खुसी भए पनि, अपेक्षाअनुसारको प्रदर्शन गर्न नसक्नु नेपाली क्रिकेटका लागि निराशाजनक पक्ष बन्यो।
डेब्यू विश्वकपमा इतिहास र साहस देखाएको नेपालले दोस्रो विश्वकपमा संघर्ष, अनुभव र पीडा भोग्यो। अब तेस्रो विश्वकपमा नेपालले अनुभवलाई नतिजामा बदल्दै नयाँ इतिहास लेख्ने अपेक्षा गरिएको छ।
प्रकाशित: १९ माघ २०८२ १४:२६ सोमबार





