२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कास्की कांग्रेसमा किचलो, सभापतिले जिल्ला सदस्य गंगाधर पराजुलीलाई हटाए

नेपाली कांग्रेस कास्कीमा किचलो उत्पन्न भएको छ। जिल्ला सभापति किशोरदत्त बरालले पार्टीका जिल्ला सदस्य गंगाधर पराजुलीलाई पदमुक्त गरेसँगै किचलो देखिएको हो।

बराल र पराजुली दुवै कांग्रेस सभापति शेरबहादुर देउवा निकट हुन्। दुईबीच मिल्ती भएकैले जिल्ला सभापति बरालले विश्वासपात्र को रुपमा सदस्य पदमा पराजुलीलाई मनोनित गरेका थिए। तर मनोनित गरेको केही समयदेखि नै उनीहरुबीच मनमुटाव शुरु भई अहिले एकअर्का बीच आरोप प्रत्यारोप सुरु भएको छ।

जिल्ला सभापतिमा निर्वाचित भएलगत्तै बरालले पराजुलीलाई सदस्यमा मनोनित गरेका थिए। तर मंसिर १० गते एकपत्र लेखेर सभापति बरालले पराजुलीलाई पदमुक्त गरेको जानकारी गराएका छन्। पराजुली चार महिनादेखि अमेरिकामा छन्। उनी बुधबार बेलुकी नेपाल आउँदैछन्। नेपाल नओर्लिदै पराजुलीलाई जिल्ला सभापति बरालले भाईवर मार्फत पदमुक्त भएको पत्र पठाएर जानकारी गराएका छन्। 

पदमुक्त भएको पत्र आफुले प्राप्त गरेको पराजुलीले बताए। तर पदमुक्त गरेको प्रति आफ्नो कुनै गुनासो पनि नभएको र दुःख पनि नलागेको प्रतिक्रिया दिएका छन। ‘सभापति बराललाई कार्यशैली सुधार्नका लागि बारम्बार आग्रह र दवाब दिए,’ पराजुलीले भने, ‘तर उहाँ सुध्रिनु भएन, सुधार्न नसकेपछि मैले नै सभापतिलाई मलाई हटाउन आग्रह गरेको थिए। 

पराजुलीले सभापति बराललाई सामाजिक सञ्जालमा एउटा कुरा लेख्ने तर व्यवहार र कार्यशैलीमा लागु नगर्ने गरेको आरोप लगाएका छ। सभापति बरालले लामो समयदेखि बैठक राख्न नसकेको, महिला संघलाई विवाद र विभाजनतर्फ लगेको, नेपाल विद्यार्थी संघ कास्की जिल्लाको विवाद मिलाउन चासो नदिएको तथा पार्टी संगठन सुदृढ गर्नु भन्दा व्यक्तिगत ईच्छा र चाहना अनुसार पार्टी चलाउन खोजेपछि आफूले ५–७ महिना अगाडि देखि नै विरोध गर्दै आएको पराजुलीको भनाई छ। पराजुलीले सभापति बरालले नियमित बैठक पनि राख्न नसकेको र राखेको बैठकमा कोरमसमेत पु¥याउन नसकेको भन्दै यसमा सभापति नै दोषी भएको आरोप पनि लगाएका छन्। 

तर, सभापति बरालले भने मनोनित भएका पराजुलीले पार्टीलाई सहयोग नगरेका कारण पदमुक्त गर्नुपरेको बताए। ‘उहाँलाई सहयोगको अपेक्षा सहित मनोनित गरेको थिए’, उनले भने, ‘तर उहाँबाट अपेक्षित सहयोग भएन। उहाँ लामो समय देश बाहिर पनि हुनुभयो । घरमा पनि नभएकाले बढी योगदान गर्न सक्ने व्यक्तिलाई मनोनित गर्ने गरी उहाँलाई पदमुक्त गरेको हुँ।’

प्रकाशित: १३ मंसिर २०८० ०९:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App