७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रजातन्त्र सेनानी: सुशीला चालिसे

व्यक्तित्व

नेपालको राष्ट्रिय राजनीतिक इतिहासमा जनअधिकारमूलक राज्यव्यवस्था अर्थात् प्रजातन्त्रका लागि सङ्घर्षको मैदानमा ओर्लने साहसिला नारीहरूको सङ्ख्या त्यति ठुलो नभए पनि उल्लेख्य नै रहेको मान्न सकिन्छ। ती सबैका योगदानबारे राम्ररी खोजतलास तथा अनुसन्धान गरिएको पाइँदैन। समयले कैयौंलाई विस्मृतिको गर्तमा पुर्‍याएर बेनाम बनाइसकेको अनुभूत हुन्छ। कतिपय वीराङ्गनाहरूको योगदानलाई भने समयले हतपती मेट्न सक्दैन। यस्तै एकजना सङ्घर्षशील, क्रान्तिकारी, लोकतन्त्रकी सेनानी थिइन् श्रीमती सुशीला चालिसे। यहाँ उनको सङ्घर्षशील राजनीतिक व्यक्तित्वका सन्दर्भमा केही चर्चा गर्ने प्रयत्न गरिएको छ।

नेपालमा जहानियाँतन्त्रीय उत्कर्षको समय थियो। त्यस अँध्यारो युगभित्र गुम्सिएको मुलुक नेपालमा भर्खरभर्खर राजनीतिक चेतनाका झिल्काझिल्कीहरू देखा पर्न थालेका थिए। आम जनतामा भने प्रजातन्त्र भन्ने कुराको ज्ञान थिएन। त्यसको ज्ञानप्राप्तिका ढोका सबै बन्द थिए। त्यस्तो अवस्थामा समाजका केही सजग र चेतनशील मानिस जसले देशबाहिर भारततिर गएर कुनै तरहले शिक्षार्जनका लागि प्रयत्न पनि गरेका थिए। उनीहरूका माध्यमबाट बिस्तारै आम जनतामा प्रजातन्त्रप्रतिको उत्सुकता क्रमशः हुर्कंदै थियो।

 सीमित रूपमै भए पनि कसैकसैले केही समाज सुधारका कार्यहरूको थालनी पनि गरेका थिए। तर त्यस्ता जनहितकारी कार्यहरूबाट शासकवर्ग भने त्रसित थियो। तिनीहरू शासकको कोपभाजनका सिकार बन्दै गइरहेका थिए। कतिपयले त देशनिकालासम्मको सजाय पनि पाएका थिए। जनचेतनाको झिल्को बाल्न खोज्ने कसैलाई पनि निरंकुश शासक वर्गले देख्नै सक्दैनथ्यो। अन्ततोगत्वा शासकीय ज्यादतीले सीमा नाघेपछि जनक्रान्तिद्वारा जहानियाँ शासनको अन्त्य भयो। यद्यपि त्यसनिम्ति असङ्ख्य नेपाली नरनारीहरूको अतुलनीय साहस, समर्पण र सहादतको खाँचो पर्‍यो।

राजकाज त्यागी भारत गएका राजा त्रिभुवन फागुन ४ गते स्वदेश फर्कंदा स्वागत गर्न गएको संस्मरण गर्दै सुशीला भन्छिन्, ‘क्रान्ति सफल भयो। म जेलबाट छुटें। राजा त्रिभुवन दिल्लीबाट काठमाडौं आउँदा राजाको स्वागत गर्न समिति बनाइएको थियो। म पनि समितिमा थिएँ। विमानस्थलमा जहाजबाट ओर्लनेबित्तिकै पहिलोपल्ट मैले नै राजाको गलामा स्वागतको माला लगाइदिएकी थिएँ।’

२००७ सालको जनक्रान्तिको संगठनात्मक तयारी २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेसको स्थापनासँगै सुरु भएको थियो। त्यसभन्दा झन्डै एक दशक अगाडि नेपालमा खुलेको नेपाल प्रजा परिषद्ले बिस्तारै बिस्तारै जनचेतनाको विस्तार गराउँदै देशबाट जहानियाँतन्त्र हटाई प्रजातन्त्रको स्थापना गर्ने उद्देश्यका साथ काम गर्न थालिसकेको थियो।

