१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

रोकिएला राष्ट्रपतिको फ्रान्स भ्रमण ?

राष्ट्रपति रामचन्द्र पौडेलको विदेश भ्रमण तयारी भइरहेका बेला मुलुक भूकम्पको विपत्तिमा परेको छ । राष्ट्रपति पौडेल कात्तिक २२ गते फ्रान्स, जर्मनी र इटालीको भ्रमणमा जाने र मंसिर १ गते स्वदेश फर्कने कार्यक्रम यसअघि नै तय भइसकेको हो । कात्तिक १६ गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको विदेश भ्रमण स्वीकृत गरिसकेको छ ।  

मुलुक विपत्तिमा परेका बेला राज्यको करोडौँ रूपैयाँ खर्चेर विदेश भ्रमणमा निस्कनु सुहाउँदो नहुने भन्दै विभिन्न तहमा चासो व्यक्त गर्न थालिएको छ। राष्ट्रपति पौडेलले शनिबार भूकम्पपीडितको उद्धार र राहतमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराइसकेका छन् ।

भूकम्पबाट भएको मानवीय र भाौतिक क्षतिले आफू मर्माहत भएको जनाउँदै उनले विपद्को यस घडीमा उद्धार तथा राहतमा जुट्न सरकारलगायत सम्बन्धित सबैलाई अपिल गरेका हुन् । तर उनले कात्तिक २२ देखि मंसिर १ गतेसम्म हुने विदेश आफ्नो पूर्वनिर्धारित भ्रमणबारे भने केही बोलेका छैनन् । उनको सचिवालयले पनि यसबारे केही भनेको छैन ।

सिंगो राष्ट्र विपत्तमा परेका बेला राष्ट्रपति विदेश भ्रमणमा निस्कनु शोभनीय नहुने राजनीतिक विश्लेषकले बताएका छन् । सामाजिक सञ्जालमा पनि उनको यस्तो बेलामा राष्ट्रपति विदेश भ्रमणमा निस्कनुलाई सकारात्मक मान्न नसकिने टिप्पणी गरिएको छ ।

राजनीतिक विश्लेषक हरि रोका अहिलेको अवस्थामा राष्ट्रपति विदेश भ्रमण नगएकै राम्रो हुने बताउँछन् । ‘मुलुक अप्ठेरो अवस्थामा छ, भूकम्प गएको छ, यस्तो बेला राहत, उद्धार र पुनर्वासमा ठूलो रकम खर्च हुन्छ । राष्ट्रपतिको भ्रमणमा पनि मुलुककै पैसा खर्च हुने हो । त्यसकारण अलिकति सहज परिस्थिति बनेपछि राष्ट्रप्रमुख विदेश भ्रमणमा जाँदा राम्रो सन्देश जान्छ । पूर्वनिर्धारित कार्यक्रम हो भनेर जानुभयो भने पनि त्यो उहाँको व्यक्तिगत कुरा भयो’, उनले भने ।

राजनीतिशास्त्रका प्राध्यापक डा. ऋषिराम शर्माले यतिबेला राष्ट्र प्रमुखको विदेश भ्रमण भए राम्रो सन्देश नजाने बताए । ‘यस्तो दुखद परिस्थितिमा राष्ट्र प्रमुखको विदेश भ्रमण भए स्वदेश र विदेशमा राम्रो धारणा बन्दैन । त्यसकारण नजाँदा नै राम्रो हुन्छ’, उनले भने ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका सल्लाहकार टीका ढकाल पनि यस्तो बेला राष्ट्र प्रमुखको विदेश भ्रमणलाई राम्रो मान्न नसकिने बताउँछन् । ‘निकै पर गाजामा युद्ध हुँदा कतारका राजाले हाम्रा प्रधानमन्त्रीबाट नै घोषणा गरिएको पूर्वनिर्धारित नेपाल भ्रमण स्थगन गर्नुभएको ताजै छ, एक सनता पनि बितेको छैन ।

हाम्रा राष्ट्रपतिज्यूलाई मेरो अनुरोध छ– हस्तिनापुरलाई अचानक भूकम्पले नराम्ररी क्षतिग्रस्त तुल्यायो । धृतराष्ट्र बन्नबाट जोगिने ठूलो उपाय छ– भोलि कि पर्सिदेखि हुने भनिएको युरोप भ्रमणमा नजाने घोषणा गर्नुहोस् । तीन देशको भ्रमणमा हुने करिब १० करोड बराबरको खर्च भूकम्प प्रभावित जनताको राहत र उद्धारमा लगाउने घोषणा गर्नुहोस् । यसबाट थोरै भए पनि गणतन्त्रको इज्जत बच्छ,’ ढकालले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रकाशित: १९ कार्तिक २०८० ००:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App