१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सैनिक नियमावली संशोधनमा प्रमको चासो

प्रधानमन्त्री पुष्पकमल दाहालले सैनिक नियमावली, २०६९ को संशोधनप्रति चासो राखेका छन् । नेपाली सेनाको सहायक रथी, उपरथी बढुवा प्रक्रियाका लागि सैनिक नियमावली संशोधन गर्नका लागि प्रधानमन्त्री दाहालले चासो राखेका हुन् । माओवादी लडाकुबाट नेपाली सेनामा समायोजन भएर आएका यामबहादुर अधिकारीलाई ‘विशेष पद’ भन्दै तीन वर्ष म्याद थपेर सहायक रथीमै थमौती गरेपछि प्रधानमन्त्री दाहालले नियमावली संशोधनबारे जिज्ञासा राखेको एक उच्च सैनिक अधिकारीले बताए । ‘सैनिक नियमावली संशोधन गर्दा त्यसबाट उत्पन्न हुने प्रतिक्रियाबारे चासो राख्नुभएको थियो,’ स्रोतले भन्यो ।

प्रधानमन्त्रीमा अधिकारीलाई बढुवा गर्ने तीव्र इच्छा देखिन्छ । ‘तर अहिलेलाई नियमावली बाधक भएकाले संशोधनतर्फ उहाँको ध्यान गएको हो,’ स्रोतले भन्यो ।

सहायक रथीबाट उपरथीमा बढुवा गर्दा नेसनल डिफेन्स कोर्स, रोयल कलेज अफ डिफेन्स स्टडिज, वार कलेज, डिफेन्स एन्ड स्ट्राटेजिक स्टडिज (नेसनल डिफेन्स युनिभर्सिटी) मध्ये कुनै एक तालिम गरेको हुनुपर्ने भनिएको छ । कम्तीमा एक वर्ष वाहिनी कमान्ड गरेको हुनुपर्ने पनि त्यसमा भनिएको छ । तर, नियमावलीको दफा ३८ को उपदफा १६ मा यस नियमावलीमा जुनसुकै कुरा लेखिए पनि यो उपनियम प्रारम्भ हुँदाको बखत गणपति तालिम प्राप्त गरिसकेको सेनानी माथिल्लो पदमा बढुवा गर्न योग्य मानिने भनिएको छ ।

नियमावलीमा स्टाफ कलेज गरेका तर तालिम नगरेका सहायक रथीहरूबाट ५ प्रतिशत ज्येष्ठता क्रमअनुसार बढुवा समितिले सिफारिस गर्ने प्रावधान छ । ‘पछि यही छिद्रको दुरूपयोग हुनेमा नेपाली सेनाभित्र ठुलो त्रास उत्पन्न भएको छ । ‘यदि उपरथीमा बढुवा गर्न नियमावली संशोधन भए सेनामा ठुलो संकट आउने देखिन्छ,’ सैनिक उच्च अधिकारीले भने । सैनिक नियमावलीअनुसार सहायक रथी पदमा बढुवा हुन २१ वर्ष र उपरथी पदमा बढुवा हुन २३ वर्ष पुग्नुपर्छ । अहिले सहायक रथीबाट उपरथीका लागि सन्तोषवल्लभ पौडेल, पवनकुमार घिमिरे, चोकबहादुर ढकाल, अनुपजंग थापा, मधुकर कार्कीै यामबहादुर अधिकारीलगायत छन् ।  

उनीहरू एकैपटक बढुवा हुनेभन्दा पनि फरकफरक मितिमा बढुवा हुनेछन् । कात्तिक ११ गते अवकाश हुन लागेका बलाधिकृत रथी सरोजप्रताप राणा आइतबारबाट बिदामा बसिसकेका छन् । त्यस्तै अर्का रथी सीताराम खड्का पनि पुस ३ गते घर जाँदैछन् । उनीहरूले अवकाश पाएपछि प्रधानसेनापति प्रभुराम शर्माले ताराध्वज पाण्डे र अशोकराज सिग्देललाई बढुवा गर्नेछन् । यदि उनीहरूको बढुवा रोकिए सेनाको नेतृत्व नै खल्बलिनेछ ।  

‘विगतमा नेपाल तारा पदवी पाउन लायक नोबेल शाह र रमेश थापा मगरलाई म्याद थप गर्नबाट रोकेर सैनिक सेवाबाटै हटाई योग्यता अपुग रहेकै अवस्थामा हालका सहायक रथी यामबहादुर अधिकारीलाई बढुवा गर्नु र अहिले पनि प्रधानमन्त्रीले सैनिक नियमावली संशोधनमा चासो राख्नुले सेनाभित्र त्रास उत्पन्न भएको छ,’ नेपाली सेनाका उच्च अधिकारीले भने ।

