९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

निर्वाचन प्रणालीबारे गलत अभिव्यक्ति नदिन प्रमुख आयुक्त थपलियाको आग्रह

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रणालीबारे गलत अभिव्यक्ति नदिन जनप्रतिनिधिलाई सुझाव दिएका छन्। दलित महिला केन्द्र नेपालले आज यहाँ आयोजना गरेको ‘निर्वाचन व्यवस्थापन विधेयक सम्बन्धमा सांसदसँग अन्तरक्रिया’मा उनले मतदाताको आत्मसम्मानमा चोट पुग्ने गरी निर्वाचन प्रणाली र लोकतन्त्रविरोधी अभिव्यक्ति नदिन जनप्रतिनिधिलाई सुझाव दिए।

'निर्वाचन प्रणाली र लोकतान्त्रिक प्रणालीविरुद्ध अभिव्यक्ति दिनु हुँदैन, जसरी पनि चुनाव जित्नुपर्छ भन्ने मानसिकताले अभिव्यक्ति दिनु गलत हो', प्रमुख आयुक्त थपलियाले भने। जनप्रतिनिधिले मुलुकको सार्वभौमसत्ता, लोकतन्त्रका लगायतका विषयमा गहनतापूर्वक विश्लेषण र छलफल गर्न आवश्यक रहेको पनि उनको भनाइ छ।

प्रमुख आयुक्त थपलियाले संविधानले निर्दिष्ट गरे बमोजिम निर्वाचन व्यवस्थापन विधेयक तयार पारिएको बताए। प्रतिनिधिसभा तथा राष्ट्रियसभाका समिति, महिला सञ्जाल, कानुनविद्लगाय २५ वटा सरोकारवाला पक्षसँगको छलफल, प्रदेश तथा स्थानीय स्तरबाट लिखित सुझाव सङ्कलन गरी आयोगले विधेयक तयार पारेको उनको भनाइ छ। 

आयोगका उपसचिव लक्ष्मी शर्माले विधेयकमा संविधानको प्रावधान, अदालतको आदेश तथा कानुनी व्यवस्था समेटी विधेयक संशोधन एवं परिमार्जन गरी समसामयिक बनाइएको बताए।

दलित महिला केन्द्र नेपालका कार्यकारी निर्देशक तेजेन्द्र लामाले लोकतन्त्र सुदृढ बनाउनेतर्फ आयोगको ठूलो भूमिका रहेको बताउँदै केन्द्रले महिला नेतृत्व विकासलाई प्रवद्र्धन गर्न तालिम तथा सशक्तिकरणका लागि काम गर्दै आएको जनाकारी दिए।  

प्रकाशित: १४ मंसिर २०८० १०:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App