१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

गठबन्धन बहसको विषय असान्दर्भिक: महामन्त्री शर्मा

नेपाली काँग्रेस संस्थापन इतर समूहका केही नेताहरुले चुनावमा गठबन्धन गर्न नहुने धारणा राखिरहँदा महामन्त्री विश्वप्रकाश शर्माले गठबन्धनको बहस अहिले सान्दर्भिक नरहेको बताएका छन्।

नेपाल प्रेस युनियन दाङले गरेको पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री शर्माले गठबन्धनका बारेमा बहस थाल्नु पर्ने समय अहिले नभएको बताए। संस्थापन इतर समूहका नेता डा. शेखर कोइराला, अर्का महामन्त्री गगनकुमार थापा लगायत शीर्ष नेताहरुले भने चुनावका बेला गठबन्धन गर्न नहुने धारणा राख्दै आएका छन्। यसै गरी लुम्बिनी प्रदेश काँग्रेसले केही दिन अघि सम्पन्न आफ्नो प्रथम सम्मेलनबाट चुनावमा गठबन्धन गर्न नहुने प्रस्ताव पासै समेत गरिसकेको छ। तर महामन्त्री शर्माले यो विषय अहिले बहसको विषय बन्न नहुने आफ्नो धारणा रहेको बताए। ‘चुनावमा गठबन्धन गर्न हुन्छ कि हुँदैन भनेर अहिले बहस थाल्नु पर्ने बेला नै हैन,’ महामन्त्री शर्माले भने ‘अहिले बहस गर्नु पर्ने विषय भनेको संगठन मजबुतीको हो।’

चुनाव आउन अझै चार वर्षको अवधि रहेकाले अहिले नै गठबन्धनको बहस थालनी गरेर कुनै अर्थ नहुने भन्दै महामन्त्री शर्माले चुनाव ताका मात्रै यो विषयको बहस थालनी हुनुपर्ने बताए। यसर्थ गठबन्धनको बहसले पार्टीमा निर्णायक रूप लिने वा नलिने भन्ने विषय अहिले नै निक्र्यौल नहुने उनको भनाइ छ। ‘काँग्रेस लुम्बिनी प्रदेश सम्मेलनले पारित गरेको प्रस्ताव वा नेताहरुले गठबन्धनका बिषयमा राखेको धारणाले पार्टी भित्र निर्णायक रूप लिने भन्ने कुरा अहिले निक्र्यौल हुने विषय हैन,’ महामन्त्री शर्माले भने, ‘यो विषयको टुंगो लाग्ने अवधि पछि आउँछ, अहिले हैन।’

त्यसोत, अहिले गठबन्धन गरिनु पर्ने वा नपर्ने भन्ने दुई थरी आवाज सुनिने गरेको भन्दै शर्माले दुबै आवाजको सम्मान गरेर निष्कर्षमा पुग्नु पर्ने बताए। ‘पार्टी भित्र अहिले गठबन्धन गरिनु पर्छ र गरिनु हुँदैन भनेर दुई थरी आवाजहरू उठिरहेका छन्, यी दुबै खालका आवाजहरूको सम्मान गरिनु पर्छ,’ महामन्त्री शर्माले भने ‘तर चुनाव आउन अझै चार वर्षको समय बाँकी नै छ, यो विषय त चुनावका बेलामा गरिने बहसको विषय हो, अहिले यो विषयको बहस सिर्जना गरेर कुनै अर्थ छ जस्तो मलाई लाग्दैन।’

एक अर्को प्रसङ्गमा काँग्रेस महामन्त्री शर्माले वर्तमान गठबन्धनको सरकार ढाल्ने कसरत कहिँकतैबाट नभएको बताए। वर्तमान सरकार ढाल्ने कसरत भएका हुन् कि भन्ने आशंका सुनिने गरेको भन्दै शर्माले यसलाई झुट भने। ‘अहिलेको सरकार ढाल्ने कसरत गठबन्धन भित्रबाटै भइरहेको छ भन्ने हल्लाहरू चलाइएका छन्, र एउटा कुरा सत्य के हो भने अहिलेको सरकार ढाल्नका लागि कुनै प्रयास वा पहल भएका छैनन्,’ उनले भने ‘र यो सरकारलाई ढाल्ने गरी कसरत हुने पनि छैनन्।’ वर्तमान नेतृत्वले गठबन्धन दलका बिचमा भएको पूर्ववत् सहमति अनुसार आफ्नो अवधि सम्म सरकार सञ्चालन गर्ने भन्दै महामन्त्री शर्माले आफ्नो अवधि पुरा भएपछि नयाँ प्रकृया थालनी हुने बताए। ‘अहिलेको नेतृत्वले सहमति अनुसार सरकार सञ्चालन गर्छ, यसमा कुनै शंका छैन,’ प्रवक्ता शर्माले भने ‘अहिलेको नेतृत्वले पाएको सरकार सञ्चालनको अवधि पुरा भएपछि नयाँ सरकारका लागि नयाँ प्रकृया प्रारम्भ हुन्छ।’

यसै गरी फरक अर्को प्रसङ्गमा एनसेल विक्री प्रकरणले धेरै आशङ्काहरू उब्जाएको बताए। फलतः यसको छानबिन अपरिहार्य रहेको महामन्त्री शर्माको भनाइ छ। 

प्रकाशित: २१ मंसिर २०८० १२:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App