बलिउडको चर्चित गीत ‘कान्टा लगा’बाट लोकप्रियता कमाएकी अभिनेत्री शेफाली जरीवालाको गत वर्ष जुन २०२५ मा ४० वर्षको उमेरमा निधन भएको थियो। श्रीमतीको असामयिक निधनपछि टेलिभिजन अभिनेता पराग त्यागी करिब आठ महिनासम्म पर्दाबाट टाढा रहे।
शेफालीको निधनपछि गहिरो शोकमा डुबेका परागले आफूलाई सार्वजनिक जीवन र लाइमलाइटबाट अलग राखेका थिए। तर अब उनी पुनः अभिनय यात्रामा फर्किने संकेत दिएका छन्। परागले हालै आफ्नो इन्स्टाग्राममार्फत नयाँ कार्यक्रमको टिजर सार्वजनिक गरेका छन्, जसमा उनी फरक र नयाँ लुकमा देखिएका छन्।
‘चन्दनबाला’ शीर्षकको कार्यक्रम चाँडै प्रसारणमा आउने बताइएको छ। परागको यस नयाँ सुरुआतलाई लिएर उनका फ्यान र नजिकका साथीहरू अत्यन्तै खुसी देखिएका छन्। सामाजिक सञ्जालमा केही प्रयोगकर्ताहरूले उनको पुनरागमनको प्रतिक्षा गरिरहेको प्रतिक्रिया पनि दिएका छन्।
शेफालीको निधनपछि परागले देखाएको साहस र संवेदनशीलता धेरैका लागि प्रेरणादायी बनेको थियो। कहिले उनले गरिब तथा असहायलाई खाना खुवाउँदै, त कहिले शेफालीको नाममा बोट–बिरुवा रोप्दै गरेको भिडियो सामाजिक सञ्जालमा देखिन्थ्यो।
श्रीमतीको निधनको ५० दिन पूरा हुँदा परागले आफ्नो छातीमा शेफालीको तस्बिर ट्याटु समेत बनाएका थिए। विभिन्न पोडकास्ट र अन्तरवार्तामा उनले प्रायः श्रीमतीको सम्झना, सम्बन्ध र जीवनका कुरा साझा गरेका थिए।
लामो समयसम्म क्यामेराबाट टाढा बसेका पराग अब करिब आठ महिनापछि पुनः अभिनयमा फर्किनु उनका लागि मात्र होइन, उनका समर्थकहरूका लागि पनि भावनात्मक क्षण बनेको छ।
प्रकाशित: १९ माघ २०८२ १४:४१ सोमबार