१९९७ सालमा नेपाल प्रजा परिषद्का गतिविधिबारे सुइँको पाएपछि निरंकुश राणा सरकारले सम्बन्धित सबैलाई कठोर दण्ड दियो। यस क्रममा चारजनालाई मृत्युदण्ड र अन्यलाई जेलसजाय दिइयो। नेपाल प्रजा परिषद्भन्दा पनि पहिले प्रचण्ड गोर्खाको सुरुवात गर्नेहरू सबै दण्डभागी भइरहेका थिए। नेपाल प्रजा परिषद्का राणा विरोधी गतिविधिमा काठमाडौं नक्सालका युवा सुन्दरराज चालिसे पनि सक्रिय थिए। उनकी धर्मपत्नी सुशीला चालिसे पनि राणातन्त्र विरुद्धमा जनमत सिर्जना गर्न सक्रिय थिइन्।

 सुशीला चालिसेको राजनीतिक जीवनको प्रारम्भ पनि त्यसै नेपाल प्रजा परिषद् काण्डका समयदेखि प्रारम्भ भएको थियो। देशमा राणा हुकुमी शासनको उत्कर्षका समयमा पारिवारिक÷वैयक्तिक जीवनको पर्वाह नगरी प्रजातान्त्रिक सङ्घर्षमा होमिएकी उनै प्रजातन्त्रकी प्रखर सेनानी सुशीला चालिसेको व्यक्तित्व र कृतित्वका सन्दर्भमा यहाँ सङ्क्षिप्त संस्मरण गर्ने प्रयास गरिएको छ।

सुशीला चालिसेको जन्म १९८०, कार्तिक २३ गते काठमाडौंको कमलपोखरीमा भएको थियो। पिता भोजराज प्याकुर्‍याल र माता पद्मवती प्याकुर्‍याल थिए। प्याकुर्‍याल दम्पतीकी जेष्ठ सुपुत्री सुशीला चालिसेका दुई भाइ र दुइटी बहिनीहरू थिए। पिता भोजराज प्याकुर्‍याल त्यस समयका प्रसिद्ध होमियोप्याथी चिकित्सक थिए। उनको अभिरुचि चित्रकलामा पनि थियो। उनी बहुभाषाका ज्ञाता थिए। सुशीलाले अनौपचारिक तवरले नै शिक्षा प्राप्त गरिन्। पिताजीका मित्र चन्द्रमान मास्केले सुशीलालाई प्रारम्भिक शिक्षा दिएका थिए। उनले स्वाध्ययनबाटै आफ्नो बौद्धिक क्षमता र ज्ञान बढाउँदै लगिन्।

सुशीलाले आफ्नो बन्दी जीवन सम्झँदै भन्छिन्, ‘सिंहदरबारमा मलाई सैनिकहरूले घेरेर राखेका थिए। त्यहाँ मलाई पाँच महिना राखियो। जनाना जेलमा चाँहि डेढ महिनाजति बस्नुपर्‍यो। जनाना जेलमा सुरुमा राजनीतिक महिला बन्दी थिएनन्, म मात्र थिएँ। मलाई त्यहाँ लगिएको १५-१६ दिनपछि एयरपोर्ट काण्ड घट्यो र त्यस काण्डमा सम्मिलित केही महिलालाई पक्राउ गरी त्यहीं राखियो।’

पिताजी भोजराज प्याकुर्‍यालको जनरल हिरण्यशमशेरसँग अत्यन्त निकट मित्रता थियो। हिरण्यशमशेर सुशीलालाई आफ्नै छोरी सरह मान्थे। त्यसैकारण १९९१ साल असारमा हिरण्यशमशेरले काठमाडौं नक्साल निवासी सुन्दरराज चालिसेसँग सुशीलाको विवाह गराइदिए। त्यसबेला हिरण्यशमशेर धनकुटाका बडाहाकिम थिए। हिरण्यशमशेर, त्यसताका कलकत्तामा बस्ने सुवर्णशमशेरका पिता थिए।

सुन्दरराज–सुशीला चालिसेका छोरा प्रा. सुरेशराज चालिसे र छोरी सुधा पराजुली हुन्। जेठी छोरी सुभद्राको सानैमा देहान्त भयो।

१९९० को दशकले नेपालको राजनीतिमा एउटा हलचल ल्यायो। जहानियाँतन्त्र विरुद्ध संस्थागत ढंगमा नेपालीहरू जुर्मुराउन थाले। राजनीतिक जागरणको प्रभावले समाजको मध्यम वर्गलाई बढी स्पर्श गर्नु स्वाभाविक थियो। यो वर्ग अलि चेतनशील पनि थियो। सुन्दरराज चालिसे जस्ता शिक्षित र चेतनशील युवालाई नेपाल प्रजा परिषद्का गतिविधिले आकर्षित गर्‍यो। जहानियाँतन्त्र विरुद्धमा जनचेतना बढाउने कार्यमा उनलाई पारिवारिक स्तरबाट धर्मपत्नी सुशीला चालिसेको साथ रह्यो।

