१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

राष्ट्रसङ्घका महासचिव नेपाल आउँदै,परराष्ट्रमन्त्री अमेरिका जाँदै

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले यही कात्तिक १२ देखि १५ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्ने भएका छन्।

मन्त्रिपरिषद्को आजको बैठकले महासचिव गुटेरेसको औपचारिक भ्रमण कार्यक्रम स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन। बैठकले परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको यही  कात्तिक ८ देखि १६ गतेसम्म संयुक्त राज्य अमेरिकाको भ्रमण कार्यक्रम पनि स्वीकृत गरेको छ। मन्त्रिपरिषद्ले राष्ट्रिय मानवअधिकार आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ।

सरकारले तल्लो अरुण जलविद्युत् परियोजना छ सय ६९ मेगावाट क्षमताका लागि आवश्यक एक सय सात दशमलव ९७ हेक्टर निजी जग्गा प्राप्ति गर्न स्वीकृति दिने निर्णय गरेको छ। भारतीय कम्पनी सतलज विद्युत् निगमले सो आयोजना बनाउन लागेको छ।

मन्त्री शर्माका अनुसार अन्तर्राष्ट्रियस्तरको बालबालिका, विकास र शान्तिसम्बन्धी सम्मेलन आयोजना गर्न लुम्बिनी प्रदेश सरकारलाई सैद्धान्तिक स्वीकृति दिइएको छ।बङ्गलादेशको ढाकामा यही कात्तिक ११ देखि १३ गतेसम्म हुने निर्वाचनसम्बन्धी सेमिनारमा सहभागी हुन निर्वाचन आयुक्त सगुनशम्शेर जबराको भ्रमण स्वीकृत गरिएको छ।

नेपाल र इजिप्टबीच युवा तथा खेलकुदसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्न युवा तथा खेलकुद मन्त्रालयलाई स्वीकृति प्रदान गरिएको छ भने वन पैदावार विकास समितिलाई रु आठ करोड ८५ लाख बराबरको ऋण सहायता दिने निर्णय भएको छ।

यही कात्तिक २१ गतेदेखि मङ्सिर ६ गतेसम्म फ्रान्सको पेरिसमा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को ४२औँ महासभामा भाग लिन शिक्षा तथा विज्ञान प्रविधिमन्त्री अशोककुमार राई र सचिव सुरेश अधिकारी नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गरिएको छ।

यही असोज २७ गते सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाको छानबिन गर्न  गत असार १२ गते गठित छानबिन समितिलाई नै कार्यादेश प्रदान गरिएको छ। यसैगरी कतार सरकारसँग एक समझदारीपत्रमा हस्ताक्षर गर्न सञ्चार मन्त्रालयलाई अख्तियारी दिइएको छ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र सचिव देवकुमारी गुरागाईँलाई  यही कात्तिक २९ देखि मङ्सिर १ सम्म थाइल्याण्डको बैंककमा हुने सम्मेलनमा भाग लिन अनुमति प्रदान गरिएको छ भने चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको सभामा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ बमोजिम अमुदा श्रेष्ठ र पदमबहादुर गिरीलाई सदस्यमा मनोनयन गरिएको छ।

सरकारले दसैँ, तिहार, नेपाल संवत् र छठलगायतका सांस्कृतिक पर्वहरूको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा मङ्गलमय शुभकामना व्यक्त गरेको छ।

गत असोज २४ गतेको मन्त्रिपरिषद्को बैठकले चालु आर्थिक वर्षका लागि महान्यायाधिवक्ताको कार्यालयमा एकजना सूचना प्रविधि अधिकृतको अस्थायी दरबन्दी सिर्जना गर्ने निर्णय गरेको छ। उक्त बैठकले औद्योगिक प्रयोजनका लागि सुपारी, केराउ र मरिचको पैठारी गर्न अनुमति प्रदान गरेको छ। यसैगरी थाइल्याण्डमा आयोजना हुने एसिया प्रशान्त क्षेत्रको इनर्जी फोरममा सहभागी हुन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गरिएको छ।

रेल्वे सेवा सञ्चालन र मर्मत सम्भारका लागि तालिम प्राप्त जनशक्ति, आवश्यक उपकरण एवं मालसामान सरकार–सरकार तहमा नै सम्झौता गरी खरिद गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ। रेल, मेट्रोरेल, मोनोरेल विकास आयोजनाका लागि विभिन्न सेवा, समूह, उपसमूहका अधिकृतस्तरका १४ अस्थायी दरबन्दी स्वीकृत प्रदान गरेको छ।

अन्तर्राष्ट्रियस्तरको क्रिकेट र बक्सिङ प्रतियोगितामा विजयी तथा पदक प्राप्त खेलाडी सहभागी मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई पुरस्कार प्रदान गर्ने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ।

आगामी मङ्सिर १९ र २० मा संयुक्त राष्ट्रसङ्घको आयोजनामा घानामा हुने युएन पिस किपिङ मिनिस्ट्रियल बैठकमा सहभागी हुन उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गरेको छ। सिन्धुली जिल्लाकी सुनकोसी गाउँपालिकालाई १५ शय्याको प्राथमिक अस्पताल निर्माणका लागि सोही गाउँपालिकाको वडा नं ३ को सात दशमलव दुई रोपनी जग्गा प्रयोग गर्न स्वीकृति दिइएको छ।

यसैगरी राष्ट्रिय आवास कम्पनी लिमिटेडको रिक्त महाप्रबन्धक पदमा रामकृष्ण निरौलालाई नियुक्त गरिएको छ। नेपाल इन्जिनियरिङ सेवा समूहीकरणत र्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा अर्जुनजङ्ग थापालाई बढुवा गरिएको मन्त्री शर्माले जानकारी दिइन। बैठकले न्याय सेवा आयोगको सिफारिस बमोजिम नेपाल न्याय सेवा, कानुन समूहतर्फका छ जना राजपाङ्कित प्रथम श्रेणीका अधिकृतको सरुवा गरेको छ।

प्रकाशित: २ कार्तिक २०८० १२:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App