२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

मुख्यमन्त्री कार्कीले शनिवार विश्वासको मत लिने

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २० गते विश्वासको मत लिने तयारी गरेका छन्।  

मुख्यमन्त्री नियुक्त भएपछि ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार आसोज २० गते मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने तयारी गरेका हुन्।  

मुख्यमन्त्री कार्कीलाई विश्वासको मत माग्दै नेकपा एमाले संसदीय दलले कोशी प्रदेश सभामा प्रतिनिधित्व गर्ने सवै दलहरूलाई बुधबार नै पत्र पठाएको छ। तर, बुधबारको प्रदेश सभा बैठकमा सम्बोधन गर्दै प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूले प्रदेशमा सबै दलबीच सहकार्य र सहमति आवश्यक रहेको बताए पनि उनिहरूले अहिलेकै सरकारलाई विश्वासको मत दिन नसक्ने स्पष्ट पारिसकेका छन् ।  

उनिहरूले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठन गर्दा सबै दलहरूबीच सहमति र सहकार्य गर्नुपर्ने बताएका छन्। नेपाली काँग्रेस संसदीय दलको बैठकले नै मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ।  

यस्तै नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका नेताहरूले पनि मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने बताउँदै आएका छन्।  

यता राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलले राप्रपाले मत दिँदा बहुमत पुग्ने अवस्थामा मात्रै विश्वासको मत लिने नभए मतदान प्रक्रियामा सहभागि नहुने बताएका छन्।  

उनले भने ‘हामीले मत दिँदा बहुमत पुग्ने अवस्था भएमात्रै मत दिन्छौंं नभए दिँदैनौ।’ विश्वासको मत लिने प्रयोजनका लागि शनिवार प्रदेस सभाको बैठक राखिएको छ। कोशी प्रदेशमा नेकपा एमालेका कार्यबाहक सभामुखसहित ४० जना सांसद छन्।  

नेपाली काँग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, रापपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसद छन्। मुख्यमन्त्री कार्कीलाई एमाले र राप्रपाका सांसदले विश्वासको मत दिने सम्भावना भएपनि बहुमत पुग्ने अवस्था छैन।  

दुई वटा पार्टी मिलाउँदा कार्यबाहक सभामुखसहित जम्मा ४६ मात्रै पुग्छ। सभामुखले विश्वासको मत दिन नपाउने यसअघि नै सर्वोच्च अदालतले फैसला गरिसकेको छ। यस आधारमा एमाले र राप्रपाको गरी जम्मा ४५ मतमात्रै पुग्ने देखिन्छ।  

सरकार अल्पमतमा रहेको र अन्यदलले साथ दिने अवस्था नरहेका कारण कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाउने अवस्था देखिँदैन।  

प्रकाशित: १८ आश्विन २०८० ०६:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App