यही समयमा उपरथी सहदेव खड्का पनि अवकाशमा जाने भएकाले उपरथीमा रिक्त हुने पदको संख्या पनि बढ्दैछ । जसले गर्दा अझै बढी शंकाको लाभ दिएको स्रोतले जनाएको छ ।  

२०७६ सालमै चार वर्ष म्याद थपिएका अधिकारीको सेवावधि सरकारले फेरि असोज १ गतेबाट तीन वर्षका लागि थप गरेपछि सत्ता साझेदार दलभित्र पनि यसबारे असन्तुष्टि पैदा भएको छ । प्रधानसेनापति बेलायत भ्रमणमा सहायक रथी अधिकारीलाई सैनिक सचिवको महत्त्वपूर्ण जिम्मेवारी दिएर तालिम विभागमा काजमा खटाएका थिए । प्रधानमन्त्रीको दाहालको विशेष आग्रहमा माओवादी लडाकुबाट सेनामा आएकाहरूको तालिमको अवसरलगायत वृत्ति विकासमा सहयोग पुग्नेगरी उनलाई त्यहाँ खटाउनुका साथै अब रिक्त हुने उपरथी पदमा उनको बढुवाका लागि सहजीकरण गर्न नियमावली संशोधनबारे चासो व्यक्त भइको हो ।  

‘पम्पराविपरीत कल्पना गर्दिनँ’  

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाको भावी प्रधानसेनापतिबारेको समाचारमा आफ्नो समेत नाम जोडिएर आएकोमा चासो र चिन्ता व्यक्त गरेका छन् । उनले भावी प्रधानसेनापतिका सन्दर्भमा परम्परागत मान्यता भंग गर्न नसकिने पनि स्पष्ट पारेका छन् । उनले सेनाको भावी सेनापतिका नाममा आएका समाचार भ्रामक र असत्य भएको समेत बताए । ‘नेपाली सेनाको भावी प्रधानसेनापतिका नाममा मेरो नाम समेत जोडेर केही सञ्चार माध्यममा लेखिएका कुरा भ्रामक र असत्य भएको कुरा प्रस्ट पार्न चाहन्छु,’  

खड्काले आइतबार ट्विट गर्दै भनेका छन्, ‘सैनिक ऐन, नियम र नेपाली सेनाको स्थापित परम्पराको विपरीत गर्ने र हुन दिने कुरा म कल्पना पनि गर्न सक्तिनँ, म यसप्रति पूर्ण प्रतिबद्ध छु ।’ म्याद थपबारे मौन बस्दै आएका मन्त्री खड्काले आइतबार बिहान भने यस्तो सन्देश प्रवाह गरेका हुन् ।

‘सेनामा राजनीतिक चलखेल स्वीकार्य छैन’

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाली सेनाको नियम परिवर्तन गरेर माओवादी पूर्वलडाकुसमेत रहेका सहायक रथी यामबहादुर अधिकारीको म्याद थपिएको र राजनीतिक चलखेल हुन लागेको भन्दै असन्तुष्टि जनाएका छन् । नेता कोइरालाले आइतबार बिहान सामाजिक सञ्जालमार्फत यस्तो असन्तुष्टि व्यक्त गरेका हुन् । नेपाली सेनाजस्तो राष्ट्रिय सुरक्षासँग जोडिएको र सधैं राजनीतिबाट अलग रहेको संस्थामा माओवादीको पूर्वलडाकुका लागि नियमको दुरूपयोग गर्ने चलखेल भएकोसमेत उनले आरोप लगाए ।

सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने भन्दै नेता कोइरालाले त्यस्तो गतिविधि आफूहरूलाई मान्य नहुने पनि बताएका छन् । ‘नेपाली सेनाजस्तो राष्ट्रिय सुरक्षासँग जोडिएको र सधैं राजनीतिबाट अलग रहेको संस्थामा माओवादीका पूर्वलडाकुका लागि नियमको दुरूपयोग गर्ने चलखेल स्वीकार्य छैन,’ आइतबार बिहान उनले ट्विट गर्दै भनेका छन्, ‘सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने हुँदा यस्तो कार्य नगरौं । सम्बन्धित निकायहरूलाई यो कुराको हेक्का होस् ।’

प्रकाशित: २९ आश्विन २०८० ००:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App