श्यामराज चालिसेले लेखेका छन्, ‘उहाँका पति सुन्दरराज चालिसे नेपाल प्रजा परिषद्का सक्रिय सदस्य हुनुहुन्थ्यो। १९९७ मा राणाशाहीको दमनचक्र चलेकाले सुन्दरराज चालिसे काठमाडौंबाट उम्की भारत प्रवेश गर्नुभयो। सुशीलादेवी चालिसे पनि आफ्ना पतिका साथ लागी राजनीतिमा समेत प्रवेश गर्नुभयो। सामाजिक जीवनमा जस्तै राजनीतिक जीवनमा पनि उहाँ आफ्ना पतिको अभिन्न अंग बन्नुभयो।’ (सुशीलादेवी चालिसे स्मृतिग्रन्थ, सम्पा. हरि मञ्जुश्री/जीवनचन्द्र कोइराला)

पति सुन्दरराजका साथ राजनीतिक जीवनको सङ्घर्षमा होमिएकी सुशीलाले आफूलाई पारिवारिक जीवनको सीमिततामा खुम्च्याउन चाहिनन्। नेपाली जनतालाई अधिनायकतन्त्रको दासताबाट छुटाउनका निम्ति पारिवारिक सुखसयललाई तिलाञ्जली दिनु नै उनले उपयुक्त ठानिन्। त्यस क्रममा उनी कलकत्तातिर जानेआउने गर्न थालिन्।

 सुन्दरराज-सुशीला दुवै भारतमा रहेका नेपाली जनसमुदायसँग निकट रही राणातन्त्र विरुद्धमा जनमत सिर्जना गर्नेतर्फ लागे। बालक छोरा सुरेशराजलाई मावलीमा हेरचाहका लागि राखियो। उनीहरूका सुपुत्र प्रा. सुरेशराज चालिसे त्यसबेलाको आफ्नो स्थितिलाई सम्झन्छन्, ‘मामाघर वा घरमा बाजेबज्यैसँग पनि कहिलेकाहीं मलाई छोडेर मेरा मातापिता किन सधैं पर जानुभएको? भनेर सोध्ने गर्थें। दुवैतिरबाट उस्तै जवाफ पाउँथें- कलकत्ता गएका छन्, आइहाल्छन् नि! हामी छँदै छौं, के चाहियो? हामी माया गर्दैनौं र तिमीलाई? अनि फेरि चित्त बुझाउँथें। पढाइ, खेलकुद, कसरत, गानाबजाना इत्यादिमा अल्मलिई हाल्थें। तर पनि दशैंतिहार, बाबुआमाको मुख हेर्ने दिनमा भने म उहाँहरूको अनुपस्थितिमा निकै एक्लो अनुभव गर्थें।’ (क्रान्तिको आँधीबेहरीमा पिताजीको खोजी)

एउटा निर्बोध बालकलाई आमाबाबुले दिने मायाममताको तुलना अरू कसैसँग पनि हुन सक्दैन। त्यस रिक्तताको अनुभव चार-पाँच वर्षे बालक सुरेशराजले गर्नुपर्‍यो। जनक्रान्तिको उत्ताल तरङ्गमा होमिन पारिवारिक जीवनलाई तिलाञ्जली दिई सक्रिय रहेका कैयौं नेता-कार्यकर्ताका सन्ततिले यस्तै अनुभव र अनुभूति साँचेका होलान्, जसलाई सन्तानभन्दा बढी देशको चिन्ताले बेचैन बनाइरहेको थियो। सुन्दरराज/सुशीला चालिसे पनि भोलिका देशकै सन्ततिकै लागि प्रजातन्त्रको बिहानी झुल्काई छोड्ने साझा अठोटका साझेदार बनेर ‘पर’ पुगेका थिए।

नेपालमा राजनीतिक दलहरू स्थापना गर्न सम्भव थिएन। गोप्य रूपमा खुलेको नेपाल प्रजा परिषद् प्रतिबन्धित भइसकेको थियो। अन्य राजनीतिक संस्थाहरू थिएनन्। प्रवासमा रहेका सचेत नेपालीहरू त्यतै राजनीतिक दल स्थापना गरी नेपालको जहानियाँतन्त्रका विरुद्धमा संगठित अभियान सञ्चालन गर्न चाहन्थे।

