२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

माओवादीको प्रदेश बैठक: अभियानले नेता कार्यकर्ता उत्साहित

समीक्षा बैठकमा बोल्दै इन्चार्ज बलदेव । तस्बिरः महेश्वर

नेकपा (माओवादी केन्द्र)का नेताहरूले २ महिनादेखि जारी पार्टीको ‘जनतासँग माओवादी, विशेष रूपान्तरण अभियान’ कार्यक्रमले नेता कार्यकर्ता र जनतामा जाँगर र उत्साह भरेको निष्कर्ष निकालेका छन्।बुधवार उदयपुर पार्टी कार्यालयमा सम्पन्न प्रदेश कमिटी स्तरीय समीक्षा बैठकले गत भदौ १६ गतेदेखि जारी अभियानले पार्टी संगठन मजबुत पारेको, नेता कार्यकर्तामा उत्साह भरेको, जनतामा पार्टीप्रति नयाँ आसा र अपेक्षा पलाएको निष्कर्ष निकालेको हो। 

बैठकमा पार्टी केन्द्रीय सदस्य तथा १ नं. प्रदेश इन्चार्ज चन्द्रप्रकाश खनाल (बलदेव)ले जारी अभियानले देशभरका नेता कार्यकर्ता उत्साहित भएको र भुईतहका जनतामा उर्जा र जाँगर भरिँदै माओवादीप्रति नयाँ आसा र अपेक्षा पलाएको बताए।अन्य दलहरूले ०८४ को चुनावलाई मुख्य लक्ष बनाएर साङ्गठनिक गतिविधि अघि बढाइरहेको भन्दै उनले माओवादीले भने चुनावी लक्ष्य मात्र नभएर दीर्घकालीन संगठन निर्माणलाई प्राथमिकतामा राखेर अभियान चलाएको बताए। जनयुद्धको धरातलमा उभिएको क्रान्तिकारी पार्टी माओवादी पछिल्लो १० वर्षयता सांगठिक गतिविधिमा शिथिलता आएका कारण जनतासँग टाढिँदै गएर चुनाव हार्दै आउनु परेको यथार्थता सुनाए। 

पार्टी केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टंक राईले उदयपुरको पार्टी संगठन अन्य जिल्लाहरूको तुलनामा निकै राम्रो पाएको भन्दै अभियानले जनतासँग प्रत्यक्ष जोड्ने काम गरेको र निरन्तर जोडिराख्नुपर्ने बताए । जिल्लाका ७५ वटै वडामा अभियान चलिरहेको तर, त्यसमध्ये सदरमुकाम त्रियुगा नगरपालिकामा अन्यको तुलनामा निरन्तर र सशक्त रहेको त्रियुगा र रौतामाई गाउँपालिकाको इन्चार्जसमेत रहेका राईले अनुभव सुनाए । अभियानले पार्टीलाई जनतासँग जोड्न महत्त्वपूर्ण भूमिका खेलेको भन्दै राईले जनतासँग माओवादीलाई अविछिन्न सम्बन्ध कायम राख्न अभियान ३ महिना नभएर बाह्रै महिना सञ्चालन गर्नुपर्नेमा जोड दिए।  

केन्द्रीय सदस्य तथा ताप्ली र लिम्चुङबुङ गाउँ पार्टी इन्चार्ज तथा खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामकुमार रामकुमार राई (पासाङ)ले अभियानले नेता र कार्यकर्ता पार्टीसँग जोडिन पुगेको भन्दै यसले समग्र पार्टी र जनता दुवैलाई फाइदा पुगेको बताए।उनको अनुभवमा पनि अभियानलाई पार्टीले निरन्तरता दिनुपर्ने देखिएको छ। यसअघि चुनावमा बाहेक जनतासँग भेटै नहुने परिस्थिति उत्पन्न भएकैले ०६४ पछिका चुनावमा लगातार पार्टीले हार बेहोर्नु परेको भन्दै सांसद राईले विकास र संगठन सँगसँगै लान जनप्रतिनिधिहरूले सकारात्मक भूमिका खेल्नुपर्ने बताए। 

अर्का केन्द्रीय सदस्य मुक्साहाङ मेयाङ्वो (मुकेश), केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज धनकुमारी बिक, प्रदेश अध्यक्ष हर्क नेम्बाङ (मिक्सो)लगायतले पनि अभियानले पार्टी र जनता दुवैमा उत्साह भरेको बताए।पार्टी जिल्ला समन्वय समिति संयोजक विनोद कटुवाल (दिवस)का अनुसार बैठकमा जिल्लाका ८ वटै स्थानीय तह कमिटी इन्चार्ज र अध्यक्षले अभियान अन्तर्गत आआफ्नो पालिकामा भएको गतिविधिको रिपोर्टिङ गरेका थिए। 

प्रकाशित: २२ कार्तिक २०८० १५:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App