२ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

कोशीमा काँग्रेस संसदीय दलका नेता फेर्न कसरत सुरू

महिनै पिच्छे सरकार परिवर्तन भइरहने क्रमले राजनीतिक अस्थिरता निम्त्याइरहेको कोशी प्रदेशमा काँग्रेस संसदील दलको नेता परिवर्तनको प्रयास सुरू भएको छ। सांसदहरूले  संसदीय दलका नेता उद्धव थापालाई  कोशी प्रदेशको तरल राजनीतिको निकास दिन आग्रह  गरेका छन्।

प्रदेशसभा सदस्य केदार कार्कीले दुई– दुई पटक संविधान विपरित मुख्यमन्त्री नियुक्ती र विश्वासको मत लिएको ठहर गर्दै  सर्बोच्च अदालतले मुख्यमन्त्री पदबाट बर्खास्त गरेका कारण नैतिकताको आधामा संसदीय दलका नेता थापाले निकास दिनुपर्ने बताए। ‘नेपाली काँग्रेस कोशी प्रदेशको सभापतिसमेत रहेका कारण नैतिकताका आधारमा संसदीय दलका नेता थापाले संसदीय दलको नेताको पदबाट हटेर  निकास दिनु हुन्छ भन्ने हाम्रो विश्वास छ’ कार्कीले भने ‘उहाँले निकास दिनुभएन भने हामी संसदीय दलको बैठकमा कुरा उठाउँछौं।’

कार्कीले कोशी प्रदेश सरकार गठनका क्रममा देखिएका समस्याहरूका विषयमा छलफल र समिक्षा गर्न संसदीय दलको बैठक राख्न आफूहरूले थापालाई पटक–पटक आग्रह गरेको भए पनि थापाले संसदीय दलको बैठकसमेत नराखेको गुनासो गरे। उनले तीज पछि नै बैठक राख्छु भने पनि अझै सम्म बैठक नराखेको बताए। यता नेपाली कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीले संसदीय दलको बैठकमा विगतको राजनीतिक घटनाक्रमबारे  समिक्षा हुने बताए।

कार्कीले कोशी प्रदेशमा काँग्रेसकै नेतृत्वमा नयाँ सरकार गठन हुने भए पनि अहिलेको गठबन्धनले मात्रै सरकार दीगो नहुने भएकाले राप्रपाको पनि समर्थन लिनु पर्ने आबश्यकता  रहेको बताए। जसका कारण  मुख्यमन्त्री बन्ने पात्र को भन्ने विषयमा पार्टीको संसदीय दलको बैठकमा छलफल हुने कार्कीको भनाई छ। ‘दुई–दुई पटक सरकार गठन गर्दा पनि सरकार दीगो नभएका कारण संसदीय दलको बैठकमा  सरकारको नेतृत्व गर्ने पात्रका विषयमा पनि छलफल हुन्छ’ कार्कीले भने। कार्कीले  राजनीतिक अवस्था अनुसार मुख्यमन्त्रीमा  दाबी गर्ने, नगर्ने विषय निर्धारण हुने बताए। कार्कीले भने ‘मुख्य मन्त्रीमा मेरो दाबी छ पनि छैन पनि। अब, विकसित हुने राजनीतिक अवस्थामा भर पर्छ।’  उपनेता कार्कीले संसदीय दलको बैठकमा नै सबै विषयमा छलफल हुने र उचित निर्णय गरिने स्पष्ट पारे। उनले संसदीय दलको बैठक असोज १२ गते राख्ने तयारी भइरहेको जानकारी दिए।

संसदीय दलका नेता  थापा कांग्रेसभित्र कृष्णप्रसाद सिटौला निकट नेता हुन्। थापा संस्थापन पक्षको सहयोगमा कोशी प्रदेशको संसदीय दलका नेता बनेका थिए। उपनेता हिमाल कार्की संस्थापन पक्षका नेता हुन्। यस्तै केदार कार्की डाक्टर शेखर कोइरालाको समूहका हुन्। गत पुसमा भएको  संसदीय दलको नेताको निर्वाचनमा थापा १८ मतसहित विजयी हुँदा कार्कीले ९ मत ल्याएका थिए। सभामुखको समेत समर्थनमा मुख्यमनत्री नियुक्त भएको र विश्वासको मत लिंदा सभामुखकोसमेत मत लिएका कारण सर्बोच्चले दुई पटक थापालाई मुख्यमन्त्रीबाट हटाएको थियो।

काँग्रेसको नेतृत्वमा दुई पटक सरकार बन्दा कृष्णप्रसाद सिटौला र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, उद्धव थापा र राप्रपा नेता भक्ति सिटौलाबीचको विवादका कारण राप्रपाले समर्थन नगरेको नेताहरुको बुझाइ छ। थापाको सट्टा अर्को व्यक्तिलाई मुख्यमन्त्रीमा अघि सारे राप्रपाले समर्थन गर्ने उनीहरुको दाबी छ। कांग्रेसमा थापाको विकल्प खोज्नु पर्नेमा सांसदहरू एक मत देखिए पनि पात्रका विषयमा भने सबैका आ–आफ्नै दाबी रहेका छन्।

संस्थापन पक्ष र संस्थापन इत्तर पक्षले सिटौला पक्षका संसदीय दलका नेता थापाको विकल्प खोजेको खण्डमा संसदीय दलमा थापा अल्पमतमा पर्ने स्थिति देखिन्छ। कोशी प्रदेशमा हाल संविधानको धारा १६८ को उपधारा ३ अनुसारको सरकार छ। अहिलेकै राजनीतिक समिकरणले यो सरकारले पनि विश्वासको मत पाउने अवस्था देखिंदैन। यहि कारण अब, धारा १६८ को उपधारा ५ अनुसार प्रदेशसभामा बहुमत पु¥याउने प्रदेशसभा सदस्यको नेतृत्वमा सरकार गठन हुने छ। 

प्रकाशित: ५ आश्विन २०८० १४:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App