२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘कांग्रेस भुइँमा बस्नेले जोगाएका हुन्’

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस पार्टी मञ्चमा बस्नेले नभई भुइँमा बस्नेले जोगाएको बताएका छन्। भुइँमा बस्ने मानिसले पार्टी जोगाइदिएकाले नेताहरू मञ्चमा सानले बस्ने गरेको बताए।

कांग्रेस गुल्मीको दोस्रो जिल्ला सम्मेलनलाई तम्घासमा सम्बोधन गर्दै महामन्त्री थापाले दुःख गरेर पार्टी जोगाएका कांग्रेसजनलाई नबरालिन आह्वान गरे। पछिल्लो समय कांग्रेसका कार्यकर्तामा अन्योल सिर्जना भएको भन्दै दायाँबायाँ मन नडुलाउन उनको आग्रह थियो। ‘कांग्रेसजन अन्योलमा देखिन्छन्, कतै बरालिनु हुँदैन,’ उनले भने, ‘देश अप्ठेरोमा परेको बेला कांग्रेसले सम्हालेको छ, अब पनि कांग्रेसले नै निकास दिन्छ।’

चार वर्षपछि हुने निर्वाचनको चिन्ता छोडेर जनताको काममा लाग्नुपर्ने उनले बताए। जनताको काम छोडेर सत्ता केन्द्रित हुँदा जनता आजित बनेको उनले बताए।

व्यवस्था उत्तम हुँदाहुँदै शीर्ष तहका केही नेताको प्रवृत्तिले अहिले गणतन्त्रमाथि धावा बोल्ने काम भएको तर विरोध गर्ने छुट गणतन्त्रमा मात्र सम्भव भएको बताए।

पछिल्लो समय अराजकता बढेको भन्दै उनले पूर्वराजालाई च्याँखे थापेर नबस्न चेतावनी दिए। जनतालाई दास बनाएर बस्ने राजा फ्याँकेको धेरै नभएको भन्दै नेता थापाले बिपी कोइरालाले चार लाख बिगाहा जमिन चारजनाबाट खोसेर जनतालाई बाँडेको स्मरण गरे।

 ‘देशको ढुकुटी राजाले कुम्ल्याएर शासन गरेका थिए,’ उनले भने, ‘रैतीजस्तो भएर जनता बस्नुपर्ने अवस्थाबाट बाहिर आएका छौं, फेरि त्यही बाटोमा जानु हुँदैन।’

राजाको व्यवस्था ठिक थियो भन्नेहरू भ्रममा परेको उनको भनाइ छ। गर्न चाहेजति र हुनसक्ने जति नभए पनि प्रजातन्त्र आएपछि देशमा धेरै कुरा परिवर्तन भएको उनले बताए। नेपालमा यो वर्ष इतिहासकै सबैभन्दा बढी पर्यटक भित्रिएको उल्लेख गर्दै उनले भारतलाई बिजुली बेच्नेदेखि बंगलादेशसँग विद्युत् निर्यात गर्ने सम्झौता, राजाको पालामा एक सय ८५ डलर प्रतिव्यक्ति आय भएको मुलुक अहिले एक हजार चार सय डलर प्रतिव्यक्ति आय भएको मुलुक बनेको तर्क गरे।

पञ्चायतकालमा एक सयमध्ये ५५ जना गरिबीको रेखामुनि रहेकोमा अहिले एक सयमा १० जना मात्र गरिबीको रेखामुनि रहेको उनले दाबी गरे। १० अर्ब राजाले बाँड्ने ढुकुटी अहिले १७ खर्ब पुगेको, अहिले वार्षिक एक खर्ब ४७ अर्ब रूपैयाँ वृद्धभत्ता, स्वास्थ्य बिमा, अपांगभत्ता गरेर सिधै जनताले पाउने गरेको, दुई सय मेगावाट बिजुली रहेको देशमा प्रजातन्त्र आयपछि दुई हजार सात सय मेगावाट पुगेको थापाको भनाइ थियो। राजाका पालामा सात हजार किलोमिटर सडक रहेकोमा अहिले ६० हजार किलोमिटर बाटो पुगेको उनले बताए।

विकासले अपेक्षाकृत गति लिन नसकेको स्वीकार गर्दै महामन्त्री थापाले त्यसलाई सच्चाएर जानुपर्नेमा उल्टो दिशामा नहिँड्न आग्रह गरे। व्यवस्था परिवर्तन गर्न लाग्दा अर्को एक पुस्ताले दुःख पाउने भन्दै उनले व्यवस्थाभित्र रहेका खराब प्रवृत्ति फाल्नुपर्ने बताए।

प्रतिनिधिसभा सदस्यसमेत रहेका थापाले पछिल्लो समय प्रदेश फाल्नुपर्ने आवाज उठिरहेको भन्दै अधिकार फेरि सिंहदरबार केन्द्रित गराउन नहुने स्पष्ट पारे। प्रदेशलाई बलियो बनाउनुको साटो खारेजीतर्फ लाग्यौं भने अधिकार फेरि सिंहदरबार केन्द्रित हुने उनको तर्क थियो।

खर्च कटौती गर्न प्रदेश खारेज नभएर केन्द्रीय मन्त्रालयको संख्या घटाउनुपर्ने उनले बताए। ‘प्रदेश खारेजको कुरा आइरहेको छ, ‘थापाले भने, ‘यो जायज कुरा होइन, अधिकार पुनः संघीय राजधानी केन्द्रित हुन्छ।’ प्रदेशलाई अझ बलियो बनाएर संघीय मन्त्रालयमा चारजनाको मात्र मन्त्रीमण्डल बनाउनुपर्ने उनको तर्क थियो।

प्रकाशित: १० मंसिर २०८० ०३:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App