यसै क्रममा २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस र २००५ सालमा नेपाल प्रजातन्त्र कांग्रेसको स्थापना भयो। सुशीला चालिसेले नेपाल प्रजातन्त्र कांग्रेसकी विश्वासिली कार्यकर्ता बनेर पार्टीको निर्देशन बमोजिम काम गर्न थालिन्। त्यसबेला पार्टीको नेतृत्व र कार्यकर्ताका बिच सम्पर्क सेतुको जिम्मेवारी बहन गरेको कुरा सुशीलाले बताएकी छिन्, ‘तर वास्तविक अर्थमा मेरो काम नेता र कार्यकर्ताबिचको सम्पर्क माध्यमको थियो। सङ्क्षेपमा भन्ने हो भने मेरो काम राजनीतिक कार्यकर्ताहरूको हेरविचार गर्नु थियो। यसै सिलसिलामा पार्टीबाट प्राप्त हुने केही आर्थिक सहयोग कार्यकर्तासम्म पुर्‍याउने माध्यम म थिएँ।’ (सुशीलादेवी चालिसे स्मृतिग्रन्थ)

नेपाल प्रजातन्त्र कांग्रेसको स्थापनापछि सुन्दरराज चालिसे भारतका नेपाली बाहुल्य अनेक क्षेत्रहरूमा पुगी ती ठाउँहरूमा रहेका महत्त्वपूर्ण व्यक्ति तथा संघसंस्थाहरूसँग सम्पर्क गरेर पार्टी संगठन विस्तारको काममा लागेका थिए। सँगसँगै सुशीला पार्टी कार्यकर्ताहरूका बिचमा पुगी सहयोग र समन्वयको काममा जुटेकी थिइन्। यसक्रममा सुशीलाले निकैपटक काठमाडाै–कलकत्ता ओहोरदोहोर गरिन्।

भारतमा नेपाल प्रजातन्त्र कांग्रेसका राजनीतिक गतिविधिमा सक्रिय रहेकी सुशीलालाई पार्टीका नेता सुवर्णशमशेरले २००६ सालमा सैनिक संगठनको जिम्मेवारीका साथ काठमाडौं पठाए। त्यस कार्यका लागि जिम्मेवारी सुम्पिएका अर्का व्यक्ति बद्रीविक्रम थापा थिए। सैनिक संगठनको जिम्मेवारी बडो खतरापूर्ण पनि थियो।

बाहिरबाट पठाइएका हतियारहरू उपत्यकामा रहेका पार्टीका बफादार सैनिक इन्चार्जहरूसम्म पुर्‍याउनुपर्थ्याे, ‘हिन्दुस्तानबाट गोप्य रूपमा आउने हातहतियार ज्ञानेश्वरस्थित कृष्णदीपकुमारी शाह (सुवर्ण शमशेरकी बहिनी) को घरमा लुकाएर राखिन्थ्यो र हातहतियारयुक्त बाकस ज्यानको बाजी लगाएर इन्चार्जहरू भएको ठाउँमा पैदल सप्लाई गरिन्थ्यो। यसको सम्पूर्ण व्यवस्था हामीहरू गर्थ्याै।’ (स्मृतिग्रन्थः सुशीला चालिसेसँग लेखक मीरा बस्नेतले गर्नुभएको कुराकानीमा आधारित)

काठमाडौंमा सुशीला चालिसे अन्य राजनीतिक मित्रहरूका साथ संगठन विस्तार र क्रान्तिको तयारीमा भूमिगत रूपमा सक्रिय भइरहेका बेला उता कलकत्तामा नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसका बिच एकता गर्ने भन्ने निर्णयमा दुवै पार्टीका शीर्ष नेताहरू पुगे। दुवै पार्टीलाई एकीकरण गरेपछि निर्माण हुने बृहत् कार्यकर्ता पंक्तिको उपस्थितिले क्रान्ति सम्पन्न गर्नलाई सुनिश्चितता प्राप्त हुने निश्चित थियो।

