१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

आर्थिक सङ्कट समाधान गर्न सरकारलाई अध्यक्ष नेपालको आग्रह

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको आर्थिक क्षेत्रका सङ्कट, जनजीविका महँगी लगायत समस्या समाधान गर्न सरकारसँग आग्रह गरेका छन्।

समाजवाद जागरण अभियानद्वारा आज कावासोतीमा आयोजित कोणसभामा उनले मुलुकको अर्थतन्त्रमा देखापरेको सङ्कट समाधान गर्न आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र समेत बुझाएको स्मरण गराए।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले आफूहरू क्रान्तिकारी एजेन्डा लिएर जनताको बीचमा आएको बताउँदै रोजगारी, सुशासन र समृद्धिलाई मुख्य मुद्दा बनाएर समाजवादी जागरण अभियानमा जुटेको बताए।

उनले औद्योगिक विकास र मिटर ब्याज पीडितको पक्षमा पार्टी दृढतापूर्वक क्रियाशीलता रहेको दाबी गरे।

यही असोज १४ मा काँकडभिट्टाबाट सुरु भएको अभियानअन्तर्गत विर्तामोड, दमक, उर्लाबारी, विराटचोक, इटहरी, इनरुवा, भारदह, राजविराज, चिन्नमस्त, अर्नाह, भगवानपुर, सिरहा सदरमुकाम, बन्दीपुर र जदुकुहा, जनकपुर, जलेश्वर, ढल्केबर, लालबन्दी, गरुडा, हर्नैया, कलैया र वीरगञ्ज, पथलैया, हेटौडा, मनहरी, भण्डारा र भरतपुरमा जागरण अभियान सम्पन्न गरिएको छ।

पार्टीले सुरू गरेको समाजवादी जागरण अभियानमा अहिलेसम्म चार हजार नेता कार्यकर्ता पार्टीमा समाहित छन्। पार्टीले यही असोज १४ गते मेचीदेखि सञ्चालन गरिएको अभियानका क्रममा कोशी र मधेस प्रदेशका विभिन्न जिल्लामा एमाले, कांग्रेस, माओवादी लगायत पार्टीका चार हजार नेता कार्यकर्ता सो पार्टीमा समाहित भएको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए। कावासोतीपछि आज बर्दघाट र परासीमा पनि आमसभा गरिने छ।  

प्रकाशित: २० आश्विन २०८० ०७:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App