आमा सुशीलाले आफू पक्राउ पर्नसक्ने निश्चितजस्तै भएपछि घर (माइती) मा आई गरेको कुराकानीको प्रसङ्ग प्रा. सुरेशराज चालिसेले स्मरण गर्छन्, ‘राति मामाघरमा राणाका आठपहरिया र पुलिसहरूले फेरि अकस्मात् छापा मारे। खानतलासी लिए र आमालाई पनि गिरफ्तार गरेर लगे। आमाको शंका ठिक निस्क्यो। आमाले पहिले नै ‘मलाई लगेमा नअत्तालिनू’ भनेर सम्झाएको हुँदा दुःख लागे पनि डर लागेन।’

नेपाल प्रजातन्त्र कांग्रेसले जहानियाँ शासक विरुद्ध हिंसात्मक कारबाही अघि बढाउने विचारका साथ सुन्दरराज/सुशीला चालिसे तथा अन्य कैयौं नेता कार्यकर्तालाई परिचालन गर्न थालिसकेको थियो। त्यस क्रममा कलकत्ताबाट २००६ साल कार्तिकमा जिबी याकथुम्बा, सिबी बान्तवालाई काठमाडौं पठाई उनीहरूका माध्यमबाट केही सरकारी सैनिक जवानहरूलाई विश्वासमा लिई प्रारम्भिक तयारी गर्न थालिएको थियो। लगत्तै सुन्दरराज एवम् डिएम सिंह बस्नेत आदिलाई पठाइयो। उनीहरूले भक्तपुर, पाटन आदि ठाउँमा संगठन निर्माण गर्न थाले।

त्यसबेला सुन्दरराजको सक्रियतामा पाटनका किसानहरूले सरकारी कुत विरोधी जुलुस प्रदर्शन पनि गरेका थिए। तर सुन्दरराजको मूल उद्देश्य र जिम्मेवारी सैनिक संगठन र राजा त्रिभुवनसँग सम्पर्क स्थापित गर्नु थियो। त्यस कार्यमा सुशीला चालिसे र उनका भाइले मद्दत पुर्‍याएका थिए। इतिहासकार भुवनलाल प्रधानले लेखेका छन्, ‘त्यसपटक काठमाडौंमा रहँदा सुन्दरराज चालिसेका भूमिगत क्रियाकलापमध्ये दुइटा चाँहि विशेष रूपले उल्लेख्य छन्-श्री ५ त्रिभुवनसँग सम्पर्क र सैनिकहरूको संगठन। यी दुवै काममा चालिसेलाई उनकी श्रीमती सुशीला चालिसे र तिनका भाइ पुरुषोत्तम प्याकुर्‍यालले निकै सघाए।’ (भुवनलाल प्रधान, २००७ को जनक्रान्ति)

पतिका साथ सुशीलाले पार्टीद्वारा तय गरिएको योजनालाई अघि बढाउन ज्यान हत्केलामा राखेर काम गरेकी थिइन्। काठमाडौंमा सैनिक विद्रोह गराउने र राजासँग सम्पर्क गरी पार्टीका गतिविधिहरूबारे अवगत गराई उनलाई काठमाडौंबाट पाल्पा भगाउने योजना नेपाल प्रजातन्त्र कांग्रेसले बनाएको थियो।

यसैबिचमा नेपाली कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसका बिच एकीकरण भइसकेको थियो। पार्टी एकीकरणपछि कलकत्ताबाट गणेशमान सिंह र सुन्दरराज चालिसेलाई सैन्य विद्रोहको योजनालाई मूर्त रूप दिन काठमाडौं पठाइयो। यसनिम्ति सुशीलाले राजाका प्रिय पात्र डिट्ठा कृष्णलाल चित्रकारको सहयोग लिएकी थिइन्।

कलकत्ताबाट सुवर्णशमशेरले पठाएका चिठी कृष्णलालमार्फत् त्रिभुवनका हातमा पुर्‍याउन सुशीला सफल भइन्। पार्टीद्वारा क्रान्ति सञ्चालनका लागि राजासमक्ष आर्थिक सहयोगको अपेक्षा पनि राखिएको थियो। प्रधानले लेखेका थिए, ‘सुशीला र पुरुषोत्तमले नारायणहिटी राजदरबारका तत्कालीन डिट्ठा (पछि काजी) कृष्णलाल चित्रकारसँग सम्पर्क राखी चालिसेको एउटा गोप्य पत्र श्री ५ त्रिभुवनमा चढाउन भनेर उनलाई दिए। कृष्णलालले पनि मौका पारी उक्त पत्र सुटुक्क श्री ५ त्रिभुवन समक्ष पुर्‍याए।’

नेपाली कांग्रेसले २००७ साल असोजमा भएको बैरगनियाँ सम्मेलनले जनक्रान्तिको घोषणा गर्‍यो। सुन्दरराज चालिसे जोगिँदै काठमाडौं-कलकत्ता गरिरहेका थिए। यता सुशीला कार्यकर्ताहरूका साथ हातहतियारको व्यवस्थापनमा लागे। त्यस वर्षको इन्द्रजात्राका दिन असोज ८ गते राणा शासकका शीर्ष खलक उपस्थित भएका ठाउँमा विस्फोट गराउने योजना थियो। तर गुप्तचरहरूद्वारा सो योजनासँग सम्बन्धित सम्पूर्ण व्यक्तिहरूलाई धमाधम पक्राउ गरियो। सुशीलालाई पनि पक्राउ गरियो। त्यस क्रममा असोज ८ गतेको अघिल्लो रात सुन्दरराज लाखेचौरबाट पक्राउ परिन्। लेखक पुरुषोत्तम बस्नेतले पनि सैनिक विद्रोह गराउने तयारी गरिरहेकै बेला सुशीलाको गिरफ्तारी इन्द्र जात्राको अघिल्लो रात भएको उल्लेख गरेका छन्।

आमा सुशीलाले आफू पक्राउ पर्नसक्ने निश्चितजस्तै भएपछि घर (माइती) मा आई गरेको कुराकानीको प्रसङ्ग प्रा. सुरेशराज चालिसेले स्मरण गरेका छन्, ‘राति मामाघरमा राणाका आठपहरिया र पुलिसहरूले फेरि अकस्मात् छापा मारे। खानतलासी लिए र आमालाई पनि गिरफ्तार गरेर लगे। आमाको शंका ठिक निस्क्यो। आमाले पहिले नै ‘मलाई लगेमा नअत्तालिनू’ भनेर सम्झाएको हुँदा दुःख लागे पनि डर लागेन।’ (क्रान्तिको आँधीबेहरीमा पिताजीको खोजी)

लेखक पुरुषोत्तम बस्नेतका अनुसार पक्राउपछि सुशीला चालिसेसहितलाई यातनापूर्वक जेल सजाय दिइएको थियो। पक्राउ पर्नेहरू सबैलाई यातनापूर्ण ढंगमा सिंहदरबारस्थित सैनिक गारतमा राखियो। पक्राउ पर्नेहरू सबैलाई सिंहदरबारको सैनिक गारतमा अत्यन्त कडाइका साथ राखिएको थियो। उनीहरूलाई ज्यादै निर्मम तवरले यातना दिइयो। सुन्दरराज चालिसे, उनकी धर्मपत्नी सुशीला चालिसे, तोरण शमशेर, दिलमानसिंह थापा र कुलमान लामालाई अझ असहनीय यातना दिइयो।’ (नेपाली कांग्रेसको इतिहासको प्रारूप)

इतिहासअनुसार त्यसै धरपकडपछि गणेशमान सिंह, सुन्दरराज, तोरणशमशेर र दिलमानसिंह थापालाई मृत्युदण्ड दिने निर्णय मोहनशमशेरले गरेका थिए।

सम्बद्ध सबै नेता कार्यकर्ता गिरफ्तार गरिएपछि सैनिक विद्रोहको लक्ष्य पूरा हुन सकेन। यदि त्यो योजना सफल भएको थियो भने नेपालको राजनीतिक इतिहासको स्वरूप अर्कै हुने थियो। तर नियति अपेक्षानुसार प्रकट हुँदैन।

जनक्रान्ति अर्कै गति र स्वरूपमा अघि बढ्यो। सुशीलाले आफ्नो बन्दी जीवन सम्झँदै भन्छिन्, ‘सिंहदरबारमा मलाई सैनिकहरूले घेरेर राखेका थिए। त्यहाँ मलाई पाँच महिनासम्म राखियो। जनाना जेलमा चाँहि डेढ महिनाजति बस्नुपर्‍यो। जनाना जेलमा सुरुमा राजनीतिक महिला बन्दीहरू थिएनन्, म मात्र थिएँ। मलाई त्यहाँ लगिएको १५–१६ दिनपछि एयरपोर्ट काण्ड घट्यो र त्यस काण्डमा सम्मिलित केही महिलालाई पक्राउ गरी त्यहीं राखियो।’ (सुशीलादेवी चालिसे स्मृतिग्रन्थ)

आमा सुशीला चालिसेको गिरफ्तारीका सम्बन्धमा प्रा. सुरेशराज चालिसे भन्छन्, ‘आमा राणाकालमा राजनीतिक मुद्दा लगाएर थुनिएमा राखिएकी प्रथम महिला राजबन्दी हुनुहुन्छ। उहाँलाई केही महिनापछि (२००७ मंसिर २९ गते) मात्र महिला सेन्ट्रल जेलमा लगिएको थियो।’ (क्रान्तिको आँधीबेहरीमा पिताजीको खोजी) उनीहरू जेलमा यातना भोगिरहेका बेला देशमा जनक्रान्ति आरम्भ एवम् विस्तारित भयो।

नेपाली कांग्रेसले देशव्यापी रूपमा राणा सैन्य विरुद्ध विजय प्राप्त गर्दै गयो। सुशीलालाई जनक्रान्ति टुङ्गिन केही समय बाँकी छँदा मात्र रिहा गरियो। प्रा. सुरेशराज चालिसेले सम्झेका छन्, ‘आमालाई २००७ साल पुस २७ गते दिउँसो जेलबाट छोडियो। उहाँका साथै अरू केही राजबन्दीहरू पनि छुटे।’ सुन्दरराजको रिहाइ भने २००७ साल फागुन २ गते मात्र भयो। गणेशमान सिंह पनि सोही दिन छुटेका थिए।

सुशीला जेलमुक्त हुँदा जनक्रान्ति झन्डै उत्कर्षमा पुगेको थियो। २००७ साल फागुन ७ गते प्रजातन्त्रको घोषणा भयो। सुन्दरराज/सुशीला चालिसेहरू र अन्य असङ्ख्य क्रान्तिवीरहरूको सपना खेर गएन। प्रजातान्त्रिक आन्दोलनको प्रारम्भतिरै राजकाज त्यागी भारत गएका राजा त्रिभुवन फागुन ४ गते स्वदेश फर्कंदा स्वागत गर्न गएको संस्मरण गर्दै सुशीला भन्छिन्, ‘क्रान्ति सफल भयो। म जेलबाट छुटें। राजा त्रिभुवन दिल्लीबाट काठमाडौं आउँदा राजाको स्वागत गर्न समिति बनाइएको थियो। म पनि समितिमा थिएँ। विमानस्थलमा जहाजबाट ओर्लनेबित्तिकै पहिलोपल्ट मैले नै राजाको गलामा स्वागतको माला लगाइदिएकी थिएँ।’ (सुशीलादेवी चालिसे स्मृतिग्रन्थ)

२००७ सालको जनक्रान्तिले नेपाली जनतालाई रैतीबाट नागरिक बनायो। जहानियाँतन्त्रीय दासताबाट मुक्त गरायो। नेपाली हुनुमा गर्व गर्न सकिने स्वाभिमानी भावनाको जन्म गरायो।

अभिव्यक्ति स्वतन्त्रता एवम् वैयक्तिक हकअधिकारप्रति सजग रहन सिकायो। राजनीतिक क्षेत्रमा प्रजातन्त्र र यस अन्तर्गतका अन्यान्य नागरिक हकअधिकारहरूका कैयौं आयामहरूको थालनी गरायो। यी सबै विषयहरू मूलभूत रूपले आमजनतासँगै जोडिएर आउने हुँदा जनतालाई वास्तविक अर्थमा स्वाभिमानी भएर बाँच्ने अवसर दिलाउनका लागि गरिएको सङ्घर्ष वा क्रान्ति नै २००७ सालको जनक्रान्ति थियो। त्यसकै निम्ति सुशीला चालिसेले आफ्नो युवावयका दिनहरू, पारिवारिक सुख र सन्तोषका क्षण एवम् व्यक्तिगत आकाङ्क्षा र चाहनाहरूलाई विस्मृतिमा किनारा लगाएर आफूलाई राजनीतिको तातो भुंग्रोमा समर्पित गरिन्। उनी आफू साहस र त्यागको उदाहरण बनिन्।

 नेपालको राजनीतिक इतिहासमा उनको त्यो समर्पण अमरत्वको निसान बनेर रहेको छ। इतिहासमा उनीजस्ता पात्रका योगदानको गाथाले भावी पिँढीलाई बाटो देखाइरहने छ, जसले त्यागपूर्ण, निष्ठापूर्ण र स्वार्थरहित ढंगमा सङ्घर्षको बाटो रोजे र जनतालाई दासताबाट स्वतन्त्रता दिलाए। यस्ता वीराङ्गनामध्यकी एक थिइन् सुशीला चालिसे।  

‘प्रजातन्त्रको घोषणापछि राजा त्रिभुवनसँग भेट हुँदा उनले सुशीला चालिसेलाई मन्त्री बनाउँला भनेका थिए तर सुशीलाले त्यो अस्वीकार गर्नुभएको थियो।’ (सुशीला देवी चालिसे स्मृतिग्रन्थ)

जनक्रान्तिमा अरू कतिपय महिला नेतृको पनि योगदान रह्यो। तीमध्ये सुशीलाको त्यागपूर्ण सक्रियता र सङ्घर्षशील व्यक्तित्वले बेग्लै उचाइ प्राप्त गर्‍यो। २००७ सालपछि नेपाली कांग्रेसका हरेक कार्यक्रम एवम् गतिविधिमा सुशीला सधैं सक्रिय रहिन्।

नेपालको प्रजातान्त्रिक आन्दोलनलाई अघि बढाउने साहस र समर्पणकी पर्याय सुशीला चालिसेको व्यक्तित्वबारे दयाराम भक्त माथेमाले सम्झेका छन्, ‘सुशीलादेवी चालिसेमा अलिकति पनि लोभ थिएन। राजा त्रिभुवनसँग उहाँको निकट सम्पर्क थियो, तापनि प्रजातन्त्र आएपछि उहाँले राजासँग केही माग्नुभएन। अरूसँग पनि माग्नुभएन।

नेपालमा प्रजातन्त्र आओस् भन्ने चाहना उहाँको थियो। त्यो चाहना पूरा भएपछि उहाँले अरू केही पनि चाहनुभएन। उहाँको योगदानको तुलना अरू कसैसित हुन सक्दैन।’ (सुशीलादेवी चालिसे स्मृतिग्रन्थ)

प्रजातन्त्रको स्थायित्व र संस्थागत विकासका लागि २००७ सालपछि पनि सुशीलाले आफूलाई क्रियाशील राखिरहिन्। २०१४ सालको सत्याग्रह आन्दोलनलाई सफल बनाउन उनी सक्रिय थिइन्।

२०१७ सालमा भएको प्रजातन्त्र विरोधी शाही कदमले चालिसेलाई चिन्तित तुल्याउनु स्वाभाविक थियो। २०३६ सालको जनमत सङ्ग्रहताका बहुदलको पक्षमा जनमत निर्माणमा उनी सक्रिय रहनु स्वाभाविकै थियो भने २०४२ सालको सत्याग्रहताका पनि उनले प्रत्यक्ष/परोक्ष सहयोग पुर्‍याइन् र २०४६ सालको जनआन्दोलनलाई सफल बनाउन उनले सक्दो सहयोग गरिन्।

नेपाली कांग्रेसद्वारा आह्वान र नेतृत्वकृत राजनीतिक घटनाक्रमहरूमा उनको उपस्थिति अरूका लागि सधैं प्रेरणादायी रहँदै आयो। यद्यपि सानै योगदानबाट पनि ‘ठुलो फल’ प्राप्त गर्न चाहनेहरूको भिडमा उनले आफ्नो ‘स्वर’ लाई ठुलो पारेर नेतृत्व तहका व्यक्तिहरूलाई आफूप्रति आकर्षित गर्न चाहिनन्। तसर्थ नेपाली कांग्रेसले उनलाई सम्झिनुपर्ने आवश्यकता देखेन।

उनको देहावसान २०५५ कार्तिक ७ गते भयो। नेपाली कांग्रेसकी संस्थापनाकालीन सक्रिय एवम् साहसिली नेतृ सुशीला चालिसेले आफ्नो साहस र प्रजातन्त्रप्रतिको अटल आस्थाका कारण नेतृत्व तहको विश्वास जितिन्। फलस्वरूप २००७ सालको क्रान्तिको सफलताका लागि सर्वाधिक जोखिमयुक्त चुनौतीलाई पनि स्विकारिन्।

जनक्रान्तिमा होमिएका अरू असङ्ख्य नेता कार्यकर्ताहरूका माझ सुशीला चालिसेद्वारा निर्मित समर्पण र साहसको इतिहास प्रजातन्त्रवादी शीर्ष नेताहरूकै समतुल्य रहेको पाइन्छ। त्यागमय, निष्ठामय एवम् संस्कारयुक्त जीवनकै कारण उनी प्रजातन्त्रकी प्रेरणादायी सेनानीका रूपमा अमर रहेकी छिन्।

प्रकाशित: २० आश्विन २०८० ०२:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App